दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका थिए । तर मुख्यमन्त्रीले विश्वासको मत लिन भएपछि राखिएको बैठक बस्नै सकेन ।
साँझ ५ बजे विश्वासको मत लिने गरी प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर एमालेले आवश्यक तयारी नभएको भन्दै विश्वासको मत नदिने अडान लियो । एमालेले विश्वासको मत नदिने बताएपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको छ । अर्को बैठक शनिवार साँझ ५ बजेर ५० मिनेटमा राखिएको छ ।
सोडारीकै पार्टी एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा एमालेको निर्णय पर्खिएको बताएका छन् । विश्वासको मत दिने विषयमा एमालेभित्र निर्णय नभएकोले उसैको पर्खाइमा मुख्यमन्त्री रहेको उनले बताए ।
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले पनि एमालेको निर्णय आइनसकेको बताए । सरकारलाई समर्थन गरेको अर्को दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पनि विवाद छ । सोडारीलाई विश्वासको मत नदिन नाउपाका संरक्षक रेशम चौधरी पक्ष संसदीय दलले ह्वीप जारी गरेको छ ।
नाउपाकै अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबाट दुई जना मन्त्री छन् । एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सल्लाह नै नगरी सोडारीले विश्वासको मत लिन खोजेकोले समस्या भएको बताउँछन् । बझाङ–१ मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्य पितृशोकमै रहेको भन्दै एमालेले सोडारी आफूखुसी चल्न खोजेको टिप्पणी गरेको छ ।
एमालेले जेठ ३ गतेसम्म विश्वासको मत लिने समय रहेको उल्लेख गर्दै हतार नगर्न आग्रह गरेको छ । एमालेका १०, माओवादी केन्द्रका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।
एमाले नेताहरु बजेट निर्माणलगायतबारे छलफल गरेर सुधारका निम्ती सहमति जरूरी रहेको बताउँछन् । केन्द्रीय गठबन्धनमा सहमति बनेपछि मात्रै विश्वासको मत दिन तयार हुने एमाले नेताहरु बताउँछन् ।
मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारमा सहभागी हुनुअघि न्यूनतम साझा कार्यक्रम तय हुनुपर्ने एमाले नेताहरुको माग छ ।
सुदूरपश्चिमा प्रदेश सरकारको विषयसहितको विषयमा बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । झण्डै दुई घण्टा भएको छलफलमा गठबन्धनको विषयमा छलफल भएको थियो ।
एकीकृत समाजवादीले राख्दै आएको असन्तुष्टि र नयाँ गठबन्धन बनाउने कांग्रेसको कदम लगायतका विषयमा शीर्ष नेताबीच छलफल भएता पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies