तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : रामेछाप बाम्ती भण्डार, ५ मा बुबा रामबहादुर घताने र आमा सुकुमाया घतानेको कोखबाट जन्मिएकी सन्ध्या घताने (सानु) नेपाली गीतसंगीतको क्षेत्रमा स्थापित नाम हो । मोडलिङसँगै नृत्य प्रशिक्षण र ब्युटिसियनमा व्यस्त उनी गायिकासमेत हुन् । लगभग एक दशक अगाडिबाट यो क्षेत्रमा होमिएकी उनी ‘मर्छु म त सानु’ गीतबाट औपचारिकरुपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनले मोडलिङ गरेका ‘मुना पलायो’, ‘लाली ओठैमा’, ‘नाइ भन्छ मायाले’, ‘आँखा जुध्यो फेरि’, ‘मै पनि नाचौं छौं छौं’, ‘हासन हौ मायालु’, ‘फूल रसैको’, ‘तिम्रो आँखामा’, ‘छुटेको माया’, ‘स्यानी’, ‘ज्यान चोखो’लगायतका गीतले चर्चा बटुलेका छन् । उनले ‘माया गर्छु तिमीलाई’ गीतमा मोडलिङसँगै आवाज पनि भरेकी छन् । गीत संगीतमा सानैदेखि रुची रहेको बताउने सानुले हालसम्म करिब ५ दर्जन गीतमा मोडलिङ गरेकी छन् । उनी विद्यार्थी जीवनमा विद्यालयमा हुने विभिन्न क्रियाकलापमा भाग लिएर प्रायः प्रथम र द्वितीय हुने गर्थिन् । नृत्य पनि सिकाउने उनलाई शिक्षकहरु र साथीहरुबाट हौसला र प्रेरणा मिल्ने गरेको मध्यान्ह दैनिकसँगको कुराकानीमा बताइन् ।
नृत्यमा सफल हुँदै गएपछि परिवारले पनि खुसी भएर साथ र सहयोग गरेको उनले बताइन् । विसं २०७२ सालको भूकम्पपश्चात काठमाडौंमा प्रवेश गरेकी उनी अध्ययनसँगै व्यवसाय र औपचारिकरुपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् । सांगीतिक क्षेत्रमा साथ सहयोग कमैको पाएको बताउने उनले एक्लै संघर्ष गरेर आजको दिनसम्म आउन सफल भएको बताइन् । आफूलाई कलाकार र ब्युटिसियन भन्न रुचाउने सानुले विभिन्न प्रकारका नृत्यको प्रशिक्षण दिँदै आएकी छिन् ।
सानुले दोस्रो ओएस नेपाल अवार्ड २०७५, दोस्रो सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड २०१९ कतार, जलजला नेसनल फिल्म एन्ड म्युजिक अवार्ड २०२३, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०८०, दोस्रो विशाल लुम्बिनी म्युजिक अवार्ड २०८०, तेस्रो हिमालय इन्टरनेशनल अवार्ड २०२३ प्राप्त गर्न सफल भएकी छिन् । उनले लिटिल क्युमार नेपाल–२०२३, डान्स आइकन दाङ सिजन २, गोवा सिङगिङ एण्ड डान्सिङ कम्पिटिसनमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
हालः राष्ट्रिय संगीतकर्मी संघकी केन्द्रीय सदस्य, रामेछाप कलाकार समाजकी उपाध्यक्ष, म्युजिक भिडियो कलाकार संघकी सदस्य, नेपाल सांस्कृतिक महासंघकी केन्द्रीय सदस्य, नेपाल सांस्कृतिक कलाकर्मी संघकी उपाध्यक्षसमेत भएर उनले संस्थागतरुपमा पनि आफ्नो छविलाई फराकिलो बनाएकी छिन् । आगामी दिनमा सांगीतिक क्षेत्रसँगै व्यवसाय र नृत्य केन्द्रलाई पनि निरन्तरता दिने योजना रहेको उनले बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies