नुवाकोट : तराई विकास तथा सञ्चार केन्द्र नेपालद्धारा आयोजित रौतहटबाट शुरु भएको “जन्मदिनलाई सत्कर्मसँग जोडौं” अभियानअन्तर्गत मन्दिरमा रहेका आश्रित बालबालिकालाई अन्न, फलफूल वितरणका साथै वृक्षारोपण गरिएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा पर्ने सिमरा कल्छेको सत्यनारायण मन्दिर परिसरको प्राङ्गणमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा आश्रित बालबालिकालाई अन्न,फलफूल वितरणका साथै वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले यस अभियानमा सहभागी हुने अवसर प्राप्त भएकोप्रति खुसी व्यक्त गरे । उनले नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोप्नु पर्ने सन्देश समाजमा फैलाउनु निकै सकारात्मक कुरा भएको बताए । बिरुवा रोपेर मात्र नहुने र यसको संरक्षण पनि गर्नु त्यति नै आवश्यक रहेको उनले बताए ।
अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै उनले आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक गोबिन्द चौलागाईंप्रति आभार प्रकट गरे । यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
अभियानका संयोजक तथा कार्यक्रमका अध्यक्ष तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंले कार्यक्रममा सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर विभिन्न जातका बिरुवा रोपण गरिनुका साथै मन्दिरमा रहेका आश्रित बालबालिकाका लागि अन्न, फलफूल वितरण गरिएको जानकारी दिए । उनले यस अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, पत्रकार तथा समाजका अगुवा सबै जनाले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।
अध्यक्ष चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिवेशअनुसार फरक-फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडि बढाउने बताउँदै भने, 'यो नेपालकै नौलो अभियान हो । यो अभियान एउटा वृक्षारोपणसँग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रसँग सम्बन्धित रहेको छ । खासगरी बेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियानअन्तर्गत अगाडि बढिरहेका छौं । आम नेपाली नागरिकको सहयोगी भावनालाई उजागर गर्नका निम्ति हामीले यो अभियानको आयोजना गरेका छौं । हामीले आफ्नो संस्कार र सभ्यताको परिचय दिन आफैंबाट शुरुवात गर्नुपर्ने हो । कुनैपनि व्यक्तिले कुनै व्यक्तिको कामको आलोचना नगरी नतिजा दिने गरी काम गर्नुपर्छ ।' नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै व्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष माहानन्द ढकालले वर्तमान समाजमा भइरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउँदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गरिनुपर्ने बताए । उनले यो अभियान निकै स्वागतयोग्य रहेको बताउँदै आयोजकप्रति कृतज्ञता प्रकट गरे । यहाँ रोपिएका बिरुवाले मुर्तरुप लिने बताउँदै उनले जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट बिरुवा संरक्षणका निमित्त गरिनुपर्ने उपायमा कुनै कमी नरहने पनि प्रतिबद्धता जनाए ।
यसैगरी नुवाकोट डिभिजन वन कार्यलयका वन अधिकृत रोशना पोख्रेलले कार्यक्रममा सहभागी भएर आफूले यो अभियानसँग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउँदा ज्यादै हर्षित भएको बताइन् । सो अवसरमा उनले बिरुवा कसरी रोप्ने र यसको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएकी थिइन् ।
यसैगरी कार्यक्रममा नुवाकोटका समाजसेवी तथा भरत लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष केपी लामिछानेले आफू समाजसेवी भएका कारणले आजसम्म विभिन्न कार्यक्रममा उपस्थित भएर सहयोग गर्दै आएपनि यो कार्यक्रम नितान्त आफूले सोचेको भन्दा पनि निकै फरक र समजका निमित्त अपरिहार्य रहेकाले आफ्ना महत्वपूर्ण कार्यक्रमहरुलाई थाती राखेर यस कार्यक्रममा आएको बताए । उनले आफूले सदैव समाजमा रहेर समाजलाई परेका बेला सहयोग गर्दै आइरहेको र अहिले मन्दिरमा आश्रय लियर बसेका बालबालिकाका लागि आफ्ना तर्फबाट स्कुल ब्याग वितरण गर्ने र आफ्नो निजी हस्पिटलबाट नि:शुल्क सेवा दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अतिथिका रुपमा रहेका नुवाकोटका सशस्त्र प्रहरी कार्यलय प्रमुख जगन्नाथ खड्काले स्वस्फूर्तरुपमा आफ्नो तर्फबाट मन्दिरमा आश्रय लियर बसेका बालबालिकाका लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा अतिथिहरु नुवाकोटका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराम कोइराला, नुवाकोटका राष्ट्रिय अनुसन्धान प्रमुख लक्ष्मी पौडेल, पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष धुर्व प्रसाद मिश्र, सत्यनारायण मन्दिरका अध्यक्ष तथा सञ्चालक श्री १००८ राम प्रपन्न आचार्य जियर, सत्यनारायण मन्दिरका जग्गादाता दुर्गादेवी पाण्डे, समाजसेवी पवन अग्रवाल, पत्रकार हेमराज जोशी, श्रीइन्द्रायनि माविका वि.व्य.स.का अध्यक्ष उत्तम पाठक, मनोज थापा, नारायण प्रसाद कँडेल, एलिजा लामिछानेलागायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद चौलागाईंले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies