सुर्य प्रसाद भुसाल/मध्यान्ह
रुपन्देही : बुटवल उपमहानगरपालिकाले बुटवल चौराहादेखि चिडियाखोलासम्मको सडक पुनःनिर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
यसअघि सडक डिभिजन कार्यालय बुटवलले सडक निर्माणको काम गर्न नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको थियो । त्यसपछि सडकको काम अगाडि बढ्न सकेको छैन ।
सडकको डिजाइन स्टमेट कस्तो बनाउने ?, कसरी कामलाई निरन्तरता दिने ?, भन्ने विषयमा बुटवल उपमहानगरपालिकाले पहल शुरु गरेको मेयर खेलराज पाण्डेले जानकारी दिए ।
बुटवल बेलहीया सडक सबैभन्दा बढी महत्वपूर्ण व्यवसायीक सडकको रुपमा चिनिएपनि व्यवसायीहरुको चाहना अनुसार सडक बन्न नसकेको गुनासो बढ्न गरेको छ । उक्त गुनासोलाई सम्बोधन गर्न उपमहानगरपालिकाले सरोकारवालालाई बोलाएर सडकको पुनरावलोकन तथा सुधार व्यवस्थित गर्न कार्यदल समेत गठन गरेको मेयर पाण्डेको भनाइ छ ।
उमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बिसुनदास लामासँग यस विषयमा गम्भीर छलफल गरेपछि प्रमुख लामाले सरोकारवाला निकायलाई बोलाएर सडक निर्माणको कामलाई आवश्यक सहजीकरण गर्न मेयर खेलराज पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गर्न प्रस्ताव गरेका थिए । सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान, बुटबल नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्य सचिव हुने गरी नगर प्रमुख पाण्डेयको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलले सडकको केन्द्र बिन्दुदेखि प्रत्येक साइडतर्फ पैदलयात्रीका लागि ३ मिटर चौडाको फुटपाथ निर्माण, साइकल यात्रीका लागि २ मिटरको साइकल लेन निर्माण, प्रति २०० मिटर लम्बाई तर्फ प्रति ७० मिटर लम्बाईमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाईमा पार्क तथा बजार सौन्दर्यीकरण गर्नको लागि पहल गर्ने निर्णय गरेको बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
खनालका अनुसार यस्तै प्रत्येक पार्क र साइड सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान, सडक फर्निसिङ, ट्राफिक संकेत, टल्किने स्टीकर र सौन्दर्यीकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको खनालले बताए ।
ट्राफिक चोक र गोलपार्क बुटवल बहुमुखी क्याम्पसमा आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने, राजमार्ग चौराह र हस्पिटल लाइनमा ४ मुखे आकाशे पुल निर्माण गर्नको लागि कार्यदलले सहजीकरण गर्ने भएको छ ।
यस्तै दुरसंचारको तार व्यवस्थापन र अनावश्यक पोल हटाउने, सम्भव भएका स्थानहरुमा भूमिगत विद्युत लाइन विस्तार गर्ने, खानेपानीका पाइप लाइन व्यवस्थित गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, संगमपथ, रामन्दिर लाइन, चौराहा र मिलन चोकको महत्वपूर्ण बजार प्रभावित हुन पुगेकोले काम छिटो गर्ने समेत नगरप्रमुख पाडेले बताए ।
बुटवलको बजारलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि विभिन्न मापदण्डका आधारमा सडकको डिजाइन परिवर्तन गराउनको लागि सडक डिभिजन कार्यालय बुटवलले सडक विभागको मापदण्डमा रहेर तथा प्राविधिक विश्लेषण गरी उपमहानगरको सुझाव समेतलाई मध्यनजर गरेर प्रक्रिया अगाडि बढाउने डिभिजन प्रमुख लामाले बताए ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख विसुन दास लामाले २०७३ सालदेखि शुरु भएको बुटवल बेलहिया व्यापारीक सडक मार्गको काम पटक–पटक म्याद थप्दा समेत ठेकेदार कम्पन्नीले लापरबाही गरेको कारण ठेक्का तोड्नु परेको लामाले बताए । समयमा नै काम नगर्ने कञ्चनजंगा–बिरुवा जेभी र बिरुवा कन्ट्रक्सन कम्पन्नी प्रा.लि.बीच बुटवल बेलहीया व्यापारीक मार्ग निर्माणको लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौंता भएको थियो ।
समयमा नै काम नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र कारबाही अगाडि बढाउने ठेक्का सम्झौता तोडिएको सूचना प्रकाशित गरिसकिएकोले अब सहमति लिएर नयाँ प्रकिया अगाडि बढाउने सडक डिभिजन प्रमुख लामाले बताए ।
छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरि अर्यालले बुटवल बजारलाई असर नपर्ने गरी डिजाइन बनाउन आग्रह गरेका थिए भने पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, नेपाल टेलिकमका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, होटल व्यवसायी महासंघका अध्यक्ष लेखनाथ भण्डारीले सडकको काम द्रुत गतिमा अगाडि बढाउने गरी काम गर्न अनुरोध गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies