– हरिकुमार श्रेष्ठ
उफ !
कस्तो सन्नाटाले छाएको रात
चल्दैछ अन्धकारको राज यहाँ
ढाकेर घर, आँगन
गाऊँ बस्ति र सहरलाई
विशाल सुन्दर प्रकृति र नभलाई
अनि हाम्रा इच्छा, चाहना र रहरलाई ।
यो सहरबाट
जोस–जाँगरका बत्तीहरू बिलाइरहेका छन् आज
राँकेजुलुसहरू अस्ताइरहेका छन् आज
कोणसभाहरू रित्तिइरहेका छन् आज
बाध्यता !
उदीप्त छन् आज तिनीहरू
मरूभूमिमा बालुवा चम्काउन
सुन्दर बस्ति र बगैँचा मस्काउन ।
देखिँदैन आज
यी चकमन्न सहरहरूमा
असारे र गलैँचीका रूपहरू
पारिजात र जयन्तीका मुजुराहरू
सिर्जना रमाउँदै डुलिरहेको
विकास फक्रँदै फुलिरहेको ।
तर
प्रकाशमा जोश जाँगरको
भकारी रित्तिएको छैन
उ रन्थनिँदै हिँड्दैछ निरन्तर
स्वयम्भू बनी यो गाऊँ सहरमा
होस्तेमा हैंसेको आशा बोकी
अँध्यारो चिर्दै उज्यालो छर्नतिर ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies