काठमाडौं : युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको उल्लेख गरिएको छ ।
यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।
प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा. डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies