मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट बढ्न सक्ने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा बजेटको आकार बढाएर ल्याउने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।
उनका अनुसार, आगामी आर्थिक वर्ष १८ खर्बको बजेट आउन सक्छ । बजेटको सिलिङ बनिसकेको समेत प्रधानमन्त्री बताएका छन् । त्यो सिलिङ केही बढ्न सक्ने समेत बताएका छन् । चालु आवमा १७ खर्बको बजेट आएको थियो । सँगै, प्रधानमन्त्रीले बजेट लोकप्रिय बनाउनेमा जोड दिने समेत संकेत गरेका छन् । जनतालाई आशा र भरोसा दिलाउने बजेट आउने बताएर लोकप्रिय बजेट बनाउने प्रधानमन्त्रीले संकेत गरेका हुन् ।
तर बजेट ल्याउन पनि संसद्को गतिरोध हटाउन पहल गर्नुपर्ने प्रचण्डले बताएका छन् । आगामी २८ वैशाखमा बोलाइएको संसद् अधिवेशन चल्न सक्ने स्थिति नरहेकाले पनि गतिरोध हटाउन पहल गर्ने उनले बताएका छन् ।
गएको २१ फागुनदेखि नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर संसद् अवरोध गर्दै आएको छ । त्यो गतिरोध हटाउन कांग्रेसले संसदीय छानबीन समिति गठनको माग राखेका छन् । माओवादी बैठकमा गतिरोध हटाउन मध्यमार्गी विकल्पमा जान सकिनेबारे छलफल भएको छ ।
त्यसका लागि कुनै व्यक्ति तोकेर भन्दा पनि सहकारीबारे समग्र अध्ययन गर्नेगरी संसदीय छानबीन समितिको विकल्प अगाडि बढाउन सकिने माओवादीको निष्कर्ष छ । यस्तो विकल्पबारे पहल लिने प्रधानमन्त्रीले संकेत गरेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाटै त्यस्तो निर्णय हुन सक्ने पनि बताएका छन् ।
त्यसअघि सर्वदलीय बैठक बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका छन् । अहिले पनि छलफल भइरहेपनि निष्कर्षमा पुग्न बाँकी रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो सरकार टिक्नेमा आफू ढुक्क रहेको पनि बताएका छन् । सत्तारुढ दलहरुभित्र केही आन्तरिक समस्या भएपनि सरकार टिक्नेमा ढुक्क रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
‘तत्काल यो समीकरण भत्कन सक्ने स्थिति देखिदैन’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो, ‘तर सत्ता र प्रतिपक्षमा रहेका दलहरुभित्र आन्तरिक समस्या केही जटिल देखिन्छ ।’ अहिलेको सरकार परिवर्तनबारे चलेको आशंकालाई दलहरुमा देखिएको आन्तरिक समस्या भएको ब्रिफिङ प्रधानमन्त्रीले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies