काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताइन् ।
‘सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैन ।’ उनले भनिन्, ‘यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’ बालबालिकाहरूका सन्दर्भमा सरकारले सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउनका निम्ति कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले उक्त कार्यक्रमलाई क्रमशः माध्यमिक तहसम्म नै लैजाने विषयमा सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताइन् । ‘विगत लामो समयदेखि सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि यस विषयमा अझै बढाउनुपर्ने आवश्यकता छ । बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ । यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’ उनले भनिन् ।
संविधान, नीति, कानून, कार्यविधि, संरचना, दिगो विकासका लक्ष्य एवं ८७ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरू १३ संघीय मन्त्रालयबाट सञ्चालित हुँदै आएको उहाँले बताइन् । ु‘स्थानीय निकायले काम गर्दा बालबालिकाको क्षेत्र, महिलाको क्षेत्र, अपाङ्गता विशेषगरी आर्थिक रूपले पछाडि परेका, भूमिहीन, सकुम्बासीको तथ्याङ्क हुन आवश्यक छ ।’ उनले भनिन्, ‘त्यसो हुँदा साँच्चिकै कस्ता बालबालिकाले पाउने वा कस्ताले नपाउने भन्ने कुरा स्पष्ट हुनुपर्छ । अहिले दिइरहेको कार्यक्रममा स्पष्ट नै छ । तथापि यी कामहरू मूल्याङ्कन तथा सही डेलिभरी हुन आवश्यक छ ।’ नेपालको संविधान २०७२ को धारा ४३ मा सामाजिक सुरक्षालाई नागरिकको अधिकारको रूपमा स्थापित गरेको भन्दै मन्त्री चौधरीले नेपालभरका दलित परिवारका ५ वर्ष मुनि बालबालिकाहरू र मानव गरिबी सुचाङ्क कमजोर भएका २५ जिल्लाहरूमा मासिक ५३२ रुपैयाँका दरले बाल पोषण भत्ता वितरण गर्दै आएको बताइन् ।
हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पारिन् । महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताइन् । श्रोतको दिगोपनाको जटिलता बढेको भन्दै बजेटको सीमितताका कारण खर्च धान्न गाह्रो भए पनि त्यसका विकल्पहरूको बहस न्यून भएको बताइन् । अन्य उपायहरूको खोजी गर्न आवश्यक रहेको उहाँको भनाई थियो । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउन तथा विशेष गरी बालबालिकाको स्वास्थ्य बीमाको सन्दर्भमा सरकार संवेदनशील रहेको समेत मन्त्री चौधरीले बताइन् । ‘हामीले बालबालिका देशका कर्णधार भन्दै आएका छौँ । त्यसो भन्दै गर्दा आजको बालबालिकामा गर्ने लगानीले देशको सुनौलो भविष्य कोरिरहेको हुन्छ ।’ उनले भनिन् ।
बाल पोषण भत्ताले बालबालिकाको पोषण सुधारमा सकारात्मक प्रभाव पारिरहेको भन्दै मन्त्री चौधरीले यसले बालबालिकामा राज्यले उल्लेख्य लगानी गर्नुपर्छ भन्ने कुराको पुष्टि गरेको बताइन् । बालबालिकालाई उचित स्याहारसुसार गर्ने र अभिभावक तथा बालबालिका बिचको सम्बन्धलाई बलियो बनाउन सकारात्मक वातावरणको सिर्जना गर्नु आजको आवश्यक भएको भन्दै त्यसका लागि अभिभावक सचेतना कार्यक्रमलाई पनि सँगसँगै लैजान आवश्यक रहेको बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies