मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : चर्चित ब्यापारिक घराना बसन्त चौधरीको नर्भिक इन्टरनेशनल हस्पिटलले सन् २०२२ मा १ अर्ब ८१ करोड ३० लाख सञ्चालन आम्दानी गर्यो । उक्त आम्दानी अघिल्लो वर्ष भन्दा ३३.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष सन् २०२१ मा १ अर्ब ३६ करोड सञ्चालन आम्दानी गरेको थियो ।
यसरी उच्च आम्दानी गरिरहेको नर्भिक हस्पिटललले आय कर तिर्न भने अटेरी गरिरहेको छ । सोमबार मात्र आन्तरिक राजश्व कार्यालय अन्तर्गत ठूला करदाता कार्यालयले नर्भिकले आयकर वक्यौता नतिरेको सार्वजनिक सूचना निकाल्यो । नर्भिकसँगै राजस्व छली गर्ने २५ ठुला कम्पनीलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ ।
पछिल्लो पटक निकालेको सूचनामा गण्डकी विकास बैक लिमिटेडको पनि आयकर बक्यौता बाँकी छ । जबकि अहिले उक्त बैंक अस्तित्वमै छैन । आर्थिक वर्ष २०७६/०७७ मै उक्त बैंक मेघा बैंकमा गाभिएको थियो । मेघामा गाभिनुपूर्व सोही आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म गण्डकीको ब्याज आम्दानी मात्र ३५ करोड भन्दा बढी थियो ।
सुधीर पराजुलीको कम्पनी सुबिसु केबल नेटले पनि लामो समयदेखि मूल्य अभिबृद्धि कर नतिरेको भन्दै नाम सार्वजनिक गरिएको हो । अहिले त सुबिसु नविकरण समेत हुन सकेको छैन । नविकरणका लागि सुबिसुले दूरसञ्चारप्राधिकरणलाई निवेदन दिएपनि अस्वीकार भएको थियो । अहिले उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको सुबिसुले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२२ मा यस कम्पनीले ३ अर्ब ७७ करोड र सन् २०२१ मा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले पनि आयकर र मूल्य अभिबृद्धि करको ठूलो बक्यौता तिर्न बाँकी छ । उक्त कम्पनी वर्षेनि उच्च कारोबार गर्ने मध्ये पर्छ । उदयपुर सिमेन्टले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गर्यो । उद्योगले २०७७/७८ मा एक अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको गर्यो भने हालसम्म उद्योगको सञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको पुगिसकेको छ ।
शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि पनि नाफा कमाउने कम्पनीमा पर्छ । उद्योगले सन् २०२१ मा २ अर्ब ४६ करोड बराबर कुल आम्दानी गरेको छ । उद्योग सन् २०२० मा १ अर्ब ९३ करोड आम्दानी गरेको थियो । उद्योगले सन् २०१९ मा २ अर्ब ३२ करोडको कारोबार गरेको थियो । तर उक्त कम्पनीले पनि लामो समयदेखि मूल्य अभिबृद्धि आयकर तिरेको छैन ।
पछिल्लो समय बचतकर्ताको रकम फिर्ता दिन नसकेर कालो सूचीमा परिसकेको सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरकारलाई आयकर तिर्न बाँकी छ । सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरण अनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति रहेको छ ।
सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले पनि आयकर तिर्न बाँकी छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी १२ करोड २४ लाख, रूपैयाँ आम्दानी गरेको थियो । कर नतिरेर ठूला कर दाताले सार्वजनिक गरेको अर्को सरकारी स्वामित्वको कम्पनी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पछिल्लो आम्दानी पनि ७ करोड २२ लाख रूपैयाँ थियो ।
ठूला करदाता कार्यालयले मूल्य अभिबृद्धि र आयकर नतिरेको भन्दै चर्चित आनन्दराज बतासको कम्पनी बतास ब्रदर्श प्रालि, माउण्ट एभरेष्ट बु्रअरी, जगदिशप्रसाद अग्रवालको स्वामित्वमा रहेको बिशाल गु्रपको सिमेन्ट इन्डस्ट्रिज प्रालि, ज्योती गु्रपको हिमाल आइरन स्टील, इञ्जिनियर जिजयराज भण्डारीको सिई कन्ट्रक्सन, जयन्ती गु्रप अन्तगत दिनेशकमार अग्रवाल र शोभा अग्रवालको लगानीमा रहेको श्री जयन्ती निर्माण सेवा, भारतीय कम्पनी पेन इडिया इन्फ्रा प्रोजेक्ट्स निकै चचर्चित र उच्च आय भएका कम्पनी हुन् ।
यसैगरी टाइगर्स बु्रअरी इण्ड्रस्ट्रिज प्रालि, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि र कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि, महालक्ष्मी वायर एण्ड केवल इन्डस्ट्रिज प्रालि, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिवशिखर एग्रो प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, इष्टर्न एजेन्सीज् प्रालि, ग्रीन हिल सिटी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि. छन् ।
ठूला करदाता कार्यालयका अनुसार प्रक्रियाअनुसार कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको छ । तर कतिपय करदातालाई फोन सम्पर्क गर्दा पनि अटेरी गरेपछि त्यस्ता कम्पनीको नाम नै सार्वजनिक गरिन्छ । कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले भने, ‘यो हाम्रो नियमित प्रक्रिया हो । यसमा पनि अटेरी गरे कानूनअनुसार अघि बढ्छौं ।’
आयकर ऐन २०५८ अनुसार रोजगारी, लगानी र व्यवसायमा खुद् आम्दानीको कर तिर्नुपर्ने प्रावधान छ । ऐनको परिच्छेद ३ को ७ मा उल्लेख भएअनुसार ‘कुनै व्यक्तिको कुनै आय वर्षमा कुन व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको आयमा गणना गर्नुपर्छ ।’
चार्टड एकाउटेन्ट शेषमणि दाहालले ठूला कम्पनीहरूले समयमा कर नतिर्नुमा सरकार आफै जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘नाफा कमाएको बेला कर तिर्न ताकेता गरिएन । समयमा आफै कर तिर्ने कम्पनीहरूको अनुशासन पनि भएन । अहिले अप्ठेरो परेका बेला ताकेता गरेर हुन्छ त ?’ उनी अहिले ठूलो मात्रामा बक्यौता थुप्रिनु अर्थतन्त्रमा मन्दीको असर भएको बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies