–अच्युतप्रसाद पौडेल चिन्तन
पटक–पटक तीर्थाटन गर्ने क्रममा पंक्तिकार हालै प्यूठानको स्वर्गद्वारी पुगेको थियो । बाटो त्यति सहज त थिएन तर, नेपालका तीर्थ र धाम धेरै छन्, पुग्नै पर्ने खालका । जलको महत्वमा तीर्थ हुन्छ भने स्थलको महत्व धाम हुन्छ, यस अर्थमा स्वर्गद्वारी एक धाम हो, जहाँबाट पाण्डवहरू स्वर्गारोहण गरेका थिए । अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति । तीर्थक्षेत्र कृतं पापं बज्रलेपो भविष्यति, यसको अर्थ हुन्छ, अन्य क्षेत्रमा गरिएको पाप तीर्थक्षेत्रमा गएर धुन सकिन्छ, तीर्थक्षेत्रमा गरिएको पाप बज्र समान हुन्छ र धुन सकिन्न । भागवतको विश्राम श्लोकले ‘नाम संकिर्तनं यस्य सर्व पाप प्रणाशनम् प्रणामो दुःख शमनं तं नमामि हरिं परम्’ भनेको छ । भागवतको आद्य श्लोक भनेको ‘सच्चिदानन्दरुपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः’ हो । अर्थात् सृष्टि, स्थिति र संहारका प्रतीक, मानिसका तीन किसिमका ताप आध्यात्मिक, आदिदैविक र आधिभौतिक ताप शमन गर्ने श्रीकृष्णलाई नमन र भगवत् नामले जीवका सबै पापहरू नाश हुन्छन् भन्ने यी बाक्यहरूको मर्म हो । त्यसैले महाकविले आर्यघाटमा अन्तिम विश्राम लिँदा भनेः ‘आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक’ । पाइलैपिच्छे देशमा तीर्थ र धामहरू छन् देश भने धर्म निरपेक्ष भएको छ, सुनको थाल लिएर भिक्षा मागिरहेको छ । मोदीले वसन्त पन्चमीको अवसर पारेर मुस्लिम देश युएइमा हिन्दु मन्रिको उद्घाटन गरेपछि अहिले त्यहाँ घुम्न जाने पर्यटकको संख्या दैनिक सात लाख छ । हाम्रो पर्यटनलाई के भन्ने यतिबेला ।
जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिन्न, त्यसैले स्कन्द पुराणले भनेको छ ‘सत्यतीर्थं क्षमा तीर्थं तीर्थमिन्द्रियनिग्रहः सर्वभूत दया तीर्थं तीर्थंच प्रियवादिता, ज्ञान तीथं तपस्तीर्थं कथितं तीर्थ सप्तकम्’ । अर्थात् मानिसको विधि व्यवहार सत्यवादिता, अरुप्रतिको क्षमाभाव, आफ्ना इन्द्रियहरूलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मिठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी सात प्रकारका तीर्थ सेवन जरुरी छ । महाभारतमा भगवन् श्रीकृष्ण युधिष्ठिरलाई भन्नु हुन्छ ‘आत्मा नदी संयमपुण्यतीर्थाः सत्योदकाः शीलतटा दयोर्भिः तत्रावगाहं कुरु पाण्डुपुत्र न वारिणा शुद्ध्यति चान्तरात्मा’ । अर्थात् आत्मा नदी हो, संयम तीर्थ हो, सत्य जल हो, दया नदीका किनारा हुन्, पानीले मात्र शुद्ध हुने होइन । अन्तरआत्मामा डुबुल्की मार्नु पर्छ, जसरी गोताखोरहरूले समुद्रको मणि लिन सक्छन्, पानीले मात्र शुद्ध हुने भए त जलचरहरूले ठूलो पुण्य कमाउँथे ।
त्यसो त गृहस्थ जीवन आफैं तीर्थक्षेत्र हो र त हाम्रा महाकविले भने ‘हाडहरूका सुन्दर खम्बा माँश पिण्डका दिवार नसा नदीका तरल तरँग मन्दिर आफैं अपार’ । माता तीर्थ, पिता तीर्थ, गुरु तीर्थ, भक्त तीर्थ, पति तीर्थ, पत्नी तीर्थ यी सबै तीर्थमा गोता लाउँदा गृहस्थ जीवन आफैूमा तीर्थ बन्छ अर्थात् बुबा आमाको सेवा, गुरुप्रतिको श्रद्धा, भक्तजनको सेवा, पति पत्नी बीचको सामान्जस्यता यी तीर्थ सेवा नै हुन् । त्यसैले स्थावर वा जंगम जुन तीर्थमा पुगे पनि हात, खुट्टाको संयम, मन, बुद्धिको संयम, विद्या र तपको संयम, सन्तोष र उपकार, दम्भ र आहारको संयम, जितेन्द्रियको भाव र व्यवहार, कुभाषण नगर्ने, खराब संगतबाट टाढा रहने, क्रोधको अभाव, मतिले गति निर्धारण गरी सत्यवादी, दृढ निश्चयी भई हर प्राणीप्रतिको दयाले ईश्वरको याद हुने हुन्छ, ईश्वरको याद भनेको गृहस्थको तीर्थको जीवन यापन हो, भनेको घरै तीर्थ हो ।
नीतिले भनेको छ ‘तीर्थानि सर्वाणि बसन्ति तत्र यत्राच्युतोद्दार कथा प्रसँग’ । अर्थात् कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीला अवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारहरूले यसैलाई जंगम तीर्थ भनेका हुन् । हजारौँ योजन (एक योजन बराबर ४ कोश) टाढाबाट गंगाको नाम लिए पनि सबै किसिमका पाप, कल्मषहरू हट्ने छन् भनिएको छ ‘गंगा गंगेति यो ब्रुयात् योजनानां शतैरपि मुच्यते सर्व पापेभ्यः विष्णुलोकं स गच्छिति’ । मूल कुरा शास्त्रको भनाइ इन्द्रिय निग्रह हो, नीतिले भनेको छ ‘आपदां कथित मार्गमिद्रियाणांमशंयम तज्जयं सुकृतं मार्गं येनेष्टं तेन गम्यताम्’ अर्थात् इन्द्रिय अशंयमी हुनु भनेको कुमार्ग र त्यसमाथिको विजय भनेको सुमार्ग हो जुन मन लाग्छ त्यही अप्नाऊ किनभने शास्त्र शस्त्र भएर आउँदैन बाटो मात्रै देखाउँछ ।
पानी ट्याँकी युवा समाज बौद्ध र कामनपा ६ नं वडाको सहकार्यमा पंक्तिकारसहित दर्जनौँ तीर्थयात्रुसहित पंक्तिकार त्यहाँ पुगेको थियो । यसअघि पनि पंक्तिकार धेरैपल्ट पुगेको क्षेत्र हो स्वर्गद्वारी । केही माथिसम्म सवारीको सुविधा छ त्यहाँ । प्राकृतिक छटामा परेको स्वर्गद्वारी महाभारतको डाँडोमा पर्छ र सूर्योदयको दुश्य देखिने गरी हामी त्यहाँ पुगेका हौँ, अघिल्लो रात्रि भिँग्रीमा बास बसेर । साविकमा पानीको असुविधा थियो, अहिले पानीलगायत राम्रो संरचना त्यहाँ पुगिसकेको छ । तीन सय बढी गाईहरू संरक्षित छन् र नित्य हवनादि, रुद्री एवम् सत्संग कार्य भइरहन्छ । भारतीयलगायत धेरै तीर्थयात्रुहरू पुग्ने गरेका छन् । स्थानीय गौतम थरका एक व्यक्तिले साधनास्थल बनाएपछि चर्चामा आएको यो स्थलको महत्व भने आदिम पुराण एवम् धर्मशास्त्रहरूले नै गरेका हुन् ।
सप्तर्षि, अष्ट चिरन्जीविलगायत महभारत कालमा पाण्डवहरूको विशेष तपस्थली रहेको यो स्वर्गद्वारी निकै पावन मानिन्छ र धर्मभीरूहरू जीवनमा एकपल्ट भए पनि त्यहाँ पुग्ने प्रण गर्छन् । पूर्व पश्चिम राजमार्ग नारायणघाट बुटवल सडक अहिले निकै खराब अवस्थामा छ । यसलाई जसोतसो छिचोल्दै बीच–बीचमा बास बस्दै राप्तीको भालुवाँगबाट झण्डै ६५ किलोमिटर रोल्पा रोड हुँदै उत्तर लागेर हामी भिँग्री पुगेका हौँ र भिग्रीबाट १५ किलोमिटर जति उकाली चढ्दै स्वर्गद्वारीको शिखरमा पुग्न सकिन्छ । डेढ किलोमिटर जति दायाँ–बायाँ भक्तजनहरू, दाताहरूबाट बनाइएको स्टिल बार समाउँदै, सिँढी चढ्दै बूढाबूढीहरू पनि शिखर पुगेको पंक्तिकारले देखेको थियो । लालिगुराँसले हामीलाई पनि स्वागत गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies