ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाले कार्यालय सहयोगीहरु धेरै भएको भन्दै हटाउने निर्णय गरेको छ । सिमकोट गाउँपालिका भरी ३२ जना कार्यालय सहयोगीहरु छन् । त्यसमध्ये २४ जना करारका र ८ जना स्थायी दरबन्दी कार्यालय सहयोगी छन् ।
ठूलो संख्यामा गाउँपालिकाले कार्यालय सहयोगी भर्ना गरेको हुँदा जेठ महिनासम्म सबै करार कार्यालय सहयोगी हटाउने र न्यून संख्यामा कार्यालय सहयोगी राख्ने निर्णय गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए ।
यसले गर्दा आर्थिक भार गाउँपालिकाले भोग्दै आएको र काम भन्दा बढी कार्यालय सहयोगी भएकाले हटाउन खोजिएको प्रमुख प्रशासकीय अधिकृत आलेको भनाइ छ । गाउँपालिकामा भएका करार कार्यालय सहयोगीलाई यसभन्दा अगाडिका वर्ष प्रति महिना २२ हजार पाँच सय रुपैयाँ तलब दिँदै आएको भएपनि आफू यस गाउँपालिकामा आएदेखि ५ हजार घटाएर १७ हजार पाँच सय रुपैयाँ प्रतिमहिना दिँदै आएको आलेले बताए ।
२४ जना करार कार्यालय सहयोगीलाई यसभन्दा अगाडिका वर्षमा प्रति महिना ५ लाख ४० हजार गाउँपालिकाबाट भुक्तानी हुन्थ्यो, तर अहिले ४ लाख २० हजार भुक्तानी हुन्छ । घटाएर दिँदा १ लाख २० हजार बच्ने हुँदा त्यो रकम गाउँपालिकाको काममा खर्च गरिने उनले बताए । घटाएर तलब दिँदा पनि आर्थिक भार हुने र अनावश्यक कर्मचारी बढी हुने हुँदा जेठ महिनासम्म करारका कार्यालय सहयोगीहरु मात्र राख्ने र त्यसपछि हटाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies