शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नाइट टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा तेस्रो पटक कृष्णनगर नगरपालिका–२ को रानी खेल मैदानमा नाइट टी–२० क्रिकेट प्रतियोगिताको शुरु भएकोे हो । प्रतियोगिता मंगलबार राति साढे ९ बजे उद्घाटन गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका छन् । नाइट टी–२० क्रिकेट खेलमा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगदसहित ८१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोस्रो स्थान हासिल गर्ने टिमलाई नगदसहित ४१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
क्रिकेट खेल उद्घाटनपश्चात पहिले चरणमा आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०÷१० ओभरको खेलमा झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा युवा क्रिकेट क्लब विजयनगरले ७८ रनको लक्ष्य पूरा गर्दै ६ विकेटले खेल जितेको छ । उक्त खेलमा म्यान अफ द म्याच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताए ।
उद्घाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्जा राशिद बेगले क्रिकेटप्रति युवाहरुको आकर्षण बढेको बताए । उनले क्रिकेट खेलमा तीनै तहका सरकारको लगानी आवश्यक देखिएको बताए ।
यस्तै राप्रपाका लुम्बिनी प्रदेश समिति सदस्य दीपक रजौरियाले क्रिकेट खेलले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । उनले व्यावसायिकरुपमा खेलकुदलाई अगाडि बढाउनुपर्ने बताउँदै खेल स्टेडियमको अभावलाई सम्बन्धित निकायले समयमै ध्यान दिइ आवश्यक कदम चाल्नुपर्ने बताए ।
यसैगरी युवाहरुमा नेकपा (एमाले)का नेता तथा समाजसेवी शिव प्रसाद जायसवाल, मित्र राष्ट्र भारतका नगर पञ्चायत बढनीका चेयरम्यान सुनील अग्रहरी, नेकपा माओवादी केन्द्रका कृष्णानगर अध्यक्ष जावेद आलम खाँ, क्रिकेट प्रेमी पूर्वएम्पायर विनय शर्मालगायतले खेलमा सबै सरोकारवालाले चाँसो देखाउनुको साथै सरकारले आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्नुपर्नेमा सुझाव दिएका थिए ।
जय स्पोर्ट्स क्लब कपिलवस्तुले कृष्णनगरमा तेस्रो पटक नाइट टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको र आउने दिनमा पनि क्रिकेट प्रेमी युवाहरुका लागि लगातार क्रिकेट प्रतियोगिता आयोजना गर्दै जाने आयोजक समितिका अध्यक्ष सुहेल खानले प्रतिबद्धता जनाए ।
काठमाडौं : नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार गुजरात क्रिकेट एशोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो ।
नेपालले तीन खेलबाट ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले बरोडा क्रिकेट एशोसिएसनलाई २७ रनले हराएको थियो ।
१८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो । गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनाएको थियो । नेपालका शुरुवात उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । शुरुवात राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके ।
पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे ।
तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई रनमात्रै बनाए । कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए । अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे । गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ र ध्रुशान्त सोनीले २-२ विकेट लिए ।
काठमाडौं : नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्याण्ड वुल्भ्सले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल 'ए'लाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्याण्ड वुल्भ्सले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
आयरल्याण्डका केड कार्माइकलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले ७७ बल खेल्दै ४ चौका प्रहार गरे । कप्तान निल रक ३९,पिटर मूर २१, जेम्स म्याकमुलम १२ र स्टेफिन डोहेनी १२ रनमा आएट हुँदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ६.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित २१ रन खर्चिएर ४ विकेट लिँदा ह्याट्रिक पनि गरे । साहब आलम र श्याम ढकालले २/२ विकेट लिँदा रिजन ढकालले १ विकेट लिए ।
काठमाडौं : भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो
गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ राज्यो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो । एक सय ५७ रनको विजयी लक्ष्य पछयाउने क्रममा भारतको बरोडाले सवै विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो ।
बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए । उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए । बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले एक एक विकेट लिए ।
यसैगरी बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए । बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई दुई तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको गौरमा जारी पालिका कप टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा यमुनामाई गाँउपालिकाले गौर नगरपालिकालाई पराजित गरेको छ । गौर नगरपालिकालाई यमुनामाई गाँउपालिकाले ८ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको यमुनामाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यमुनामाईका लागि डब्बलु आनन्द मलिकले ४३ तथा आयन मुखियाले २९ रन बनाए ।
१३९ रनको लक्ष्य पछ्याएको गौर १३० रन बनाउँदै अलआउट भयो । गौरका लागि राज पटेलले ४२ रन बनाए ।
यसैगरी लिग चरणअन्तर्गत भएको अन्तिम खेलमा माधव नारायण नगरपालिका गढीमाई नगरपालिकालाई १७ रनले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो ब्याटिङ गरेको माधव नारायणले ११५ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको गढीमाईले ९८ रनमात्र बनाउन सक्यो ।
काठमाडौं : नेपाल 'ए'ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड वुल्भ्सलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई ३ रनले पराजित गरेको हो । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । पहिलो खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
सोमबारको खेलमा २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमात्र बनाउन सक्यो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङले ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रन बनाए ।
आयरल्याण्डका ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ तथा फिन ह्यान्ड २२ रनमा आउट भए । नेपालका विपिन खत्रीले ३ विकेट लिँदा कमल सिंह ऐरी, नारायण जोशी र रसिद खानले एक-एक विकेट लिए ।
त्यसअघि टस हरेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ९३ रनको अर्धशतकीय इनिङ खेले । आरिफ ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९३ रनमा अविजित रहे ।
राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे । आयरल्याण्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए । लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १-१ विकेट लिए ।
काठमाडौं : त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो ।
गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए ।
नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए । बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले एक एक विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार भारतको बरोडा क्रिकेट संघसँग खेल्नेछ ।
काठमाडौं : नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।
जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा सीमित भयो । नेपालको आजको हारसँगै जारी टी–२० सिरिज आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । सिरिजको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्स २१ रनले विजयी भएको थियो ।
नेपालका लागि देव खनालले २५ बल खेल्दै सात चौकाको सहयोगमा ४७ रन बनाए भने बसिर अहमदले २७, बिनोद भण्डारीले २६, लोकेश बमले २५ रनको योगदान दिए । आयरल्याण्ड वुल्भ्सका लागि वेन ह्वाइटले तीन विकेट लिए भने फिओन ह्याण्ड र थोमस माएजले दुई/दुई विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय २४ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि निल रकले अविजित ७१ रन बनाए । उनले ३४ बल खेल्ने क्रममा सात छक्का र एक चौका प्रहार गरे । साथै पिटर मूरले ६५ रन बनाए । उनले सात छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक जेम्स म्याकोलुमले २६, रोद अदिरले १७ , फिओन ह्याण्डले १९ रनको योगदान दिएका थिए ।
नेपाल ‘ए’का लागि सागर ढकालले तीन विकेट लिए भने कमल ऐरी, पवन सर्राफले एक÷एक विकेट लिए । सिरिजको तेस्रो खेल आगामी सोमबार हुनेछ ।
काठमाडौं : प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।
अन्तिम दिन ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।
अन्तिम १८ होलको शुरुवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए ।
एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल सकाए । बिहीबार विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार प्राप्त गरे ।
समग्रमा इभन–पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले बिहीबार ३–ओभर ७५ मा खेल सकाए । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे । यसैगरी समग्रमा ४–ओभर २ सय ९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
रवि खड्काले बिहीबार २–ओभर ७४ को स्कोर सहित समग्रमा ५–ओभर २ सय ९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी समग्रमा ७–ओभर २ सय ९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । दुवैले बिहीबार २–ओभर ७४ मा खेल सकाए । उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे ।
धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११–ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे । युवराजले बिहीबार ८–ओभर ८० र बलभद्रले ४–ओभर ७६ मा खेल सकाए ।
प्रो भुवन र सदभावबीच बिहीबार खेलको शुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए । छैटौं होलको समाप्तीमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो ।
भुवनले दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो । र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४–ओभर ४० मा सकाए । सदभावले १–अन्डर ३५ मा फ्रन्ट नाइन पुरा गरे । फ्रन्ट नाइन सकिंदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।
बोगी रहित खेलेका सदभावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २–अन्डर ३४ मा सकाए । यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे ।
लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १–अन्डर ३५ मा सकाए । १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक–एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे ।
एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो र पाँचौं होलको बोगी विरूद्ध तेस्रो र सातौं होलमा एक–एक सट बचाए । यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।
धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । यसपछि १४औं र १५औं होलमा एक–एक सट बचाए भने १६औं र १८औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।
काठमाडौं : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो ।
कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि शुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।
यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies