राहुल गुप्ता/मध्यान्ह
बारा : ट्रकबाट लागुऔषध गाँजा ओसारपोसार गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई सय १६ किलो गाँजा पनि बरामद गरेको छ ।
रतनपुरीबाट ट्रकमा लोड गरी निजगढतर्फ लैजाँदै गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट रतनपुरीको टोलीले गाँजासहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हाँडीखोला–६ हाल जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने दिपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका–३० बस्ने जिवन घलान रहेका छन् ।
बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढतर्फ आउँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रक भित्रलुकाइएको अवस्थामा उक्त परिमाणको लागु औषध फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।
गत वैशाख ६ गते पनि ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ इनरवाबाट गोली चलाएर २ सय ३० किलो लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies