काठमाडौं : लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत 'महँगो भयो तिम्रो माया' सार्वजनिक भएको छ । गीतकार जि.एम.दिपु देपेन्द्रको रचना रहेको गीतमा राजकुमार वगरको संगीत र कमल सौगातको एरेन्ज रहेको छ ।
'दिल रोएको बेला', 'तिम्रो मेरो दिलको बास'जस्ता म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेलसँग अभिनय गरेर व्यापक चर्चा कमाइसकेका कलाकार अनुपजंग थापा विचित्रले 'महँगो भयो तिम्रो माया'मा अभिनय गरेका छन् । उनलाई नायिका सोनी बिसीले साथ दिएकी छन् भने बाल कलाकार आराध्य आरएल डीसीको अभिनयले आँखा रसाउँछ ।
मुकेश हुमागाईंको छायाँकन रहेको म्युजिक भिडियोमा रोजिना श्रेष्ठको मेकअप रहेको छ भने मीन रावलको सम्पादन/कलर तथा राहुल बराइलीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन् । निर्देशक रुपाखेतीले दर्शकले म्युजिक भिडियो रुचाउनेमा आफू आशावादी रहेको बताए ।
काठमाडौं : वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचना रहेको नयाँ गीत 'रिटिङ रिटिङ; सार्वजनिक भएको छ । अहिलेका व्यस्त र चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको 'रिटिङ रिटिङ'मा दिपक लिम्बू र बेनिशा पौडेलको युगल गायन, दिपक शर्माको संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।
विमल अधिकारी र गरिमा शर्माको अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर तथा हाल नेपाल राष्ट्र बैंकका सञ्चाचालक समितिका सदस्य समेत रहेका गीतकार शिवाकोटीले 'यही त माया' गीतको सफलतापछि 'रिटिङ रिटिङ' बजारमा ल्याएका हुन् ।
माया, प्रेम, विछोड, सुख, दु:ख, देशप्रेम सबै किसिमका गीतहरुमा कलम चलाउन सिपालु गीतकार शिवाकोटी पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा व्यस्त र चर्चाको शिखरमा रहेका गीतकारमा पर्दछन् । भर्खरै सार्वजनिक भएको गीत 'रिटिङ रिटिङ'बाट पनि उनी चर्चामा रहेका छन् ।
काजिस श्रेष्ठको कोरियोग्राफी, विनोद बमको सम्पादन र कलर, नन्दा अधिकारीको मेकअप, राजेश श्रेष्ठको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको उक्त गीतबाट निकै आशा रहेको निर्देशक रुपाखेती बताउँछन् । काभ्रेको पाँचखालको रमणीयस्थलहरुमा छायाँकन गरिएको 'रिटिङ रिटिङ'ले दर्शक स्रोताहरुको मन जित्नेमा गीतकार शिवाकोटी र निर्देशक रुपाखेती ढुक्क छन् । गीत चिन्तामणि युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाँकनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाँकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।
पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइनेछ । पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
काठमाडौं : प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल’का लागि आवेदन खुलेको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस युनिभर्स नेपाल २०२४’का लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले भनिन्, ‘मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौं । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।’
प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुला रहनेछ । इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेश गर्न सक्छन् । आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरुको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीको साथै गैरआवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउनेछन् ।
सहभागीहरुले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरु प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धीहरु छानिनेछन् र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धीहरु छानिनेछन् । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछन् भने उनीहरुका लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुने आयोजकले जनाएको छ । यस पटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिति रहनेछ ।
प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरुले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धीहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस युनिभर्स नेपाल २०२४ को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जानकारी दिएको छ ।
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक रेजिस्ट्रेसन पार्ट्नरको रुपमा खल्ती रहेको छ भने स्किन केयर पार्ट्नरको रुपमा मिस युनिभर्स स्किन केयर रहेको छ । त्यसैगरी नेपाल पर्यटन बोर्ड आधिकारिक टुरिज्म पार्ट्नर रहेको छ ।
डा रुद्रनाथ अधिकारी प्रख्यात ज्योतिषका रुपमा चिनिन्छन् । उनलाई नेपाली समाजमा पुराणवाचक पण्डित भनेर पनि धेरैले चिनेका छन् । उनको पुराण (कथा) वाचन शैली फरक खालको छ । उनलाई धार्मिक एवम् सामाजिक व्यक्तित्व भनेर चिनाइरहनु पर्दैन । ग्रह, दशा र भविष्य हेराउनका लागि उनको आँगनमा उच्च ओहोदामा कार्यरत प्रशासक, व्यापारीदेखि राजनीतिज्ञसम्मको भीडा लाग्छ । पूर्व मन्त्रीहरुदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत उनले भविष्यबाणी गरिसकेका छन् । पछिल्लो समयमा उनलाई गीतकारको रुपमा पनि चिनिन थालिएको छ । उनका गीतहरुमा मौलिकता पाइन्छ । सुख, दुःख, हाँसो ठट्टा, उत्साह उमङ्गका गीतहरु लेखेर डा. अधिकारीले कला क्षेत्रमा आफूलाई स्थापित गराइसकेका छन् । गायक प्रमोद खरेल, शिव परियार, दिपक लिम्बू, स्वरुपराज आचार्यलगायतका गायकहरुले उनको रचनामा स्वर दिएका छन् । प्रस्तुत छ उनै डा. रुद्रनाथ अधिकारीसँग हाम्रा प्रतिनिधि लक्षमण पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं प्रख्यात कथा वाचक पण्डित र ज्योतिष पनि हुनुहुन्छ । यसबारेमा केही बताइदिनुहुन्छ कि ?
तपाईंले भने जस्तै मलाई नेपाली समाजले कथा वाचक पण्डित र ज्योतिषका रुपमा चिन्दै आएको छ । मेरो परिवार धार्मिक परिवार पनि हो । मेरो बुबा र हजुरबुबा पनि त्यो समयका प्रख्यात ज्योतिषका रुपमा चिनिनु भएको थिथो । ज्योतिषविद्या मेरो परम्परागत पुख्र्यौली पेसा पनि हो । यी सबै हाम्रो पिता पुर्खादेखि चलिआएको पेसा हो । मेरा पिताजी तेजनाथ पण्डित र हजुरबुबा कालीदास अधिकारी लमजुङ जिल्लामा मात्र नभएर गण्डकी अञ्चलकै प्रख्यात पण्डित एवम् ज्योतिष भनेर कहलिनु भएको थियो । ठुलोबुबा पण्डित वामदेब अधिकारी त नेपालभर प्रख्यात हुनुहुन्थ्यो । यो भयो मेरो पारिवारिक पृष्ठभूमि । त्यसैले मलाई पनि यस पेसामा लाग्न हौसला मिलेको थियो । पारिवारिक वातावरणले गर्दा म सानैदेखि ज्योतिषसँगसँगै कथा वाचक, वेदपुराण, उपनिसद कर्मकाण्ड सबैमा रुची राख्ने गर्थें ।
ज्योतिष र कर्मकाण्डी शिक्षा पिता पुर्खाबाटै लिनुभयो कि अध्ययन पनि गर्नुभयो ?
शुरुवाती ज्ञान पिताजीबाटै लिएको थिएँ । म सात वर्षको उमेरमा रुद्री, चण्डि पाठ गर्न सक्ने भइसकेको थिएँ । १४ वर्षको उमेरमा त मैले चिना हेराउनेदेखि चिना बनाउनेसम्मका कार्यहरु गर्थें । वेद विद्यांग देवघाट, सिताराम हाइस्कुलमा अध्ययन गरें । वनारस ब्रिन्द्रावन हुँदै महर्षी विश्वविद्यालयबाट ज्योतिष विज्ञानमा विद्यावरिधि गरें । संस्कृत भाषा भनेको ठूलो ज्ञानको ज्योति हो । संस्कृत भनेको दर्शन हो र सिन्धु पनि हो । हामी मानिस भनेका विन्दु हौं । सिन्धु र विन्दुको संगम भनेको ज्ञान हो । चार लाख नौ सय ग्रन्थका धनी हामी हिन्दुहरुले त्यसबाट केही ज्ञान दिनु पर्दछ भनेर संस्कृत साहित्य दर्शन शास्त्र कर्मकाण्ड वेद पुराणहरुको क्षिक्षा लिएका हौं । जुन धार्मिक मात्र नभइ वैज्ञानिक पनि छ ।
लामो समयदेखि धार्मिक क्षेत्र र ज्योतिष विज्ञानमा ख्याती कमाइसक्नुभएको गुरु कसरी गीत संगीतमा जोडिन पुग्नुभयो ?
मान्छेका चाहनाहरु असीमित हुन्छन् । प्रकृतिको जस्तै । कहिले वशन्त ऋतु त कहिले वर्षा । कहिले शरद त कहिले हेमन्त ऋतु भने जस्तै । ऋतु अनुसार प्रकृतिले आफ्नो चाल बदले जस्तै म पनि बदलिन चाहन्छु । आफूलाई फरक ढंगले परिचित गराउन खोज्ने मानिसहरुको चाहना हुन्छ । मानिसको इच्छा र चाहना समयअनुसार बदलिरहेका हुन्छन् । मेरो विचार र चिन्तनले पनि यही भन्छ । मेरा जीवनका अध्यायहरु पनि फरक हुनु पर्दछ । २१औं शताब्दीको युग भनेको डिजिटल युग हो, इन्टरनेटको युग हो । सामाजिक सञ्जाल र मिडियाको युग पनि हो । आउने पुस्ताले मलाई खोज्दा एक क्लिक गर्दा भेट्न सकुन् भन्ने मेरो चाहना हो । नेपाली गीत संगीतको क्षेत्रलाई नयाँ ढंगबाट लैजानु पर्दछ भन्ने मेरो पहिलेदेखिको बुझाइ रहेको थियो । यस्तै बुझाइ र चाहनाले गर्दा म यस क्षेत्रमा लागेको हुँ । हिजोका दिनमा अरुका लागि समय खर्च गरें । अरुका लागि बाँचे । अबको समय नितान्त आफ्ना लागि देश, समाजका लागि होस् भन्ने चाहन्छु । गीत, संगीतको माध्यमबाट देश र समाजसँग जोडिन सजिलो हुन्छ भन्ने मेरो बुझाइ पनि हो ।
नेपाली गीत संगीतलाई नयाँ ढंगबाट लैजाने भन्ने सोच कसरी आयो ?
अवश्य पनि एउटा संगीतप्रेमी भएको नाताले सर्वप्रथम अहिलेको गीत संगीत साथै नेपाली कला क्षेत्रलाई व्यावसायिक बनाउनु पर्दछ । तर कस्तो किसिमको व्यावसायिक बनाउने भन्ने कुरा प्रधान हो । उत्ताउलो, भड्काउलो गीत संगीतले हाम्रो उद्योग व्यावासायिक बन्दैन । हाम्रो सांस्कृतिक, पराम्परागत साथै साहित्यिक धरातल भन्दा बाहिर जान दिन हुँदैन । यदि धरातलबाट बाहिर गयो भने साहित्य र संगीतले समाजलाई भड्काउँछ । हाम्रो पुरानो सभ्यता, परम्परागत संस्कार सांस्कृतिक संगीतको मूल मर्म पनि हो । जसले जीवन र जगतलाई जागृत गराउँछ । त्यो नै हाम्रो संगीत हो । यीनै धरोहरमा टेकेर अहिलेका पुस्ताहरुलाई जोड्दै नयाँ प्रविधिसँग जोडिँदै नेपाली गीत, संगीतलाई दर्शक स्रोतामाझ लैजाने योजना बनाएको छ । यसैले मलाई अध्यात्मबाट कला क्षेत्रसँग जोडेको हो ।
अहिलेको गीत संगीतप्रतिको बुझाइमा तपाईं कत्तिको असन्तुष्ट हुनुहुन्छ ?
यो प्रश्नलाई त्यसरी पनि नबुझौं । तर पनि तपाईं हामीले हाम्रो गीत, संगीत साहित्य अहिले कता गइरहेको छ भनेर सोच्ने बेला पक्कै आएको छ । परिमार्जनको नाममा कतै विकृति विसंगती त भित्रिरहेको छैन । मलाई यसमा पनि चिन्ता त्यसैको लागि रहेको छ । तपाईं हामी जस्ता देश, समाज, साहित्य, संस्कार, सांस्कृति बुझेका मान्छेले हाम्रो गीत संगीतलाई गलत बाटोमा जान दिनुहुँदैन । आधुनिकतामा पनि हामीले सभ्यता रोज्न र खोज्न सक्छौं । हाम्रो मौलिकतालाई जोड्न सक्छौं ।
समयअनुसार बदलिँदै जानुपर्छ भन्ने एकथरी मानिसहरु विश्लेषण गर्छन् । अहिलेको नेपाली गीत संगीत र साहित्यलाई उनीहरुले त्यसरी नै व्यख्या गरिरहेका छन् । यस विषयमा के भन्नुहुन्छ ?
समय अनुसार बदलिनु पर्छ । तर केमा बदलिने भन्ने पनि हुन्छ । बदलिने भनेको प्रविधिमा मात्र होइन । के नेपाली गीत, संगीत र साहित्यको धरातल बदलेर हाम्रो सभ्यता, संस्कार, पहिचान जोगिन्छ त ? समयअनुसार हाम्रा गीत संगीत साहित्य बदलिँदै जानुपर्छ भन्नेहरुले किन देख्दैनन् आजका हरेक साहित्यिक र सांगीतिक कार्यक्रमहरुमा हिजोकै गीत संगीतकै महत्वलाई ।
यति धेरै विषयहरुमा यहाँको ज्ञान रहेको देखियो । धार्मिक कर्म, ज्योतिष र गीत, संगीतमा के भिन्नता पाउनुभयो ?
म समाज शास्त्रको विद्यार्थी पनि हुँ । त्यसैले मैले समाजसँग जोडिने धेरै विषयको अध्ययन गरेको छु । संगीत, प्राकृृृतिक र परम्परागत स्वरुपलाई नियाल्ने हो भने संगीतबिना प्रकृति पनि अधुरो छ । परम्परा पनि अधुरो छ । सृष्टिको शुरुवातमा एउटा यस्तो किसिमको तरंग थियो । जुन तरंगलाई संगीतको रुपमा जीवनका प्रकृतिको तीन संगीत रसका रुपमा लिइन्थो । शिव, ब्रह्म र नारदजी । त्यसैले गीत, संगीत पनि हाम्रा धार्मिक गतिविधिसँग त्यक्तिकै निकट छन् । गीत, संगीत र हाम्रा धार्मिक गतिविधिहरुलाई मैले परिपुरककै रुपमा लिने गरेको छु ।
गीत, कविता सानैदेखि लेख्नुहुन्थ्यो कि ?
मेरो लेखन कार्य सानैदेखि स्कुल पढ्दादेखिकै हो । स्कुलमा हुने साहित्यिक गतिविधिहरुमा गीत कविता वाचन गर्ने गर्थें । मैले लेखेका गीत कविताहरुले त्यतिखेर पनि पुरस्कार पाएका थिए । अहिले आएर कहिल्यै ऋतु सकिँदैन, लाएर माया रित्तिदैन, मैले लेखेको पहिलो कविता हो । स्कुल, कलेजमा पढ्दा खुब लेखियो पनि । त्यस्ता साहित्य गतिविधिहरुमा सक्रिय सहभागिता जनाइयो । मेरो पिताजी आफैं पनि एउटा छन्दको राम्रो कवि हुनुहुन्थो । उहाँकै प्रभावले पनि मेरो लेखन कार्यमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसैगरी २०४५ सालमा प्रकाशित मेरो चर्चित कविता कालो तक्षताको करालमुखमा जाँदैछ नेपाल यो भन्ने कविताले त्यो समयमा निकै चर्चा पनि पाएको थियो । उक्त कविता कासीबाट प्रकाशन हुने मासिक पत्रिका नवज्योतिमा प्रकाशन भएको थियो । सो कवितालाई लिएर त्यो समयमा सत्ता पक्ष र प्रजातन्त्र पक्षबीच आरोप र प्रत्यरोप नै चलेको थियो । तत्कालीन सत्ता पक्षले रेडियो नेपाल गोरखापत्रलगायतका प्रकाशन गृहबाट निरन्तर प्रकाशित गरेको थियो भने आन्दोलनरत पक्षका केही घटकहरुले प्रजातन्त्र विरोधीको रुपमा चित्रण गरेका थिए । यसलाई वामपन्थीहरुले आन्दोलनकै रुपमा लिएका थिए । मेरो त्यो कविताको सार प्रजातन्त्र विरोधी थिएन । मेरो गीत कविता लेखन कार्य स्कुल कलेज हुँदै यहाँसम्म आइपुगेको छ । निरन्तर लेखिरहेको छु ।
पछिल्लो समय गीतकारका रुपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । गीत रेकर्डिङको सिलसिला कसरी शुरु भयो ?
कतिपय काम र कुराहरु आफ्ना रहरले भन्दा पनि बाध्यताले जोडिएका हुन्छन् । मेरा जीवनका अनगिन्ती अध्यायहरु सायद तिनैमा खुम्चिएर रहेका थिए होलान् । अहिले मैले यी सबै बाध्यताहरुलाई जितेको छु । आफूले चाहेको कामहरु गरिरहेको छु । गीतकारको रुपमा सांगीतिक क्षेत्रमा सक्रिय भइरहेको छु । यो सांगीतिक क्षेत्रमा प्रेरणा र ऊर्जा दिने काम मेरा अनन्य मित्र कृष्णदेव रुपाखेतीको कारणले भएको हो । गीत रेकर्डिङको हौसला दिने श्रेय कृष्णदेवजीलाई दिन्छु । संगीतकार कीर्ति न्यौपानेजीलाई पनि सम्झिन चाहन्छु । ‘किन किन तिमी आज मरुभूमी सरी’ गीतबाट शुरु भएको मेरो गीत रेकर्डिङको सिलसिला डेड दर्जन गीत रेकर्डिङसम्म पुगेको छ । यो अझै लम्बिने छ । मेरो जीन्दगीको हरेक यात्रा र मोडहरुमा मेरी जीवन संगिनी लक्ष्मी ढकाल अधिकारीको पनि ठूलो साथ र सहयोग रहेको छ ।
गीतकारको रुपमा थप अर्को परिचय थपिँदा कस्तो अनुभव गर्नुभएको छ ?
गीतकारको रुपमा जब मेरा सिर्जनाहरु दर्शक स्रोतामाझ पु्गे । त्यसपछि बल्ल मलाई पूर्ण भएको जस्तो अनुभूति गरेको छु । किनभने मेरा सिर्जनाहरु हिजोसम्म निजी जस्तो लाग्थ्यो । आज देश, दर्शक र स्रोताहरु सबैको साझा भएको छ । सबैले मन पराइदिनुभएको छ । एउटा सर्जकका लागि त्यो भन्दा ठूलो खुसी अरु के नै हुन्छ र ? नयाँ मान्छेहरुसँग जोडिएर काम गर्न पाएको छु । अहिलेको गीत, संगीतका दर्शक स्रोताहरुको भावना र रोजाइसँग नजिक हुन पाएको छु । एकदम खुसी र रमाइलो लागिरहेको छ ।
हिजो र आजको गीत संगीतमा के फरक पाउनुहुन्छ ?
अहिलेको गीत, संगीत र पहिलेको गीत संगीत धेरै फरक छ । पहिलाको गीत संगीतमा नेपाली परम्परा, साहित्य, सांस्कृतिक मौलिक पन थियो । प्रत्येक गीतहरु कालजयी हुन्थे । शब्द, संगीत, स्वरमा बेग्लै किसिमको मिठासपन थियो । मानिसका भावनासँग नजिक थिए । अहिलेका गीत, संगीतहरु न पाश्चार्य बन्न सकेका छन्, न त आधुनिक नै । त्यसैले अहिलेका गीत संगीतमा म हाम्रो चिजहरु खोजिरहेको छु । संगीतमा जीवन हुनु पर्दछ । हाम्रा परम्परागत, मौलिक, साहित्य, संस्कार, सभ्यतासहितको संगीत मैले अहिलेको संगीतमा खोजिरहेको छु । त्यसलाई स्थापित गर्न चाहिरहेको छु । हाम्रो मौलिक सांस्कृतिक संस्कार सभ्यता झल्कने गरी शास्त्रीय संगीत, साहित्य छन्द, शास्त्र, साहित्य, रस, गुण, शब्द सबैको संयोजन हुनु पर्छ त्यसलाई व्यावस्थापन गर्नुपर्छ भन्ने मान्यतामा म रहेको छु । अहिले चलेका ट्रेन्ड भन्दा फरक गर्ने गरी मेरा गीतका भावहरु जुन छन्, त्यसले अहिलेका पुस्तालाई शिक्षा, सन्देश दिने र पुराना संगीत प्रेमीहरुका लागि पनि एउटा साधनाको माध्यम बनोस् भन्ने मेरो जोड रहेको छ ।
नेपाली गीत संगीतमा यहाँको भावी योजना केही छ कि ?
नेपाली गीत संगीत साहित्यको क्षेत्रलाई केही नयाँ र पुराना पुस्तालाई जोड्ने गरी काम गर्र्दैछु । दर्शक स्रोताहरुका लागि, नयाँ नेपाली माटोका लागि केही चमात्कारिक काम गर्ने योजनामै छु । हाम्रो गीत संगीतलाई कसरी विश्व बजारसम्म लैजान सकिन्छ भन्ने विषयमा सोचिरहेको छु । गीत, गजल र भजनहरुको रेकर्डिङलगायत सांगीतिक क्षेत्रलाई केही योगदान पुग्ने गरी काम गर्दैछु ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : प्रेम हुन्जेल तिमी बिना मर्छु र मन भरिएपछि त बिना पनि बाँच्छु भन्न सक्ने मन हुनु नै प्रेम टुट्नुको कारण हो । प्रेम टुट्न हुँदैन कल्लाई माया गर्छौ मै मरी गए भगवानको प्यारो भए भन्दै सम्झाउँदै बुझाउँदै पनि प्रेम टुटेको कथा बोलेको नयाँ लोक दोहोरी गीत ‘मै मरी गए’ बजारमा आएको छ ।
३ हप्ता पहिले मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको टाटा बाई बाई छ भन्ने गीत ट्रेन्डिङ नम्बरमै रहेको बेला मै मरी गए भन्ने गीत केही दिन पहिले सोही च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार नरेश खातीको शब्द सिर्जना, स्वर रहेको गीतमा खातीसँगै समीक्षा अधिकारीको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा मेक्सम खाती र रिस्ता बस्नेतको अभिनय रहेको छ ।
उत्सव दाहालले खिचेको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । यसअघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘माया मारेर’, ‘मन परेरै हो’, ‘तिम्रै मायाले’, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’लगायतका थुप्रै गीतहरू दर्शकले रुचाएका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : प्रेम हुन्जेल तिमी बिना मर्छु र मन भरिएपछि त बिना पनि बाँच्छु भन्न सक्ने मन हुनु नै प्रेम टुट्नुको कारण हो । प्रेम टुट्न हुँदैन कल्लाई माया गर्छौ मै मरी गए भगवानको प्यारो भए भन्दै सम्झाउँदै बुझाउँदै पनि प्रेम टुटेको कथा बोलेको नयाँ लोक दोहोरी गीत ‘मै मरी गए’ बजारमा आएको छ ।
३ हप्ता पहिले मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको टाटा बाई बाई छ भन्ने गीत ट्रेन्डिङ नम्बरमै रहेको बेला मै मरी गए भन्ने गीत केही दिन पहिले सोही च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार नरेश खातीको शब्द सिर्जना, स्वर रहेको गीतमा खातीसँगै समीक्षा अधिकारीको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा मेक्सम खाती र रिस्ता बस्नेतको अभिनय रहेको छ ।
उत्सव दाहालले खिचेको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । यसअघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘माया मारेर’, ‘मन परेरै हो’, ‘तिम्रै मायाले’, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’लगायतका थुप्रै गीतहरू दर्शकले रुचाएका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : रामेछाप बाम्ती भण्डार, ५ मा बुबा रामबहादुर घताने र आमा सुकुमाया घतानेको कोखबाट जन्मिएकी सन्ध्या घताने (सानु) नेपाली गीतसंगीतको क्षेत्रमा स्थापित नाम हो । मोडलिङसँगै नृत्य प्रशिक्षण र ब्युटिसियनमा व्यस्त उनी गायिकासमेत हुन् । लगभग एक दशक अगाडिबाट यो क्षेत्रमा होमिएकी उनी ‘मर्छु म त सानु’ गीतबाट औपचारिकरुपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनले मोडलिङ गरेका ‘मुना पलायो’, ‘लाली ओठैमा’, ‘नाइ भन्छ मायाले’, ‘आँखा जुध्यो फेरि’, ‘मै पनि नाचौं छौं छौं’, ‘हासन हौ मायालु’, ‘फूल रसैको’, ‘तिम्रो आँखामा’, ‘छुटेको माया’, ‘स्यानी’, ‘ज्यान चोखो’लगायतका गीतले चर्चा बटुलेका छन् । उनले ‘माया गर्छु तिमीलाई’ गीतमा मोडलिङसँगै आवाज पनि भरेकी छन् । गीत संगीतमा सानैदेखि रुची रहेको बताउने सानुले हालसम्म करिब ५ दर्जन गीतमा मोडलिङ गरेकी छन् । उनी विद्यार्थी जीवनमा विद्यालयमा हुने विभिन्न क्रियाकलापमा भाग लिएर प्रायः प्रथम र द्वितीय हुने गर्थिन् । नृत्य पनि सिकाउने उनलाई शिक्षकहरु र साथीहरुबाट हौसला र प्रेरणा मिल्ने गरेको मध्यान्ह दैनिकसँगको कुराकानीमा बताइन् ।
नृत्यमा सफल हुँदै गएपछि परिवारले पनि खुसी भएर साथ र सहयोग गरेको उनले बताइन् । विसं २०७२ सालको भूकम्पपश्चात काठमाडौंमा प्रवेश गरेकी उनी अध्ययनसँगै व्यवसाय र औपचारिकरुपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् । सांगीतिक क्षेत्रमा साथ सहयोग कमैको पाएको बताउने उनले एक्लै संघर्ष गरेर आजको दिनसम्म आउन सफल भएको बताइन् । आफूलाई कलाकार र ब्युटिसियन भन्न रुचाउने सानुले विभिन्न प्रकारका नृत्यको प्रशिक्षण दिँदै आएकी छिन् ।
सानुले दोस्रो ओएस नेपाल अवार्ड २०७५, दोस्रो सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड २०१९ कतार, जलजला नेसनल फिल्म एन्ड म्युजिक अवार्ड २०२३, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०८०, दोस्रो विशाल लुम्बिनी म्युजिक अवार्ड २०८०, तेस्रो हिमालय इन्टरनेशनल अवार्ड २०२३ प्राप्त गर्न सफल भएकी छिन् । उनले लिटिल क्युमार नेपाल–२०२३, डान्स आइकन दाङ सिजन २, गोवा सिङगिङ एण्ड डान्सिङ कम्पिटिसनमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
हालः राष्ट्रिय संगीतकर्मी संघकी केन्द्रीय सदस्य, रामेछाप कलाकार समाजकी उपाध्यक्ष, म्युजिक भिडियो कलाकार संघकी सदस्य, नेपाल सांस्कृतिक महासंघकी केन्द्रीय सदस्य, नेपाल सांस्कृतिक कलाकर्मी संघकी उपाध्यक्षसमेत भएर उनले संस्थागतरुपमा पनि आफ्नो छविलाई फराकिलो बनाएकी छिन् । आगामी दिनमा सांगीतिक क्षेत्रसँगै व्यवसाय र नृत्य केन्द्रलाई पनि निरन्तरता दिने योजना रहेको उनले बताइन् ।
काठमाडौं : युवा लेखक एवम् गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गइ’ सार्वजनिक भएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुति रहेको उक्त गीतमा वरिष्ठ देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त म्युजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारिक युट्युब च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्पmत सार्वजनिक गरिएको हो ।
‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो । रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्युजिक भिडियोमा ध्वनि मिश्रण जीवन बडु, अभिनयतर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा रहेका छन् । त्यसैगरी छायाँकनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् ।
‘नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारण छुट्टिन बाध्य भएका घटनाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, यो पूर्ण वियोगान्त देउडा गीत हो,’ फुलाराले भने ।
लेखक फुलाराले यसअघि आमामा समर्पित गीत ‘जुनसरी बिलाइ गयौँ’, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो’, ‘म मरे भने यो शहरको डेरामा’, एकल महिलाको पीडामा समर्पित ‘आँशु पिउँदै’, ‘भाग्यभित्र जीवन’ फिल्मी गीतहरुः ‘कर्कलाको पानी’, ‘पूरा भयो सपना मेरो’, ‘आहा भो आहा भो’, देउडा ठाडी भाका ‘न रयो घडेरी’ जस्ता गीतहरु दर्शक स्रोतामाझ ल्याइसकेका छन् । त्यसैगरी साहित्यिक क्षेत्रमा उनले ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘ओरपान हरस्कोप’ (अंग्रेजी संस्करण उपन्यास), ‘वासुदा’ (उपन्यास) र ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ आदि कृतिहरु पाठकमाझ पस्किसकेका छन् ।
काठमाडौं : चलचित्र ‘द्रौपदी’को छायाँकन सम्पन्न भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘द्रौपदी’को छायाँकन ४४ दिनमा सकिएको हो । यस चलचित्रको सम्पूर्ण छायाँकन कर्णाली प्रदेशमा गरिएको हो । डोल्पाको दुनैबाट शुरु भएको चलचित्रको छायाँकन जुफाल, मुड्केचुला, मधु हुँदै फोक्सुण्डोसम्म पुगेर सम्पन्न भएको हो ।
डोल्पाको दुनइ, कालिका मन्दिरमा मुहूर्त गरेर शुरु भएको चलचित्रको छायाँकन शुक्रबार ४४औं दिनमा डोल्पाको फोक्सुण्डो तालमा सम्पन्न भएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक आचार्यले जानकारी दिए । आचार्यले चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको बताए । करिब ४ वर्ष लगाएर स्कृप्ट लेखेको यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको आचार्यले बताए ।
चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
महेश्वर आचार्य र सुजाता तिमिल्सिना सहायक निर्देशक, विमला भुसाल निर्माण व्यवस्थापक रहेको यस चलचित्रमा रबि ओडको संगीत, विजय आचार्यको कला तथा मोहन कुमार झिल्लुको छायाँकन रहेको छ भने अनिल महर्जनको सम्पादन रहनेछ । ऋषिराज आचार्य, विष्णु ठडराई, प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको चलचित्रमा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन आचार्यकै रहेको छ ।
निर्देशक आचार्य चलचित्रको कन्टेन्ट नै बलियो भएकाले यो प्रकारको चलचित्र नेपाली दर्शकलाई मनपर्नेमा आफू विश्वस्त रहेको बताउँछन् । बौद्धिक निर्देशकका रुपमा परिचित निर्देशक आचार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र सेन्सर बोर्डका सदस्य पनि हुन् ।
कथाअनुसार चलचित्रमा भरपूर मिहिनेत गरिएको र यो चलचित्रबाट नेपाली चलचित्र बजारले आशलाग्दा नजनायक तथा नवनायिका पाउनेमासमेत निर्देशक आचार्य ढुक्क छन् । उनी भन्छन्, ‘हामीकहाँ कथाको कमी छैन । हाम्रो गाउँघर, पाखा पखेरा, परिवार, समाजभित्र धेरै कथाहरु छन् । यी हाम्रै अर्गानिक कथाहरू नै चलचित्र बनुन् भन्ने नेपालीहरुको चाहना हो । यस्ता विषयवस्तुहरुलाई चलचित्रमा समेट्न सके नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा फैलिन समय लाग्दैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies