काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्न लागेको हल्ला चलाएर रातारात आफ्नो पार्टी फुटाइएको बताएका छन् ।
पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले निराधार र कपोकल्पित हल्ला चलाएर आफू देशबाहिर रहेको मौका छोपेर रातारात असंवैधानिक रूपमा पार्टी फुटाइएको बताए ।
उनले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरे । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनले दाबी गरे ।
उनले यो सरकार बनेपछि आफू काँग्रेस, एमालेलगायतका कुनै पनि नेतालाई नभेटेको दाबी गर्दै आफ्नो पार्टीको विरुद्धमा अफवाह फैलाइएको बताए । निर्वाचन आयोगले अवैधानिक तरिकाले नयाँ दल निर्माणको प्रमाणपत्र दिएको भन्दै यसविरूद्ध अदालतमा जाने बताए ।
कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे । उनले सरकार ढाल्ने विषयमा आफूले कांग्रेसका नेताहरूसँग छलफल नगरेको पनि दाबी गरे । उनले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताए ।
काठमाडौं : प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघीय संसद सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए ।
दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शनअनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए ।
“नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ । बुबा (सुवास नेम्वाङ)ले देखाउनुभएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु”, सांसद नेम्वाङले भने ।
काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् ।
एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।
वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै सुहाङ निर्वाचित भएका थिए ।
सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग नछाड्ने भएको छ । छानबिन समितिको मागमा कांग्रेस अडिग रहँदा प्रतिनिधिसभाको चौथो अधिवेशन पनि सौहार्द हुनेमा संशय पैदा भएको छ । संसद् सहज नचले नीति तथा कार्यक्रम र बजेट ल्याउनै समस्या हुने भएपछि सत्तारुढ दलहरु पनि दबाबमा परेका छन् ।
सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता र दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएका थिए । उक्त छलफलमा सहभागी कांग्रेस सहित प्रतिपक्षी राप्रपाका नेताहरुले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्याए ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र, सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले छानबिन समिति आवश्यक नभएको बताएका थिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने मत राखेका थिए ।
‘संसदीय छानबिनको माग राखेका छौं । आशा छ, आगामी अधिवेशनमा प्रस्तुत हुँदा सरकारले सम्बोधन गर्छ’ बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरुसँग भने ।
छानबिन समिति गठन नभए के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा लेखकले थपे, ‘उपप्रधान तथा गृहमन्त्री कानूनभन्दा माथि हो ? संविधान भन्दा माथि हो ? होइन भने उहाँमाथि पनि संसदीय छानबिन हुन सक्छ, हुनुपर्छ ।’
सत्तारुढ दलहरुले समग्रतामा सहकारीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न सकिने प्रस्ताव राखेका थिए । समग्रतामा सहकारीमा भएको हिनामिना, ठगी, दुरुपयोगको छानबिन नगरौं भनेर आफूहरुले नभनेको कांग्रेस सचेतक लेखकले बताए । उनले अगाडि भनेका छन्, ‘अरु सबै कुरामा गर्ने, उपप्रधान तथा गृहमन्त्रीमाथि प्रश्न उठ्दा छानबिन नगर्ने ? यस्तो हुन सक्दैन ।’
यही वैशाख २८ गतेबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ । त्यसअगाडि सभामुखले शीर्ष नेताहरुसँग समेत छलफल गरेका हुन् । सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष ध्रुव प्रधानलाई पठाएका थिए ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, माओवादीका मुख्य सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि सहभागी थिए ।
प्रतिनिधि सभाको चौथो अधिवेशनका सम्बन्धमा छलफल गर्न बसेको बैठक झण्डै तीन घण्टा चल्यो । तर छलफल सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा केन्द्रित भएको थियो ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीको समग्र विषयमा संसदीय समिति बनाउने वा भएकै समितिबाट छानबिन गर्न सकिने निक्र्योल नभएको बताए । ‘गृहमन्त्री लक्षितमात्र रहेर समितिको कुरा गरिरहुनुभएको छ, त्यो सम्भव छैन’ उनले भने ।
आफूमाथि प्रश्न उठेपछि गृहमन्त्रीलाई जवाफ दिन दिनुपर्ने एमाले प्रमुख सचेतक बर्र्तालाको भनाइ छ । उनी थप्छन्, ‘पहिला गृहमन्त्रीलाई सुनौं, त्यसपछि के गर्ने भन्ने छलफल गरौंला ।’
हेमनाथ खतिवडा/मध्यान्ह
रसुवा : नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्बा तामाङ, सहसचिवमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् ।
दुई दिन चलेको बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधिहरुले समुहगत छलफल तथा प्रस्तुती गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए ।
जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्वनै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले बताए । अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।
अधिवेशले जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै गाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिशत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधि सहभागी थिए ।
अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए । ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन् । उपाध्यक्ष तामाङ २ पटक निर्वाचित गोसाइकुण्ड गाउँपालिका अध्यक्ष तथा पार्टीका पूर्व उपसचिव हुन् । सचिव तामाङ पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता हुन् । उपसचिव गुरूङ २ पटक निर्वाचित उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा जिल्ला नेतृ हुन् । त्यसैगरी लेखा कमिटीको संयोजक गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङ रहेका छन् ।
जिल्ला अधिवेशनपछि नयाँ टिमलाई बधाइ तथा शुभकामना दिने कार्यक्रममा पार्टी जिल्ला इन्चार्ज सोम मिश्र, केन्द्रीय सदस्य माधव अर्याल, पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषदका सदस्य छोवाङ तेन्जिङ तामाङले बधाइ दिएका थिए । अध्यक्ष ढकालले अधिवेशन सफल पार्न सहयोग गर्ने अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी लगायत सबैलाई धन्यवाद दिएका थिए ।
काठमाडौं : गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ ।
कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने उनको माग छ ।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको पाण्डेले जनाएका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।
काठमाडौं - वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ हुँदा हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदैछ । रामेछापको मन्थलीमा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।
रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएको थियो । उनी अहिले सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा उपचाररत छन् । मुख्यमन्त्री जम्मकट्टेलले आज बिहानैदेखि असहज महसुस भएको बताएका थिए । पूर्वनिर्धारित कार्यक्रममा जान गाडीबाट उनी रामेछाप जाँदै गर्दा सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई अस्पताल लगिएको थियो ।
ताप्लेजुङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन् । एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आएका महासचिव पोखरेलले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए ।
“नयाँ घटना कुनै केही भएका छैनन्, आफैंले प्रधानमन्त्रीका रुपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद् छ भन्ने मलाई लाग्छ”–पोखरेलले भने । गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ ।
यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उनले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गरेका छन् । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया शुरु भएको बताए । “यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया शुरु भएको छ, जनता समाजवादी पार्टीका सात जना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ, र म ठान्दछु, त्यो सङ्ख्या अझै बढेर जान्छ,” उनले भने ।
लोकतन्त्रमा विधिसम्मत ढंगले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले कानूनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताए ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताए ।
उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : अशोक राई केन्द्रीय राजनीतिको केन्द्रमा आइपुगेका छन् । उनको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी दर्ताका लागि राईको नेतृत्वमा आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो । सोमबार बसेको निर्वाचन आयोगको बैठकले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
१२ सिटको जसपा फुटाएर राईले नयाँ पार्टी बनाउँदा आफूसँगै सात जना सांसद लागेका छन् । जसमा राईसँगै संघीय सांसदहरु वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी रहेका छन् । यो सँगै राई नेतृत्वको पार्टी संघीय संसदमा सातौं ठूलो दल भएको छ ।
सरल र सालिन व्यक्तित्वका रुपमा स्थापित नेता राई पछिल्लो एक दशक नेपाली राजनीतिको छायाँमा परेका थिए । २०६९ सालमा एमाले उपाध्यक्ष रहेका राईले संघीयताका बारेमा पार्टी नेतृत्वसँग विमति राख्दै पार्टी छाडे । एकल पहिचानका आधारमा राज्य पुनर्संरचना हुनुपर्ने उनको मागलाई तत्कालीन नेतृत्वले चासो नदिएपछि उनले पार्टी नै छाडिदिएका हुन् ।
तत्कालीन एमाले नेतृत्वसँग रुष्ट राईले जनजाति र मधेश केन्द्रित नेता समेटेर संघीय समाजवादी पार्टी गठन गरे । तर, नयाँ पार्टीले राजनीतिक उपलब्धि हासिल गर्न सकेन् ।
तर, जब पार्टी एकता र विद्रोहको प्रक्रियामा सहभागी हुन थाले विस्तारै शक्ति आर्जन गर्दै आए । २२ जेठ २०७२ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकता भएको थियो । त्यसयता पनि पार्टीमा आएका समस्याहरुमा साथै रहेका उपेन्द्र र अशोक ९ वर्षपछि २३ वैशाख २०८० मा औपचारिक रुपमै छुटिए ।
यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चलिरहेको थियो । यही विवादलाई लिएर राईले नयाँ दल बनाउने निर्णय लिएका हुन् । पार्टी फुटाउने राईको निर्णय निर्वाचन आयोगबाट सदर भएसँगै उनी केन्द्रीय राजनीतिको केन्द्रमा पुगेका छन् ।
वर्तमान सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको पार्टी बाहिरिएपनि राई नेतृत्वको पार्टीले साथ दिँदासम्म समस्या आउने छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको वैकल्पिक सरकार बनाउने पर्यास सफल हुन पनि राईले निर्णय लिनुपर्छ । यसरी संसदीय अंकगणितको आधारमा सातौं ठूलो दल भएर पनि राई केन्द्रीय राजनीतिको केन्द्रमा पुगेका हुन् ।
नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष राई छन् । संघीय परिषद् अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, रेणु कुमारी यादव सहअध्यक्ष चयन भएका छन् ।
हालका वनमन्त्री नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष छन् । महासचिवको जिम्मेवारी मोहम्मद इश्तियाक राईले पाएका छन् । प्रदीप यादव उपमहासचिव बनेका छन् । दिपक कार्की र रञ्जु ठाकुर सचिव भएका छन् । विरेन्द्र महतो कोषाध्यक्ष बनेका छन् ।
नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष राई उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताउँछन् ।
निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सिंहदरवार पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै राईले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर पनि गरे ।
उपेन्द्र यादवसँगको ९ वर्षको सहकार्यमा उद्देश्यअनुरुप प्रगति समेत प्राप्त हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘पानी उमाल्ने क्रममा तापक्रम बढ्दै बढ्दै जान्छ । सय डिग्री पुगेपछि पानी उम्लिन्छ भन्ने एउटा बैज्ञानिक नियम छ । अहिले भएको त्यस्तै हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies