छबि सापकोटा/मध्यान्ह
काठमाडौं : नेपालीको औसत आयु बढेको छ । २०६८ सालको तथ्याङ अनुसार ६६ वर्ष रहेको औसत आयु १० वर्षमा ५ वर्ष बढेको हो । राष्ट्रिय तथ्याङ कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकमा नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको देखाएको हो ।
जनसाङ्ख्यिक सूचकले नेपालमा पुरुषको भन्दा महिलाको औसत आयु बढेको छ । पुरुषको औसत आयु ६८.२ वर्ष हुदाँ महिलाको औसत आयु ७३.८० वर्ष रहेको छ । यसरी हेर्दा नेपालमा पुरुष र महिलाको औसत आयु करिब ५ वर्ष फरक देखिन्छ । जनसाङ्ख्यिक सूचक अनुसार कर्णालीवासी आयु उच्च देखिएको छ । कर्णाली प्रदेशको औसत आयु ७२.५० वर्ष रहेको छ ।
यस्तै मधेश प्रदेशको ७१.८० वर्ष, बाग्मती प्रदेशको ७२.४० वर्ष, गण्डकी प्रदेशको ७२.१० वर्ष, लुम्बिनी प्रदेशको ६९.५० वर्ष र सुदूरपश्चिम प्रदेशको ७१.३० वर्ष रहेको तथ्याङ सार्वजनिक भएको हो ।
नेपालको परिवारको संरचना एकल परिवारको ६० प्रतिशत देखिएको छ भने संयुक्त परिवार ४० प्रतिशत रहेको देखिन्छ ।
यस्तै बसोबास गरेको स्थान छोडेर देशबाहिर जानेकोको जनसख्ंया समेत साढे ७ प्रतिशत देखिएको छ । कामको शिलशिलामा वा अध्ययनको लागि ८२ प्रतिशत पुरुष र १७ प्रतिशत मंहिलाले देश छोडेको देखिन्छ ।
तथ्याङ कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले अघिल्लो १० वर्षअघि भन्दा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक हुदाँ औसत आयुमा त्यसको प्रभाव देखिएको बताए ।
यसैगरी नेपालको वार्षिक जनसख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसंख्या वृद्धिदर रहेको छ ।
८६ प्रतिशत नेपालीको आफ्नै घर
नेपालमा अधिकांश नेपालीको आफ्नै घर वा आवसीय स्वामित्व देखिएको छ । जनसाङ्ख्यिक सूचक अनुसार ८६ प्रतिशत नेपालीका आफै घर रहेको र १२ प्रतिशत नेपाली भाडाको घरमा बस्ने गरेका छन् ।
आफ्नै घर हुनेमा माटोले जडित इँटा/ढुंगाको घर ३३ प्रतिशत रहेको छ भने सिमेन्टजडित इँटा÷ढुंगा समेत ३० प्रतिशत र पिलरसहित ढलान गरेका २२ प्रतिशत भन्दा बढि घर बनेको देखिन्छ ।
यस्तै नेपालीले ९२ प्रतिशतले बिजुलीबाट बत्ति बाल्ने गरेका छन् भने ६ प्रतिशतले सोलार र सौर्यउर्जाबाट बत्ति बाल्ने गरेका छन् ।
२०६८ सालमा राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५सय ४ रहेकोमा २०७८ मा नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies