काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्”, प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”
यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवम् अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।
नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवम् विद्युतको खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले बताए ।
“हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।
काठमाडौं : इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल शुरु भएको छ । सबै उमेर र क्षमताका व्यक्तिहरुका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सर्किट शुरु गरिएको हो । वैशाख २० गतेदेखि असोज ९ गतेसम्म चल्ने यो रनिङ प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले जनाएको छ ।
कार्यक्रमले प्रमुख आठ स्थानहरु काठमाडौंको दशरथ रंगशाला, स्वयम्भू, पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग चार सय ५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ ।
योरपेस किप फिट सर्किट नेपाल सहभागीहरुमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रर्वद्र्धन गर्न विशेष गरी बालबालिका र धावकहरुलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । निःशुल्क प्रदान गरिने तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिँदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरुलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं : सूर्यज्योति लाइफले डाइनामिक पेमेन्ट क्यूआर सिस्टम संचालनमा ल्याएको छ । बिमितले सहज हिसाबले बीमा शुल्क भुक्तानी गर्नसक्ने उद्देश्यसहित कम्पनीले डाइनामिक पेमेन्ट क्यूआर सिस्टम ल्याएको हो । भुक्तानीको सूचना र अन्य विवरण मोवाईल एपमार्फत् हेर्न मिल्ने व्यवस्था रहेको छ ।
डाइनामिक पेमेन्ट क्यूआर सिस्टममा विभिन्न बैंकको नियमअनुसार अधिकतम तीन लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आइपीएस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले भने, ‘अरु क्षेत्रमा डाइनामिक क्यूआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास हो ।
काठमाडौं : एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिंकसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा बुधबार आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरु तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले भने, ‘नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार, नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरु तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस चार सय केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउनेछ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यो चार सय केभी सबस्टेशन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रुपमा उकास्नका लागि विद्यमान दुई सय २० केभी सबस्टेशनलाई सघाउनेछ ।’
कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारे । उनले भने, ‘एमसिए–नेपालले विद्युत प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरुको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ, बाँकी दुईवटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।’
एमसिए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत प्रसारण आयोजनाअन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एकवटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैछ ।
अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहेको एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिएअनुरुप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल–गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको अन्तिम चरणमा छ । आगामी बजेट आत्म विश्वास र आशा जगाउने बजेटको अपेक्षा सरोकारवाला निकायले गरेका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि–बजेट राउण्ड टेबल’ कार्यक्रममा अर्थमन्त्री पुनले बजेट निर्माण आगामी बजेट वित्तीय नीति र मौद्रिक नीति गरेर मनोबल उठाउने बजेटमै आफ्नो ध्यान रहेको बताए । ‘गत वर्षभन्दा परिस्थिति सुधारोन्मुख रहेको छ, निजी क्षेत्रको आत्मविश्वास उठाउने गरी बजेट केन्द्रित हुनेछ’, उनले भने ‘मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्छ, लगानी सम्मेलनमा सरकारले ८ वटा कानुन संसोधनले समेत लगानीमैत्री बतावरण बनाउने सरकार लागेको स्पष्ट हुन्छ ।’
आगामी बजेटले समेत औद्योगिक वातावरण बनाउने भूमिका खेल्ने उनले बताए । अर्थसचिव मधुकुमार मरासिनीले विगतदेखि नेपाल उस्तै समस्यामा रुमलिएको परिस्थितिले केही न केही उपचार गर्नेपर्ने आवश्यकता रहेको भन्दै अर्थ मन्त्रालय गम्भीर रहेको बताए । समस्याको पहिचान र त्यसको निदानमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै उनले शुरुमा समस्या थाहा पाउने र त्यसपछि ठोस उपचार खोजिने बताए । स्थानीय तहहरु शासन गर्ने अड्डा नभएर उत्पादनका क्षेत्र भएको भन्दै ती तहलाई जिम्मेवार बनाउन सके अर्थतन्त्रको आधारभूत तहबाटै समस्या समाधान हुन थाल्ने उनको भनाइ छ ।
रोजगारी दिने उद्योगलाई विशेष सुविधा दिनुपर्छ ः निजी क्षेत्र
नेपालमा रोजगारी सृजना गर्ने उद्योगहरुको अवस्था नाजुक हुँदै गएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसाय आगामी बजेटले सम्बोधन गर्न माग गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्नुपर्ने र गुमेको आत्मविश्वास फिर्ता ल्याउनुपर्ने आवश्यकता रहेको निजी क्षेत्रको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पुरा गर्ने आश गरिएको बताए । अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको भन्दै उनले कम्तिमा एक सयजनालाई रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउनु पर्ने बताए । यस्तै आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुःख दिइरहेको उनको गुनासो छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई सुधार गर्ने हो भने गुणस्तहीन आयातलाई रोक्नु पर्ने बताए । उनले अहिले नेपालमा उत्पादन भएको ११ सय ५० वस्तुले गुणस्तर चिन्ह लिएका तर, पाँच हजार भन्दा बढी सामग्री विना गुणस्तर मापदण्ड आयात भइरहेको बताए । आन्तरिक उत्पादन गर्ने उद्योगहरु धरासाही बनेकोले बजेटमा आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक रहेको बताए । निजी क्षेत्रको मनोबल माथी नउठेसम्म सरकार समेत सफल हुन नसक्ने भन्दै विगतमा लिइएका गलत नीति सच्याउनु पर्ने धारणा उनको छ ।
कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमा खराब कर्जा बढेको र नाफा घट्दै गर्दा बैकिङ क्षेत्र समेत संकटकै बाटोमा जान लागेको बताए । बैंकमा लगानीयोग्य रकम थुप्रिने तर, अर्थतन्त्र चलायमान नहुने अवस्थाले लगानीकर्तामा आत्मबल बढ्दा समस्या भएको बताए । बैंक तथा वित्तीय संस्था परिसंघ(सीबीफिन)का अध्यक्ष उपेन्द्र पौडेलले अहिलेका विद्यार्थीले मुलुकभित्र सम्भावना नदेखिरहेको अवस्थामा सरकारले उनीहरुलाई लक्षित गरी बजेट बनाउनु पर्ने सुझाव दिए । युवाले भविष्य नदेखेसम्म बैंकले समेत लगानी सुरक्षित भएको महसुस नगर्ने उनको भनाइ छ ।
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले अहिले विद्युतीय सवारी र अन्य सवारी साधनमा दोहोरो बुझाइ रहेको भन्दै समग्रमा अटोमोबाइल क्षेत्र नै समस्यामा रहेको बताए । उनले अटोमोकानिकका जनशक्ति पलायनको ठूलो समस्या रहेको भन्दै जनशक्ति रोक्ने खालको नीति आवश्यक रहेको बताएका छन् ।
अर्थविद् प्राडा अच्युत वाग्लेले राजनीतिक क्रान्ति गरेर आएका अर्थमन्त्रीले राज्य संयन्त्रमा रहेका समस्या हटाउन ठूलो सुधारको हिस्मत गर्नुपर्ने बताए । अहिलेको अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णय र हिम्मत देखाएर बजेट ल्याउन प्राडा वाग्लेले सुझाव दिएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख रेशम थापाले निजी क्षेत्रले सरकारको धेरै मुख ताक्ने प्रवृत्तिले समेत वातावरण बिग्रिरहेको भन्दै दुबै पक्षले आफ्नो योगदान बिर्सन नहुने बताए । ठूलो बजेट भन्दा कार्यान्वयन गर्ने बजेट ल्याउनु पर्नेमा उनको जोड छ । अर्थविद् विश्वास गौचनले पनि संरचनात्मक सुधार नगरेसम्म हरेक वर्ष आउने बजेटले आमुल परिवर्तन ल्याउन नसक्ने बताए । आगामी आव १६औं आवधिक योजनाको पहिलो बजेट रहेको भन्दै उनले दीर्घकालिन योजना र बजेटका बीचमा तालमेल मिलाउन सुझाव दिए ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवर्द्धनका लागि बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा विषेश कार्यक्रम ल्याउने भएको छ ।
बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले लघु तथा घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदेशभित्रै उत्पादन र बजारिकरणमा संलग्न गराउने बताए । बिहीबार हेटौंडामा पहिलो पटक सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकार सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले अधिकांश लघु तथा घरेलु उद्यमीहरुलाई उत्पादन प्रवर्द्धन गर्ने तरिका थाहा नहुँदा बजारमा सजिलै बिक्री हुने र अत्यधिक माग भएका वस्तुसमेत थन्किएको बताए । उनले तालिम पश्चात उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणमा सहज हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सभापति लक्ष्मी खनालले ठुला उद्योगीहरुको तुलनामा साना उद्योगहरुले डिजिटल प्रणालीमा जान, उत्पादनलाई बजारिकरणमा लैजान समस्या भोगिरहेको अवस्थालाई हेरेर नमूनाका रुपमा पहिलो पटक ई–कमर्श तालिम सञ्चालन गरिएको बताइन् ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशका निर्देशक गोविन्द सिग्देलले आगामी आर्थिक वर्ष साना तथा लघु उद्यमीहरुलाई समेट्ने गरी ई–कमर्श तालिमको निरन्तरता दिने र डिजिटलमा आधारित नयाँ कार्यक्रमहरु ल्याउने गरी योजना बन्ने बताए । उद्यमीहरुले आफ्ना वस्तु तथा सेवाहरुलाई डिजिटल प्लेटफर्ममा समावेश गर्ने, स्वदेश तथा विदेशमा बजारिकरण गर्ने, साइबर सुरक्षालगायतका विषयहरुमा ज्ञान र सीप हाँसिल गर्ने लक्ष्य राखिएको नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष कबिराज खत्रीले बताए ।
तालिममा बागमती प्रदेश अन्तरगत १३ जिल्लाका २८ जिल्ला÷नगर उद्योग वाणिज्य संघ, १३ जिल्लाका घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालाय मातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु गरी १ सय २० जनाको सहभागिता रहेको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता हटाउन सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्ने र केही क्षेत्रमा सुधारात्मक तथा रुपान्तरणकारी नीति अवलम्बन गर्ने बताएका हुन् ।
“अर्थतन्त्र शिथिल छ, तर हामी सुधारोन्मुख छौँ र सुधार हुनेमा आशावादी छौँ । निजी क्षेत्रको मनोबल बढाउने कुरालाई प्राथमिकता दिन्छौँ । निजी क्षेत्रको मनोबल उकास्न सरकारका तर्फबाट सहजीकरण हुन्छ”, उनले भने, “सुधारका लागि केही कठोर भएर हस्तक्षेपकारी नीति अवलम्बन गरिनुपर्छ भनेर सुझाव आएका छन् । तर हामी अतिमा जाँदैनौँ । केही क्षेत्रमा सुधार गरेर मात्र हुँदैन रुपान्तरण नै गर्नुपर्ने हुन्छ ।”
सरकार निजी क्षेत्रको लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । सरकारका नीतिबीच एकरुपता र सामञ्जस्यता कायम गरिने दाबी पनि उनले गरे ।
“वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता हुने कुरामा सरकार प्रतिबद्ध छ । नीति तथा कार्यक्रम एकातिर, बजेट अर्कैतिर र मौद्रिक नीति अर्कै ढंगले आउने भन्ने हुँदैन । बजेटबाटै मौद्रिक नीतिका व्यवस्था ल्याइएका उदाहरण पनि छन् । सरकारका निकायबीच फरकफरक सोच राखेर हुँदैन”, अर्थमन्त्री पुनले भने ।
आगामी आर्थिक वर्षको बजेटमार्फत करको दर परिवर्तन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनेगरी गरिने पनि अर्थमन्त्री पुनले बताए । “हामी कुनै प्रभावमा परेर करका दर हेरफेर गर्दैनौँ । पुष्ट्याइँ र कारणसहित तीन महले बनाएर आर्थिक ऐन आउँछ । के–कति कारणले राजस्वका दर हेरफेर भए भनेर खुलाउँछौँ”, उनले भने, “विकासका नीतिमा पनी हेरफेर गर्ने र खर्च गर्ने क्षमता बढाउने गरी अघि बढ्छौँ । दोहोरो अंकको आर्थिक वृद्धि सम्भव नभए पनि साढे सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनेमा हामी आशावादी छौँ ।”
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजार माग र आपूर्ति दुवै घटेका कारण समग्र अर्थतन्त्र समस्यामा परेको बताए । सरकारले अध्यादेशमार्फत छोटो समयमा कानुन परिवर्तन गरेर लगानी वातावरण बनेको सन्देश दिएको उनले दाबी गरे ।
आगामी आवको बजेटले निजी क्षेत्रका माग र सुझावलाई प्राथमिकतामा राख्नुपर्ने पनि उनले बताए । सरकारको बजेट र मौद्रिक नीतिबीच तालमेल र एकरुपता हुनुपर्ने सुझाव पनि उनले दिए । आगामी आर्थिक वर्षको बजेटबाट लगानी दशक घोषणा गरिनुपर्ने, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई सहुलियत दिनुपर्ने उनको भनाइ थियो ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
पर्वत- कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिनुभयो । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् ।
आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताए । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएकोछ ।
यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताए ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले बैंकको डाइरेक्टरमा इला शर्मालाई नियुक्त गरेको छ । शर्माले त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन लगायतको क्षेत्रमा काम गरेको अनुभव छ ।
निर्वाचन आयोगकी पूर्व आयुक्तसमेत रहेकी शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन् । उनले काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बैंकले जनाएको छ । यस्तै, शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन् ।
विभिन्न आईएनजीओको अन्तर्राष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसंघमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीति र कार्ययोजनामा रहेर काम गरेको अनुभव संगालेकी छन् । फुड फस्र्ट इन्फर्मेसन एक्शन नेटवर्क फियाने नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एसिया वाचको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् । व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा उनले एक दशकभन्दा बढी योगदान दिएकी छन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies