सत्तारुढ घटक जनता समाजवादी पार्टी, नेपाल विभाजनको अप्रत्यासित निर्णयले राष्ट्रिय राजनीति तरंगित बनेको छ । सरकारका उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी अध्यक्ष अमेरिका भ्रमणमा हुँदा जसपाका सात सांसदले पार्टी विभाजन गरेका छन् । अशोक राईको नेतृत्वमा सात सांसदले पार्टी विभाजन गरी नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा आइतबार दर्ता भएको छ । यो निर्णयसँगै डेढ वर्षभित्रै जसपा दुईपटक विभाजित भएको छ । २०७९ मंसिरको चुनावको सम्मुखमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा विभाजन गरी नेसपा गठन गरेका थिए । त्यो विभाजनमा उपेन्द्रसँगै रहेका अशोक राईले आइतबार नयाँ दल बनाएकाले राष्ट्रिय राजनीति तरंगित बनेको छ । किनकि जसपाको विभाजन सत्ता जोगाउनकै निम्ति रहेको अनुमान गरिएको छ ।
सत्ताघटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारम्बार सार्वजनिक अभिव्यक्ति मार्फत् यो सरकार परिवर्तनको संकेत दिइरहेका थिए । उनको संकेत अनुसार, जसपाको १२ सिट र एकीकृत समाजवादीको १० सिट बाहिरिदा अर्को सरकार बन्थ्यो । यो हिसाब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित सत्तारुढ नेताहरुले नगर्ने कुरै थिएन । त्यसैले संसदको अंक गणित जोगाउन जसपा विभाजन गरिएको छ । विभाजित राई पक्षका सांसदहरुले सत्ता जोगाउन पार्टी विभाजन गर्नुपरेको तथ्य सार्वजनिक रुपमै बताएका छन् । अर्थात् फेरि सत्ताका निम्ति अराजनीतिक गतिविधि सुरु भयो । यस्तै अराजनीतिक निर्णय तीन वर्ष अगाडि देखिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन २०७७ वैशाखमा जसपा विभाजनको प्रयास गरेका थिए ।
ओलीको प्रयास पहिलोपटक असफल भएपनि कालान्तरमा आफ्नै पार्टी नेकपा, जसपा, एमाले, माओवादी क्रमशः विभाजित हुन पुगेको थियो । कांग्रेस मात्रै सिंगल रहेको थियो । त्यो घटनाले संसद् विघटनको निर्णय समेत मुलुकले खेप्नु परेको थियो । अहिलेको हङ पार्लियमेन्टको जग त्यसैबेलाको राजनीतिक निर्णयको निरन्तरता हो । २०७९ को आमचुनावले सत्ताकै निम्ति अराजनीतिक निर्णय लिने ठूला दलहरुको जनमत घटाएको पनि थियो । तर फेरि नयाँ र पुराना सबै मिलेर सत्ताकै निम्ति दल विभाजन गर्ने, प्रदेशहरुमा सभामुखकै हस्ताक्षरमा मुख्यमन्त्रीलाई विश्वासको मत दिनेदेखि एउटै पार्टीभित्र फरक–फरक निर्णय भइरहेको छ । यस्तो अराजनीतिक निर्णयले मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने खतरा बढेको छ । तसर्थ मुख्य नेतृत्वबाट व्यवस्था र संविधान जोगाउन पनि एकपटक पुनर्विचार गर्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies