ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाबाट चीनको ताक्लाकोट जान अन्यत्र जिल्लाबाट आउनेको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाको व्यक्ति कम्तिमा बसाइँसराइ गरेको तीन वर्ष नपुगी सीमा पास नदिने निर्णय गरेको छ ।
ताक्लाकोट जानकै लागि बाहिरबाट बसाइँसराइ गर्नेको संख्या निकै बढेपछि स्थानीय प्रशासनले यो व्यवस्था लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले ताक्लाकोट जानकै लागि बाहिर जिल्लाबाट बसाइँसराइ गरेर आउने संख्या बढेपछि यसलाई रोक्न कडाइ गरिएको बताए । यो नियम तत्काल लागू हुने गरी अब बाहिरबाट आउने जो कोहीले पनि बसाइँसराइ गरेको तीन वर्षसम्म नपुगेका जिल्ला बाहिरका नागरिकलाई ताक्लाकोट जाने सीमा पास नदिइने भएको छ ।
बसाइँसराइ गरेर आउनेहरु हुम्ला बस्ने भन्दा पनि ताक्लाकोट जानका लागि मात्र यसो गरेको हुँदा त्यसलाई नियन्त्रण गर्न तीन वर्ष बसाइँसराइ गरेको हुनुपर्ने प्रावधान लागू गरिएको हो ।
चीनसँग सिमाना जोडिएका जिल्लावासीलाई स्थानीय प्रशासनले सीमा पासका आधारमा हिल्साबाट चीनको ताक्लाकोटसम्मको ३० किलोमिटर क्षेत्रमा जान पाउने व्यवस्था गर्दै आएको छ । हुम्लाबाट ताक्लाकोट जान कर्णाली, बागमती र सुदूरपश्चिमका जिल्लाबाट बसाइँसराइ गरेर हुम्ला आएर ताक्लाकोट जाने संख्या बढेका कारण यसलाई रोक्न यो व्यवस्था लागू गरिएको छ । हुम्लामा बसाइँसराइ गर्न आउनेहरूले सिमकोट गाउँपालिकाका विभिन्न वडाका कुना कन्दरामा जग्गा किन्ने गरेको पाइएको छ । उक्त जग्गा उपभोगका लागि नभएर ताक्लाकोट जाने प्रयोजन मात्र देखिएको छ ।
जिल्ला बाहिरका नागरिकले चीनमा कुनै अप्रिय घटना घटे जिल्लाको बदनाम हुने सम्भावना रहेकाले पनि यसलाई रोक्न आवश्यक रहेको देखिएको छ । चीनले सीमा जोडिएका स्थानीय बासिन्दालाई दिएको सुविधा अरुले लिन थालेपछि हुम्लावासीको रोजगारी पनि खोसिने देखिएको छ । ताक्लाकोट जिल्लावासीको व्यापार व्यवसाय, मजदुरी काम गर्ने उपयुक्त थलो बनेको छ । यस वर्ष पनि करिब पाँच हजार हुम्लावासीले नयाँ सीमा पास लिने र पूरानो नवीकरण गर्ने कार्य हालसम्म भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies