पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : “साहित्यको सिर्जना समाजमा भद्रता पर्यटन प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता’’ भन्ने मूल मर्मका साथ कल्पना फाउन्डेशन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थल खप्तडमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा आयोजित उक्त पाँचदिने भ्रमणमा समुद्री सतहदेखि ३०८४ मिटर अग्लो स्थानमा रहेको खप्तड बाबाको आश्रम अगाडि फाउन्डेशनको विभाग विस्तार र रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिकास्थित मानवीय सेवा र समाज सेवाका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने र भाषा साहित्यको विकास तथा साहित्यिक उन्नयनका लागि २०७० सालमा स्थापित कल्पना फाउन्डेशन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेशनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरिएको छ । उक्त विभागका अन्य सदस्यहरूमा साहित्यकारहरु चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् ।
फाउन्डेशनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवम् योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष ऋषिराम सापकोटाले फाउन्डेशनले आगामी दिनमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना बनाएको जानकारी दिए ।
साहित्य विभागका संयोजक चयन भएपश्चात लेकप्रसाद प्याकुरेलले फाउन्डेशनले २०८१ को वैशाख महिनाभित्रै साहित्यसम्बन्धी प्रशिक्षण कार्यक्रमा आयोजना गर्ने बताए ।
भ्रमण टोलीमा सहभागी व्यक्तित्वहरूलाई सम्बोधन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष समेत रहेकी फाउन्डेशनकी अध्यक्ष पौडेलले छिट्टै नै फाउन्डेशनमा ५ लाख रुपैयाँको अक्षय कोष जम्मा गर्ने र उक्त अक्षय कोषबाट साहित्य र समाजसेवामा लागेका व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै जाने भावी योजना रहेको बताइन् ।
सोही कार्यक्रमको दोस्रो चरणमा सुप्रसिद्ध सन्त तपश्वी खप्तड बाबाको शालिक अगाडि रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो । भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य समेत रहेका बोधराज प्याकुरेलले लघुकथा वाचन गरेपश्चात निरन्तरता पाएको उक्त रचना वाचन कार्यक्रममा साहित्यकारहरु इन्दिरा गौतम, गीता अर्याललगायत बाँकेका भ्रमण टोलीका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
सोही कार्यक्रममा उपस्थित सबैले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्नुका साथै केहीबेर नृत्यसहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो । बाँकेका साहित्यकारहरुको उक्त भ्रमण टोलीमा ज्ञान योग केन्द्र खजुराका उपाध्यक्ष रविन शर्मा, सचिव रत्ना कार्की, कोषाध्यक्ष पद्मा शर्मा, सदस्यहरू निलम कुँवर, मन्दिरा निरौला, निशा शर्मा, हेमलता पौडेल, समाजसेवी परशुराम शर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटालगायत करिब दुई दर्जन साहित्यकार एवम् योग साधकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण कल्पना फाउन्डेशनका सचिव लेक प्रसाद प्याकुरेलले गरेका थिए ।
उक्त फाउन्डेशनले यसअघि चितवन चेपाङ बस्तीका बालबालिकाहरुका लागि खाध्यान्न वितरण तथा छात्रवृत्ति प्रदान गरेको थियो भने जाजरकोटका भूकम्प पीडितहरुलाई पनि खाध्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो । त्यसैगरी फाउन्डेशनले नवलपरासी, बागलुङ र बाँकेमा एक दर्जनभन्दा बढी असहाय र अनाथ बालिकाहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको थियो । यस्तै फाउन्डेशनले अक्षय कोषको स्थापना गरी समाजिक क्षेत्रमा काम गर्ने क्रममा गत वर्ष निलसागर सेवा आश्रम र मानव सेवा आश्रमलाई पुरस्कार तथा सम्मान पनि गरेको थियो ।
त्यस्तै भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने डा. इन्द्र बहादुर भण्डारी र वरिष्ठ कथाकार सनत रेग्मीलाई पुरस्कार तथा सम्मान गरिएको थियो भने पुस्तक प्रकाशन, कृति विमोचन, रचना वाचन तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको फाउन्डेशन नेपालकी अध्यक्ष पौडेलले जानकारी दिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies