ओबराज शाही/मध्यान्ह
हुम्ला : नेपाल र चीनको सीमा नाका हिल्सामा क्वारेन्टाइन स्थापना गर्न हुम्लावासीले माग गरेका छन् । हाल क्यारेन्टाइन स्थापना नभएको कारण हुम्लाबाट चीनतर्फ जाने सामग्रीहरु लैजान नपाइएको हुम्लावासीको गुनासो छ ।
दुई देशको महत्वपूर्ण सीमा क्षेत्र हिल्सामा क्वारेन्टाइन स्थापना गर्न नेपाल सरकारसँग माग गर्न हुम्लीवासी डेलिकेशनमा समेत जाने तयारी गरेका छन् ।
हाल हिल्सामा क्वारेन्टाइन नभएको कारण हुम्लामा उत्पादन हुने दैनिक उपभोग्य सामग्री, जडीबुटीलगायत कुनै पनि सामान चीनतर्फ निर्यात गर्न नपाइएको नम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए । केही समय अगाडिसम्म चीनको ताक्लाकोटमा हुम्लाबाट फलफूल, रैथाने बालीको अन्न, जडिबुटी लगायतका सामानहरु निर्यात गर्ने गरिन्थ्यो ।
यी सामानहरु ताक्लाकोटमा निकै महङ्गोमा बिक्री हुने गर्छ । हाल चिनियाँ पक्षले क्वारेन्टाइन नभएको भन्दै ती सामान लैजान बन्द गरेको छ । अध्यागमन र भन्सार भएपनि क्वारेन्टाइन नभएको कारण जिल्लावासीको सामान ताक्लाकोट लैजान सकिने अवस्था छैन ।
त्यसैले अध्यष लामाले हिल्सामा जसरी पनि सरकारले क्वारेन्टाइन स्थापना गर्नेतर्फ लाग्नुपर्ने बताए । केही दिन अगाडि जिल्लामा सर्वपक्षीय बैठक बसेर हिल्सामा क्वारेनटाइन स्थापनाका लागि सरकारसँग माग गर्ने र त्यसका लागि जिल्लाका जनप्रतिनिधिहरुको टोली काठमाडौं डेलिगेशन गएर मन्त्रीसँग कुरा राख्ने निर्णय समेत गरेका छन् ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हिल्सामा क्वारेन्टाइन स्थापना भए हुम्लावासीले धेरै सामान ताक्लाकोटमा बिक्री गरेर कमाइ हुने बताउँदै यसतर्फ सरकारले बेलैमा विचार पु¥याउन आग्रह गरे । सरकारले हिल्सामा क्वारेन्टाइन स्थापना गरेर आर्थिक कमाइ गर्ने बाटो खोले जिल्लावासी आफ्नो रैथाने बाली र जडीबुटीको उत्पादन वृद्धिमा लाग्ने देखिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावले बताए । यसबाट जिल्लावासीलाई मात्र नभएर राष्ट्रलाई पनि फाइदा पुग्ने भएका कारण समयमै यसतर्फ सोच्नु पर्ने बेला आएको उनले बताए । यो माग जिल्लाका राजनीति दलदेखि जनप्रतिनिधिले गर्दै आएका छन् । हाल हिल्सामा क्वारेन्टाइन नभएकै कारण चिनियाँ सामान एकतर्फ मात्र नेपाल आउने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies