राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवर्द्धनका लागि बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा विषेश कार्यक्रम ल्याउने भएको छ ।
बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले लघु तथा घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदेशभित्रै उत्पादन र बजारिकरणमा संलग्न गराउने बताए । बिहीबार हेटौंडामा पहिलो पटक सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकार सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले अधिकांश लघु तथा घरेलु उद्यमीहरुलाई उत्पादन प्रवर्द्धन गर्ने तरिका थाहा नहुँदा बजारमा सजिलै बिक्री हुने र अत्यधिक माग भएका वस्तुसमेत थन्किएको बताए । उनले तालिम पश्चात उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणमा सहज हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सभापति लक्ष्मी खनालले ठुला उद्योगीहरुको तुलनामा साना उद्योगहरुले डिजिटल प्रणालीमा जान, उत्पादनलाई बजारिकरणमा लैजान समस्या भोगिरहेको अवस्थालाई हेरेर नमूनाका रुपमा पहिलो पटक ई–कमर्श तालिम सञ्चालन गरिएको बताइन् ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशका निर्देशक गोविन्द सिग्देलले आगामी आर्थिक वर्ष साना तथा लघु उद्यमीहरुलाई समेट्ने गरी ई–कमर्श तालिमको निरन्तरता दिने र डिजिटलमा आधारित नयाँ कार्यक्रमहरु ल्याउने गरी योजना बन्ने बताए । उद्यमीहरुले आफ्ना वस्तु तथा सेवाहरुलाई डिजिटल प्लेटफर्ममा समावेश गर्ने, स्वदेश तथा विदेशमा बजारिकरण गर्ने, साइबर सुरक्षालगायतका विषयहरुमा ज्ञान र सीप हाँसिल गर्ने लक्ष्य राखिएको नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष कबिराज खत्रीले बताए ।
तालिममा बागमती प्रदेश अन्तरगत १३ जिल्लाका २८ जिल्ला÷नगर उद्योग वाणिज्य संघ, १३ जिल्लाका घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालाय मातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु गरी १ सय २० जनाको सहभागिता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies