कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : विवाह गर्नका लागि कानूनले २० वर्ष तोकेको छ । तर कर्णाली प्रदेशमा बालविवाह गर्नेहरुको संख्या ३७.९ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।
कानूनले बर्जित गरेता पनि बालविवाह गर्न नहुने विषयमा चेतना फैलाउन नसक्दा कर्णालीमा बालविवाहको अवस्था भयावह रहिरहेको सरोकारवालाहरु बताउँछन् । स्थानीयका अनुसार कतिपय बालविवाहका घटना बाहिर आउँछन्, कतिपय रोकिन्छन् भने कतिपय प्रशासनको आँखा छलेर हुने गर्छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ ।
राज्यले बालविवाह न्यूनीकरणका लागि कानूनी कडाइदेखि जनचेतनाका कार्यक्रमलाई व्यापक बनाएको दाबी गरिरहेको छ । तर परम्परा, गरिबी, दाइजो प्रथा, धार्मिक सामाजिक दबाब र शिक्षाको अभावजस्ता कारण कर्णालीमा मात्रै होइन, नेपालमै उमेर नपुग्दै बालविवाह गर्नेहरूको डरलाग्दो तथ्यांक छ ।
कर्णालीका ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ । कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता दिने गरिएको जनगणनाको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको छ । सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले बालविवाह गर्ने गरेका छन् । सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम रहेको छ । रुकुमपश्चिममा ४२ दशमलव ३ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांकले देखाउँछ । त्यसपछि क्रमशः जाजरकोटमा ४० दशमलव ८, सुर्खेतमा ३८ दशमलव ७, मुगुमा ३५ दशमलव ९, डोल्पामा ३२ दशमलव १, हुम्लामा ३३ दशमलव ७, जुम्लामा ३४ दशमलव ७, दैलेखमा ३५ दशमलव २ र कालीकोटमा २८ दशमलव १ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् ।
कर्णालीका अधिकांश स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि विवाहपूर्व नै अनिवार्य सिफारिस लिने कानून नै बनाएर लागू गरेका छन् । बालविवाह रोक्न कर्णालीमा दर्जनौं संघसंस्थाहरू सक्रिय भएर लागेको दाबी गरिरहेका छन् । तर तथ्यांकले उनीहरूका क्रियाकलाप झारा टार्नमै सीमित रहेको विज्ञहरू औंल्याउँछन् ।
कर्णालीका जुम्ला, कालीकोट, दैलेख, सल्यान र जाजरकोटका अधिकांश स्थानीय तहहरुले विवाह गर्नुपूर्व वडा तथा पालिकाको सिफारिस अनिवार्य गरेका छन् । तर उक्त निर्णय पनि कागजमै मात्र सीमित भएका छन् ।
कर्णालीमा बालविवाहको दर, बासस्थान, भौगोलिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक–फरक रहेको तथ्यांकले देखाउँछ ।
कर्णालीमा बालविवाह बढी हुनुमा गरिबी, अशिक्षा, जनचेतनाको कमी र देखासिखी रहेको बाल अधिकारका लागि साझा अभियान कर्णालीका टेकराज आचार्य बताउँछन् । कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउन जनचेतनाको अभियानलाई तीनै तहका सरकारले चलाउनुपर्ने उनको राय छ । यस्तो अभियान घरपरिवार, विद्यालय तथा सामाजिकस्तरमा व्यापक बनाउनुपर्नेमा उनको जोड छ ।
प्रहरीसम्म सूचना पुग्दैन
कर्णालीमा बालविवाहको ग्राफ उच्च रहेको भए पनि यस्ता घटनाहरू प्रहरीकहाँ निकै कम मात्रामा आउने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । कारबाही हुने डर तथा जनचेतनाको कमीजस्ता कारणले बालविवाहका घटना प्रहरीकहाँ कमै मात्रामा आउने गरेको जानकारहरू बताउँछन् ।
पछिल्लो तीन आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशभर ४८ वटा बालविवाहविरुद्धका मुद्दा प्रहरीमा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८०/०८१ सम्म अर्थात तीन वर्षको अवधिमा दैलेखमा सबैभन्दा धेरै १८ वटा बालविवाहविरुद्धका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
यो अवधिमा सुर्खेतमा १४, सल्यानमा ७, कालीकोटमा ६ र हुम्लामा ३ वटा मुद्दा परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीले बताए । उनका अनुसार कर्णालीका अन्य पाँच जिल्लामा यो अवधिमा कुनै पनि बालविवाहविरुद्धका मुद्दा परेका छैनन् ।
नेपालको कानूनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा दण्ड सजाय हुने व्यवस्था छ ।
मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । यो व्यवस्थाविपरीत भएको विवाह स्वतः बदर हुनेछ भने बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था कानूनले गरेको छ । तर, संविधान, कानुन विपरित कर्णालीमा बालविवाह रोकिएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies