लेखनाथ सिकारू/मध्यान्ह
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले युवाहरुको अनुभव ज्ञान सीप र पुँजीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।
युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले युवालाई समेत नवीन जोस जाँगरका साथ अगाडि बढ्न र उत्पादनमा लाग्न आग्रह गरे ।
समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । ‘देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्’ उनले भने ।
अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गर्दै उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए । ‘समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो’ अध्यक्ष नेपालले भने ।
इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने भन्दै पार्टी एकातिर, जनवर्गीय संगठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने बताए ।
उनले आफ्नो पार्टी समाज परिवर्तन अभियानमा जुटेको बताए । पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका ४ बटा दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए । सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताए । नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं युवा संघ इञ्चार्ज दिलुकुमारी पन्तले मुलुकको राजनीतिक परिवर्तनमा युवा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै पार्टी र देशका हरेक तहमा युवा सहभागिता बढाउन आवश्यक रहेको बताइन् । भ्रष्टाचार विरोधी आन्दोलन, सुशासनको पक्षमा युवा संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
युवा संघ काठमाडौंका अध्यक्ष गौरीशंकर रानाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष एलिप श्रेष्ठ,युवा संघका उपाध्यक्ष नितेश पौडेल, अनेरास्ववियूका महासचिव महेश श्रेष्ठ, युवा संघका फुर्वा लामा लगायतले बोलेका थिए । कार्यक्रममा युवा संघ काठमाडौंको क्यालेण्डर विमोचन गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies