राम प्रसाद घिमिरे/मध्यान्ह
बागलुङ : प्रभु बैंकको बडिगाड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शुक्रबार बडिगाड गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बडिगाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र उपभोक्ता समितिका पदाधिकारीहरुमा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा लक्षित समूहका करिब एक सय २० जनाको सहभागिता रहेको थियो ।
बडिगाड गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रभु बैंक बडिगाड शाखाका शाखा प्रमुख शिव केसीले डिजिटल बैंकिङका फाइदा एवं जोखिम, बैंकिङ कारोबारमा व्याक्तिगत गोपनियताको महत्व, शेयर मार्केट र यसका फाइदा, मोबाइल बैंकिङका फाइदा र सुरक्षित बैंकिङ कारोबार सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । पछिल्लो समयमा क्यासलेस कारोबार एवं डिजिटल बैंकिङको कारोबारसँगै बैंकिङ ठगी समेत बढिरहेको अवस्थामा यसबाट सुरक्षित रहन अपनाउने उपायबारे जानकारी पाउनु निकै समय सान्दर्भिक रहेको कार्यक्रममा सहभागी त्रिभुवन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले बताए ।
कार्यक्रममा अवसरमा सहभागीहरुले शाखा प्रमुख समक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए । सहभागीले राखेका जिज्ञासामा प्रमुख केसीद्वारा समाधानमुलक सुझाव दिइएको थियो । आगामी दिनहरुमा बैंकले आवश्यकताअनुसार गाउँगाउँमा समेत यस्ता प्रकारका कार्यक्रम सञ्चालन गरिने प्रमुख केसीले बताए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै बैंकिङ क्षेत्रको व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन बैंक तथा शाखा प्रतिबद्ध रहेको प्रमुख केसीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies