शिव विक/मध्यान्ह
काठमाडौं : भारतले नेपालको चुच्चे नक्सा अस्वीकार्य रहेको दोहोर्याएको छ । नेपाल सरकारले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतले नेपालको चुच्चे नक्साको विषयमा आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा असन्तुष्टि जनाए । नेपालले एकतर्फी निर्णय गरेको उनको टिप्पणी छ ।
गत बिहीबार मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । लगत्तै भारतले असन्तुष्टि जनाएको हो ।
आइतबार भारतका पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग जिज्ञासा सवालजवाफ गरेका थिए । त्यसक्रममा विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’
नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।
तर, भारतले त्यसबेलै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै नेपालको नक्सा नस्वीकार्ने बताएको थियो । भारतले नेपालले आफ्नो नक्सामा समेटेको भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोख्रेल संविधानको अनुसूचीमा नक्सा परिवर्तन भइसकेकाले त्यसअनुसार नोटको डिजाइन परिवर्तन गर्न लागिएको बताउँछन् । उनका अनुसार नोटको साइज र डिजाइन परिवर्तन गर्नुपर्दा सरकारको स्वीकृति चाहिन्छ । नयाँ नक्सा जारी भएपछि डिजाइन परिवर्तन गर्न लागिएकाले सरकारको स्वीकृति लिइएको हो ।
राष्ट्र बैंकका अनुसार हाल ३३ अर्ब ५० करोड रुपैयाँ बराबर १०० रुपैयाँ दरको नोट चलनचल्तीमा रहेको छ ।
भारतले नेपालको निर्णयप्रति असन्तुष्टि जनाइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहाकार एवं पूर्वगभर्नर चिरञ्जिवी नेपालले नोटमा चुच्चे नक्सा छाप्ने निर्णयको विरोध गरेका छन् । उनले सरकारको निर्णय अनुपयुक्त समयमा आएको बताएका हुन् । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तरााष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको उनले बताएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies