शिव विक/मध्यान्ह
काठमाडौं : महान्यायाधिवक्ता डा. दीनमणि पोखरेल विवादमा तानिएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी नपरेको, अनुसन्धान नभएको र अभियोग नलागेको भनेर पत्र दिएपछि महान्यायाधिवक्ता पोखरेलको भूमिकालाई लिएर कतिपयले प्रश्न उठाएका हुन् ।
मंगलबार लामिछानेलाई महान्यायाधीक्ता कार्यालयले उनीविरुद्ध कास्की, चितवन र रुपन्देही कहीँ पनि सहकारीको रकम हिनामिना गरेको आरोप नलागको भन्दै पत्र दिएको थियो । उक्त पत्र सार्वजनिक भएपछि महान्यायाधिवक्ता कार्यालय दोषीलाई ढाकछोप गर्न लागिपरेको आरोप लागेको छ ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार यही वैशाख १० गते गृहमन्त्री लामिछानेले आफूविरुद्ध सहकारीको रकम हिनामिनाबारे जानकारी माग गरेका थिए ।
त्यसको जवाफमा महान्यायाधिवक्ता कार्यालयले भनेको छ, ‘निवेदन मागका सन्दर्भमा रुपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा यहाँको संलग्नता रहे/नरहेको र कुनै उजुरी परेको, अनुसन्धान वा अभियोग पत्र दायर भएको वा नभएको सम्बन्धमा जिल्ला सरकारी वकील कार्यालय रुपन्देही, चितवन र कास्कीमा बुझी पठाउँदा यहाँउपर हालसम्म कुनै उजुरी÷जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत भएको नदेखिएको जवाफ प्राप्त हुन आएकोले सोही व्यहोरा आदेशानुसार अनुरोध गरिन्छ ।’
तर यही वैशाख ३ गते रुपन्देहीको सुप्रिम सहकारीको रकम कानुन विपरीत अपचलन गरेको भन्दै जिल्ला सरकार वकिल कार्यालयले लामिछानेको समेत नाम राखेर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
गृहमन्त्री लामिछानेको व्यक्तिगत खाता र उनी शेयर सदस्य रहेको गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोर के टिभी) मा अवैध तरिकाले रकम ट्रान्सफर गरिएको उल्लेख छ । जिवी राईसहित अरु २८ जनालाई प्रतिवादी बनाउन दबाबमा लामिछानेलाई प्रतिवादी नबनाई उनले रकम अवैध तरिकाले लिएको पनि उल्लेख गरिएको छ ।
कास्कीमा पनि लामिछानेविरुद्ध सहकारी ठगी गरेको आरोपमा किटानी जाहेरी परेको छ । उक्त तथ्यलाई महान्यायाधिवक्ता कार्यालयले लुकाउँदै उनीमाथि कुनै आरोप नलागेको पत्र दिएपछि महान्यायाधिवक्ता पोखरेल विवादमा तानिएका हुन् । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई दिएको पत्र र सार्वजनिक तथ्यले खण्डित गरेपछि महान्यायाधिवक्ता पोखरेलको भूमिकालाई लिएर प्रश्न उठेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies