काठमाडौं : राष्ट्रिय संगीतकर्मी संघको १८औं वार्षिक साधारण सभा तथा छैटौं केन्द्रीय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सोबारे जानकारी गराएको हो ।
संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन वैशाख २८ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिव खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ वैशाखमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।
संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भइरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यकामा थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजारभन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यबाहक अध्यक्ष कटुवालले जानकारी गराए । उनले भने, ‘संघका मतदान अधिकार भएका करिब १३ सय जना आजीवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साढे पाँच सय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’
यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यबाहक अध्यक्ष कटुवालले बताए । यो १८औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।
छैटौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मतरुपमा नयाँ कार्यसमिति ल्याउने आफूहरुको चाहना रहेको, तर लोकतान्त्रिक प्रक्रियाअन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफूहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।
संघको ३९ जनाको केन्द्रीय कार्यसमितिका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यबाहक अध्यक्ष कटुवालले कार्यक्रममा जानकारी गराए ।
संघका पूर्वअध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफूहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत् भएकोमा निकै खुसी लागेको बताए । यस्तै संघका सल्लाहकार तथा पत्रकार रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies