काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्न लागेको हल्ला चलाएर रातारात आफ्नो पार्टी फुटाइएको बताएका छन् ।
पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले निराधार र कपोकल्पित हल्ला चलाएर आफू देशबाहिर रहेको मौका छोपेर रातारात असंवैधानिक रूपमा पार्टी फुटाइएको बताए ।
उनले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरे । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनले दाबी गरे ।
उनले यो सरकार बनेपछि आफू काँग्रेस, एमालेलगायतका कुनै पनि नेतालाई नभेटेको दाबी गर्दै आफ्नो पार्टीको विरुद्धमा अफवाह फैलाइएको बताए । निर्वाचन आयोगले अवैधानिक तरिकाले नयाँ दल निर्माणको प्रमाणपत्र दिएको भन्दै यसविरूद्ध अदालतमा जाने बताए ।
कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे । उनले सरकार ढाल्ने विषयमा आफूले कांग्रेसका नेताहरूसँग छलफल नगरेको पनि दाबी गरे । उनले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies