दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : महोत्तरीको मटिहानीस्थित जरलहवाहत्तामा आगलागी हुँदा १२५ घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट थप १५० बढी घरमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । जलेका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए । यसकारणले पनि आगो नियन्त्रणमा आउन समय लागेको बताइन्छ ।
प्रहरीका अनुसार जरलहवाहत्तामा भएको आगलागीबाट १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट आवासबीहिन भएकाहरु बिचल्लीमा परेका छन् । धनमाल नष्ट भएका व्यक्ति अति गरिब र विपन्न परिवार हुन् । उनीहरुका लागि खाने र बस्ने दुवै समस्या भएको छ ।
आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट एउटा दमकल ल्याइएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए । प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आएको छ ।
दिउँसो एक बजेको समयमा लागेको आगो साँझ ६ बजेपछि नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आएसँगै सरकारी निकाय र स्थानीयहरु प्रभावितको व्यवस्थापनमा लागेका छन् ।
आगलागी नियन्त्रणका लागि समेत दमकल लगायतका उपकरण र जनशक्तिको अभाव महसुस भएको मटिहानी वडानम्बर ६ का वडा अध्यक्ष कलिम अंसारी बताउँछन् ।
‘तर, दक्ष जनशक्ति हामीकहाँ थिएन । दमकल पनि टाढाबाट ल्याउनुपर्यो । ठूलो क्षेति भइसकेपछि आगो नियन्त्रणमा लियौं । अझ ठूलो क्षेति हुनबाट रोक्यौं’ उनी भन्छन्, ‘स्थानीय सरकार र सुरक्षा निकायले सक्दो गरेका छन् ।’
राहत लगायतका विषयमा प्रदेश सरकारबाट आश्वासन आएको तर, ठोस केही नभइसकेको उनले बताए । संघीय सरकारसँग कुनै समन्वय आफूहरुको नरहेको पनि उनले दुःखेसो गरे ।
‘प्रदेशका एक जना मन्त्रीले आश्वासन दिनुभएको छ । प्रदेशबाट केही खबर आएको छैन । दुःखमा प्रदेश सरकार र संघ सरकारले सम्झिएला भन्ने अपेक्षा छ ।’
मटिहानीमा तत्काल आवास र खानपासको समस्या भएको उनले बताए । केही खाने कुरा नजिकका टोलबाट आएका छन् । तर, कतिले पाउँछन पाउँदैनन् त्यो भन्न सकिँदेन ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गर्मी याम लागेसँगै देशका बिभिन्न क्षेत्रमा आगलागिका घटनाहरु बढेका छन् । गत चैत र चलू वैशाख महिनामा गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पालगायत जिल्लाका विभिन्न ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् ।
आगलागी भएका क्षेत्रमा स्थानीय सरकारले उपस्थिति जनाएको छ । तर, स्थानीय सरकारसँग विपदका बेला त्यसलाई नियन्त्रणमा लिनसक्ने दक्ष जनशक्ति र स्रोतसाधन नभएको स्थानीय सरकारको गूनासो रहँदै आएको छ ।
सरकारी तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमध्ये ६३१ वटासँग दमकल समेत छैन । यस्तो अवस्थामा प्रदेश र संघीय सरकारले सक्रियता देखाउनुपर्ने हुन्छ । तर, नागरिकको दुखःमा प्रदेश र संघ सरकार बेखबर रहेको आगलागी र डढेलो प्रभावितहरुको दुःखेसो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा भएका आगलागीमा परेर १५ जनाको मृत्यु भएको तथ्याङ्क छ । तर, यसबीचमा बसेको संघीय मन्त्रिपरिषद् बैठकमा यो विषयमाथि छलफल भएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies