कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको स्वशासित क्षेत्र तिब्बत सिमाना कोरला नाकासम्म विद्युत विस्तार भएको छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा यस अघि विद्युत लाइन पुगेपनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुग्न सकेको थिएन ।
मुस्ताङ कार्यक्षेत्र भएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा बिजुली बत्ति बलेको बताए ।
छोसेर हुँदै नेपालतर्फबाट कोरला नाकामा ३ वर्ष अघि नै लाइन लगिएता पनि सो नाका सञ्चालन नभएकाले माग नभएको उनले बताए । गत कात्तिकदेखि सञ्चालनमा आएको कोरला नाकामा विद्युतको आवश्यकता महसुस भएपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको प्रमुख काफ्लेले बताए ।
ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीले सहयोग गरेका प्रमुख काफ्लेले बताए । बिजुली सुविधा भएपछि नाकाको सुरक्षामा खटिने सुरक्षाकर्मीलगायत अन्य व्यवसायका लागि जाने व्यवसायीलाई समेत सहज भएको छ । प्रतिकुल मौसमका बाबजुद संरचना तयार पारेर विद्युत आपूर्ति हुने व्यवस्था मिलाइएको तातोपानी वितरण केन्द्रका इञ्जिनियर उत्तम अधिकारीले बताए ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले विद्युत पुगेपछि कोरला नाकामा नेपाल टेलिकमसँग समन्वय गरेर मोबाइल सेवाको पनि विस्तारको लागि पहल भइरहेको बताए ।
मुस्ताङमा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडले विद्युत सेवा उपलब्ध गराउँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies