कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् गठन गर्दा ल्याएको विवाद अझै सुल्झिन सकेको छैन । चैत २७ गते नेकपा एमालेबाट नियुक्त भएका मुख्यमन्त्री कँडेलले मंगलबार दोस्रो पटक सरकार विस्तार गरेका थिए । तर सरकारले पूर्णता पाउन सकेको छैन ।
मुख्यमन्त्री कँडेलले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेकै दिनदेखि सत्ता गठबन्धनमा असन्तुष्टि पैदा भएको थियो । कँडेलले पार्टी केन्द्रको निर्देशन विपरीत मन्त्री नियुक्त गरेको भन्दै एमालेकै सांसद विनोदकुमार शाहले मन्त्री पदको शपथ ग्रहण बहिष्कार गरेका थिए ।
शाहले मुख्यमन्त्री कँडेलमाथि पार्टी केन्द्रको निर्देशन विपरीत एकलौटीरुपमा मन्त्री नियुक्त गरेको, शपथ लिन जानुअघि मन्त्रालयको नाम नभनेको आरोप लगाएका छन् । उनले भने, ‘विषय मन्त्रालयको नभइ नीति, प्रक्रिया, नियत र प्रवृत्तिको हो । दलका नेता (कँडेल)बाट मैले कुन मन्त्रालय सम्हाल्दै छु भन्ने जानकारी नभएपछि शपथ ग्रहणमा उपस्थित भइनँ ।’
नेता शाहले मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् विस्तार हुनुपूर्व दलभित्र कुनै छलफल नगरी आफू अनुकूल चल्न खोजेको स्पष्ट पारे । शाहलाई मुख्यमन्त्री कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । तर केन्द्रबाट आफूलाई भौतिक मन्त्रालय दिने भनेको शाहको दाबी छ ।
अध्यक्ष केपी शर्मा ओलीले एमालेको भागमा परेको भौतिक मन्त्रालयमा शाह, कृषिमा दक्षिणा शाही र कानून मन्त्रालयमा शेरबहादुर बुढालाई नियुक्त गर्न सन्देश पठाएको शाहको भनाइ छ ।
दलका नेतासमेत रहेका मुख्यमन्त्री कँडेलले एकलौटी निर्णय गरेकोमा त्यसलाई स्वीकार गर्न नसकिएको तर्क उनको छ । दलभित्र कुनै पनि काम गर्दा विधि र प्रक्रियाअनुसार जानुपर्नेमा त्यसो हुन नसकेको उनको आरोप छ । उनले मन्त्रालय तोक्नुअघि कँडेलले पार्टीभित्र छलफल गर्नुपर्ने भए पनि बेवास्ता गरेको गुनासो गरे ।
मुख्यमन्त्रीले एकलौटीरुपमा मन्त्रीका सूची दिने र मन्त्रालय तोक्ने काम गरेको उनको दाबी छ । यस्तै शाहले शपथग्रहण समारोहमा नआएपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हाल खाली छ ।
उनले शपथ कार्यक्रम नै बहिस्कार गरेपछि मुख्यमन्त्री कँडेलले रुष्ट शाहसँग छलफल गर्नुपर्ने हो । तर कँडेलले चारदिनसम्म पनि शाहसँग छलफल गरेका छैनन् । शाहले मुख्यमन्त्री कँडेलले आफूसँग कुनै पनि छलफल नगरेको मध्यान्हलाई जानकारी दिए ।
मुख्यमन्त्री कँडेल आफ्नै पार्टी केन्द्रको निर्देशन नमानेर मनोमानी ढंगले चलेको एक एमालेका सांसदले आरोप लगाए । ‘मुख्यमन्त्रीले केन्द्रकै निर्देशन मान्नुहुन्न,’ ती सांसदले भने, ‘उहाँ आफू खुसी चल्न खोज्नुहुन्छ । यसरी कहाँ हुन्छ र आफ्नै पार्टीका मान्छे रुष्ट छन् । पार्टीभित्रकै नेतालाई मिलाउन नसक्नु उहाँको असक्षमता हो ।’
पछिल्लो समयको मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर मुख्यमन्त्री कँडेलको चौतर्फी आलोचना भइरहेको छ । आफ्नै दलका नेतालाई मिलाएर सरकार चलाउन नसक्ने मुख्यमन्त्री कँडेलबाट ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारासमेत अलपत्र पर्ने धेरैको बुझाइ छ । यतिमात्रै नभइ एमालेभित्रै कर्णालीको राजनीति हेर्दा कँडेललाई मुख्यमन्त्री भएपछि पहिलो गाँसमै ढुंगा लागेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies