सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाका ४ वटा स्थानीय तहका विद्यालयका शिक्षकहरुलाई लैगिंक रुपान्तरणमुखी शिक्षासम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत बर्दियाको राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका १५ वटा माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षक गरी ३० जनालाई गुलरियामा लैगिंक रुपान्तरणमुखी शिक्षासम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको हो ।
लैंगिक रुपान्तरणमुखी शिक्षा र व्यवस्थापनलाई प्रवर्द्धन गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दै लैंगिक समानता प्रवर्द्धन गर्न सहयोग पुर्याउन तथा सुशासन प्रवर्द्धनका लागि आवश्यक पहल गर्न सक्षम बनाउँदै विद्यालयलाई लैंगिक समानताको केन्द्रको रुपमा स्थापना गरी सबै बालबालिकाहरुका लागि गुणात्मक शिक्षाको सुनिश्चितता कायम गर्न तालिमको आयोजना गरिएको ‘सशक्त बालिका परियोजना’का परियोजना संयोजक मनोज पौडेलले जानकारी दिए ।
तालिमबाट शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि विद्यार्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाइ, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणासम्बन्धी सोचहरुमा परिवर्तन, विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, विद्यार्थीहरुको श्रृजनशीलता, सीप विकास, नेतृत्व विकास र वैज्ञानिक तथा व्यवहारिक शिक्षण सिकाइ उपलब्धिमा सहयोग पुग्नुका साथै विद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुग्ने विश्वास परियोजनाले लिएको पौडेलले बताए ।
अधिकांश बालबालिकाहरु विद्यालयमा हुने र लैंगिक रुपान्तरणका लागि महत्वपूर्ण स्थान विद्यालय भएकाले शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको बताउँदै प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले तालिमपश्चात विद्यालयहरुमा लैंगिक रुपान्तरण हुनुपर्ने बताए ।
तालिममा सहभागी नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय मनाउ गेरुवाका प्रधानाध्यापक झक्कप्रसाद ढुंगानाले पुराना मान्यताहरुले समाजलाई गाँजिरहेको वर्तमान समयमा परिवर्तन तत्काल सम्भव नभए पनि लागरिहनुपर्ने बताउँदै ढिलै भए पनि परिवर्तन सम्भव रहेको बताए । भानुभक्त माध्यमिक विद्यालय सिउनिया, बारबर्दियाकी शिक्षिका शान्ता खड्काले तालिम अति नै उपलब्धिमूलक, समय सान्दर्भिक, लैगिंक अवधाराणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाइ उपलब्धिमा सहयोग पुग्ने बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।
राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले मानव जन्मँदा सबै समान भएर जन्मिने बताउँदै लैंगिक असमानता, विभेद र असन्तुलन अमानवीय कार्य भएकाले यसका विरुद्ध सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
तालिम समापन कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले पहिलेभन्दा वर्तमान परिवेश फरक भएको बताउँदै तालिममा सिकेका ज्ञान अरुलाई पनि बाँड्दै लैंगिक असमानता, विभेदविरुद्ध सरोकारवालाहरु सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।
तीनदिने तालिमको सहजीकरण ‘सशक्त बालिका परियोजना’का परियोजना संयोजक मनोज पौडेलले गरेका थिए । ‘सशक्त बालिका परियोजना’ बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा सन् २०२३ जुलाईदेखि सञ्चालनमा रहेको छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गीण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ । परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies