दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएपछि त्यसको खुसीयालीमा आयोजित सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगे ।
चुनावी प्रचारका क्रममा दुई पटक इलाम पुगेका ओली त्यसबेला दबाबमा देखिन्थे । आफूहरु कहिल्यै पहिचानविरोधी नरहेको भनी मतदाताको विश्वास खोजेका थिए । मंगलबार इलाम चोकबजारको लाँकुरी चौतारामा पुगेर उत्साहित हुँदै उनले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताए । इलाम र बझाङमा भएको उपनिर्वाचन परिणामले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई अनुमोदन गरेको बताए ।
एमालेका उम्मेदवारलाई मत दिने मतदाता, राजनीतिक दलहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचनमा खटिएका कर्मचारी लगायतलाई एक एक गरी धन्यवाद दिए । इलामे जनताले सुहाङलाई जिताएर राष्ट्रिय अभियानमा एउटा थप इट्टा थप्न सहयोग गरेको बताए । आफूले चुनाव अघि बोलेको कुरा भोट माग्नलाई बोलेको होइन देश विकासको लागी बोलेको स्मरण गरे ।
इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ कांग्रेस उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत बढी मत ल्याएर विजयी भएका हुन् । ४ मंसिर २०७९ मा भएको चुनावमा उक्त क्षेत्रबाट सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । सुवासको भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।
सुहाङ उम्मेदवार बन्दा मृतक सुवासका छोरालाई टिकट दिएको भनेर आन्तरिक रुपमा समेत आलोचना केही भएको भनिएको थियो । गत चुनावमा ११४ मतान्तरले जोगाएको क्षेत्रमा आन्तरिक असन्तुष्टिले असहजता ल्याउने कतिपयको आँकलन थियो । अर्कोतर्फ पहिचानको आन्दोलन, कोशी प्रदेशको नामाकरणपछि एमाले नेताहरुमाथि भएको आरोप÷प्रत्यारोप र निषेध एमाले नेताहरुले सामना गरेका थिए । यी यावत प्रतिकलताबीच एमाले अध्यक्ष ओलीले सुहाङलाई नै रोजेका थिए । विजयी भएपछि ओली आफैँ विजयी सभामा सहभागी हुन इलाम पुगेका हुन् ।
सुहाङ नेम्बाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए । उनै खड्कासँग गत चुनावमा स्वर्गीय सुवास ११४ मतले विजयी भएका थिए ।
चुनावी परिणामपछिको सभालाई सम्बोधन गर्न इलाम पुगेर ओलीले आफ्नो समेत जीत भएको सन्देश दिए । त्यसक्रममा उनले नेपालीहरुको पहिचान नै नेपाली भएको बताएका हुन् ।
कोशी प्रदेश नामकरण गर्दा केही पनि नब्रिगिएको बताए । साझा नाम भएकाले कोशी प्रदेशको नामकरण गर्दा केही पनि नबिग्रने उनको तर्क थियो । उनले कोशी प्रदेशको नामकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताए ।
विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले समृद्ध नेपाल सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको पनि बताए ।
रास्वपाले जोगाएन जमानत
चुनाव नै जित्ने दाबीका साथ इलाम–२ को उपनिर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चौथो स्थानमै रहन पुगेको छ । एमालेका सुहाङ नेम्वाङले चुनाव जित्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले जमानत समेत जोगाउन सकेनन् । कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसके जमानत जफत हुन्छ । इलाम–२ मा लिम्बूको जमानत जफत भएको छ ।
निर्वाचन आयोगको कार्यालयका अनुसार इलाम–२ मा ६९ हजार ३७४ मत खसेकोमा ६८ हजार ४७२ मत सदर भएको थियो । लिम्बूले पाँच हजार ५० मात्र मत ल्याए ।
उनलाई जिताउन गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने लगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा लिम्बू चौथो स्थानमा पुगेका हुन् । आयोगका अनुसार इलाम–२ मा लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘...मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies