सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराको भगवती मा.विमा सूचनाको चलखेल र लोकतन्त्र विषयक वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘आफैंबाट शुरु गरौं, मिथ्या सूचना अन्त्य गरौं’ भन्ने नाराका साथ सम्पन्न वतृत्वकला प्रतियोगितामा बोल्ने प्रतिस्पर्धी सहभागी विद्यार्थीहरुले मिथ्या सूचनाको घटना, मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय, मिथ्या सूचना फैलिन नदिन विद्यार्थीले गर्नुपर्ने भूमिका लगायतका विषय प्रस्तुत गरेका थिए ।
प्रतिस्पर्धीबाट प्रथम स्थान हासिल गरेका विद्यार्थी नर्मदा गिरिले मिथ्या सूचनाले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले सूचनाको भरपर्दो आधार लिएर मात्र विश्वास गर्नुपर्ने र धारणा बनाउनुपर्ने बताएकी थिइन् । पछिल्लो समय सामाजिक सञ्जालमा सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न मिथ्या सूचनाहरु भ्यूज र सेयरकै लागि प्रशारण तथा प्रकाशन गरिरहेकाले यसबाट आम नागरिक कसरी सचेत हुने भन्ने समेत बताएकी थिइन् ।
यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसालले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गलत, भ्रामक, तथ्यहिन सूचना तथा समाचार सम्प्रेषण गर्नाले आम पत्रकारिता जगतमै चुनौति थपिएको बताए ।
छिटो सूचना दिने, धेरै सेयर र भ्युज पाउने आशमा धेरै सञ्जाल प्रयोगकर्ताले आधारहीन सूचनालाई प्राथमिकता दिएको बताए ।
उनले सामाजिक सञ्जालमा आएका समाचारलाई मात्र विश्वास गर्न नहुने बताउँदै एकै स्रोतको भर नपरी अन्य स्रोतबारे पनि जानकारी लिन आम नागरिकलाई अनुरोध गरे ।
साथै मिथ्या सूचना सम्बन्धी कार्यक्रमले विद्यार्थीलाई समेत सचेत हुन महत्वपूर्ण भूमिका खेलेको भगवति माध्यमिक विद्यालयका प्रअ कृष्ण प्रसाद खनालले बताए ।
खनालले यस्ताखाले कार्यक्रम विद्यालयस्तरमा गर्न आवश्यक रहको बताउँदै यी कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न, अध्ययन गर्ने बानीको विकाससँगै आमजनमानसमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगितामा १४ जना प्रतिस्पर्धीमध्य नर्मदा गिरि प्रथम, लक्ष्मी सुनार द्वितीय र निश्चल भुसाल तृतीय भएका छन् । उनीहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । कार्यक्रम इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटको सहयोग र सागर परियारले सहजीकरण रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies