मनु यादव निरज/मध्यान्ह
सिरहा : सिरहा नगरपालिका वडा नं.१७ खैरटोकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाकाे गोलबजार नगरपालिका वडा नं. ४ बस्ने आशिष साह र गोलबजार नगरपालिका वडा नं १२ बस्ने विनोद मण्डल रहेका छन् ।
माडर भन्सार कार्यालय अगाडि इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.२ प ७१४४ नम्बरको मोटरसाइकल चालकलाई चेकजाँच गर्दा मोटरसाइकल चालक साहले मुखमा लगाएको मास्कभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने ६.२४० ग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी- सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपीएको अवस्थामा उल्लेखित चिनी फेला परेको हो । साथै १८ वटा बोरामा रहेको ९ सय ९० के जी मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के जी गहुँ समेत बरामद गरिएको छ ।
बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मुल्य ४५ लाख २५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ ।
काठमाडौं- एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको बारा परवानीपुरमा शाखामा आज्ञात समुहले तोडफोड गरेको छ । संस्थाकाअनुसार मंगलबार दिउँसो २० देखि ३० जनाको अराजक तथा उच्छृङ्खल समुहले शाखा कार्यालय भित्र प्रवेश गरी अभद्र व्यवहार गरेको जनाएको छ ।
संस्थाले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘शाखामा कार्यरत कर्मचारीहरुलाई डर, धम्की तथा त्रास पैदा गर्दै शाखा प्रमुख तथा कर्मचारीहरु माथि ज्यान मार्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहार समेत गरेको तथा कार्यालय प्रयोजनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी समाग्रीहरु तोडफोड गरेको, कार्यालयको दराजमा रहेको सदस्यहरुको कर्जासँग सम्बन्धित तमसुक तथा अन्य कागजातहरु, सदस्यहरुका व्यक्तिगत फाईलहरु, दैनिक वित्तीय कारोवारमा भौचरहरु तथा नगदी रसिदहरु र कार्यालयको फ्लेक्स बोर्ड कार्यालयबाट बाहिर लगि बाटोमा आगो लगाई नष्ट गर्ने जस्ता अत्यन्त निन्दनीय, गैर कानूनी तथा अभद्र कार्यहरु गरेको साथै शाखा कार्यालयमा ताला समेत लगाई अराजक र असभ्य क्रियाकलापहरु गरेको घटनाको संस्था घोर भत्र्सना गर्दछ ।’
वित्तीय सेवा प्रवाह गरिरहेको दिउँसोको समयमा नेपाल सरकारको अति आवश्यकीय क्षेत्रमा पर्ने बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीहरु माथि भएको भौतिक आक्रमण गरेको उल्लेख गर्दै विज्ञप्तिमा वित्तीय संस्थाको सम्पत्तीमा पर्न गएको क्षति तथा जोखिममा संलग्न सम्बन्धित समुह तथा व्यक्तिहरुलाई कडा कारबाहीको माग गरेको छ ।
सपना बोहरा/मध्यान्ह
दाङ : दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० वर्षीया जुपली बुढा र सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घर भइ घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आएकी ४४ वर्षीया संगीता सुनार हत्या भएको हो ।
‘बञ्चरो प्रहार गरी दुई जना महिलाको हत्या भएको छ’जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले भने,‘हत्यामा संलग्न व्यक्ति आफैँ आएर स्वीकारेका छन् ।’
दुई जना महिला कोठा भाडा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको केसीले बताए । हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन् । उनी अटो चालक हुन् । दुई महिलाको हत्याको कारण खुलि नसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : बालिकालाई बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई बुधबार पक्राउ गरेको छ । आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय राजन झालाई पक्राउ गरेको हो ।
बालिकालाई ललाइ फकाइ करणी गरेको आरोपमा झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको र झामाथि जवरजस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
जनकपुर- जनकपुरमा सहकारी संस्थाका एक कर्मचारीको ८० लाख रुपैयाँ लुटिएको छ ।
प्रहरीकाअनुसार शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर रकम लुटपाट भएको हो । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले रकम लुटेको महतोको भजनाइ उदृत गर्दै प्रहरीले भनेको छ ।
महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
राहुल गुप्ता/मध्यान्ह
बारा : ट्रकबाट लागुऔषध गाँजा ओसारपोसार गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई सय १६ किलो गाँजा पनि बरामद गरेको छ ।
रतनपुरीबाट ट्रकमा लोड गरी निजगढतर्फ लैजाँदै गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट रतनपुरीको टोलीले गाँजासहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हाँडीखोला–६ हाल जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने दिपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका–३० बस्ने जिवन घलान रहेका छन् ।
बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढतर्फ आउँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रक भित्रलुकाइएको अवस्थामा उक्त परिमाणको लागु औषध फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।
गत वैशाख ६ गते पनि ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ इनरवाबाट गोली चलाएर २ सय ३० किलो लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौं : अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् ।
सप्तरी राजविराज नगरपालिका-१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो ।
पीडित कतारबाट फर्किँदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाइ अर्कै व्यक्तिले सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं - सामाजिक संजाल फेसबुक, वाट्सपमा सम्पर्क गरी ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घडी, लेडिज ब्याग, सुनका गरगहना डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम माग्ने एक महिला पक्राउ परेकी हुन् ।
विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाताहरुमा रु २३ लाख ३५ हजार पठाउन लगाई ठगी गरेकोले उक्त ठगी कार्यमा संलग्न रहेकी अनु श्रेष्ठ काठमाडौंकोचप्पल कारखानाबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी श्रेष्ठलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा राखिएको छ ।
काठमाडौं : पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतकै कृष्ण विक र दिपक परियार रहेको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका एसपी होबिन्द्र बोगटीले लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ गते ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।उनीहरुको घाँटी र टाउकोमा चोट लागेको थियो । अहिलेसम्मको अनुसन्धानमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको एसपी बोगटीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies