मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : नेपाल सुन चाँदी महासंघको पछिल्लो रेकर्डअनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रूपैयाँ कायम भयो । यो मूल्य अघिल्लो साताभन्दा केही घटेको हो । यसअघि बैशाख ७ गते शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय मा सुन कारोबार भएको थियो । त्यसअघि वर्षको पहिलो कारोबार दिन बैशाख २ गते आइतबार १ लाख ३६ हजार ८ सय कायम थियो । नेपाली बजारमा सुनको माग बढ्ने मौसममा यसरी लगातार सुनको भाऊ बढ्दा उपभोक्ता मारमा परेका छन् ।
एक दशक अगाडि मात्रै नेपाली बजारमा सुनको भाऊ प्रतितोला ६० हजार वरिपरी थियो । २०७० साल भदौ दोस्रो साता सुनको भाऊ प्रतितोला ६० हजार पुगेको रेकर्ड छ । त्यसपछिका वर्षहरूमा सुनको भाऊ लगातार उकालो छ । २०७६ साल असोज तेस्रो साताको रेकर्ड हेर्दा सुनको भाऊ प्रतितोला ७० हजारकै वरिपरी थियो । अन्तर्राष्ट्रिय बजारमा आर्थिक संकट आएसँगै पछिल्ला वर्षमा केही वर्षमा भनेको सुनको भाऊ उच्च बृद्धि भएको छ ।
२०७७ सालको असार पहिलो साताको रेकर्डअनुसार सुनको भाऊ ९० हजार नाघेको देखिन्छ । त्यसको एक महिनामै साउन तेस्रो सातामा १ लाख नाघेको रेकर्ड छ । २०७८ फागु २५ गतेको रेकर्ड अनुसार सुनको भाऊ प्रतितोला १ लाख ५ हजार ५ सय रूपैयाँ कायम गरिएको छ । करिब एक वर्षअघि २०७९ चैत पहलो साता सुनको भाऊ प्रतितोला १ लाख १० हजार पुगेर नयाँ रेकर्ड कायम भयो । रेकर्डअनुसरा २०८० सालमै सुनको भाऊ प्रतितोला २० हजार भन्दा बढीको बढेको देखिन्छ । २०८० को पहिलो दिनको कारोबार १ लाख १० हजारले भएकोमा वर्षको अन्तिम दिन प्रतितोला १ लाख ३९ हजारले सुन कारोबार भएको छ । यसले यस वर्षमा मात्रै सुनको भाऊ प्रतितोला २९ हजार रूपैयाँ बढेको छ ।
९ महिनामा १६ अर्ब १२ करोडको सुन आयात
चालू आर्थिक वर्षको ९ महिनामा नेपालमा १ हजार ९ सय १ किलो सुन आयात भएको छ । १६ अर्ब १२ करोड २५ लाख ८२ हजार बराबरको उक्त सुनबापत २ अर्ब ४१ करोड ८४ लाख ०९ हजार राजश्व संकलन भएको छ । उक्त अवधिमा ११ करोड ६१ लाख २१ हजार रूपैयाँ बराबरको १ हजार २ सय २३ किलो चाँदी आयात भएको छ । सो चाँदीबापत १ करोड ७४ लाख २८ हजार राजश्व भएको छ ।
गत आर्थिक वर्ष २०७९/८० भरीमा २ हजार ९ सय १६ किलो सुन आयात भएको तथ्यांक छ । २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रूपैयाँ बराबरको उक्त सुनले २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार राजश्व संकलन भएको छ ।
यसैगरी गत आर्थिक वर्षमा १५ हजार ४ सय ३० किलो चाँदी आयात भएको छ । १ अर्ब ५१ करोड ८० लाख ७८ हजार बराबरको उक्त चाँदीबापत सरकारले १८ करोड १० लाख ८१ हजार राजश्व संकलन गरेको थियो ।
लगानीकर्ता सुनतिर !
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी आकर्षण बढ्दै जाँदा भाऊमा लगातार बृद्धि भएको छ । सामान्यतया अमेरिकी केन्द्रिय बैंकले ब्याजदर बढाउँदा विश्व बजारमा सुनको माग घट्न जान्छ । बजार माग घट्दा मूल्य पनि घट्न जान्छ । यदि त्यहाँका केन्द्रिय बैंकले ब्याजदर घटाउने भने लगानीकर्ताहरू सुनमा आकर्षित हुन्छन् र सुनको माग बढ्न जान्छ ।
संसारभर नै सुनलाई सुरक्षित सम्पत्तिको रुपमा मानिने हुँदा अन्य क्षेत्रमा क्षेत्रमा लगानीको सुरक्षामा संसय पैदा हुन्छ त्यस्तो बेलामा सुनमा लगानी बढ्न जान्छ । अन्तर्राष्ट्रिय बजारमा उच्च मन्दी हुँदा अन्य क्षेत्रमा लगानी सुरक्षा नहुँदा सुनमा लगानी बढेको बताइन्छ । यसको प्रत्यक्ष प्रभाव नेपालजस्तो देशहरू पर्ने गरेको छ । नेपाली बजारमा सुनको माग गहनाका रूपमा मात्रै हुने गरे पनि पछिल्ला केही वर्षयतालगानीका रूपमा पनि सुन किन्ने गरेको सरोकारवाला बताउँछन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च छ । तर, नेपालमा पनि सुनमा लगानी बढिरहेको छ । लगानीका लागि अन्य सुरक्षित क्षेत्र नभएपछि लगानीकर्ताको आकर्षण सुनमा बढेको हो ।’
उनकाअनुसार नेपाली बजारमा गहनाका रूपमा सुन किन्नका लागि पहुँच गुम्दै गए पनि माग भने केही घटेको छ । बज्राचार्यले भने, ‘नेपाली बजारमा कोरोना महामारीदेखि नै सुनको बजार सुस्त थियो । अहिले त लगानी भन्दा पनि अत्यावश्यक बेला बाहेक सुनमा लगानी गर्नेहरू कमै छन् ।’
अर्को कुरा, सुनको मूल्य बढ्दा विदेशी विनिमय सञ्चिति घट्छ । बाहिर विदेशबाट मानिसहरूले कमाएर ल्याएको पैसा विदेशी विनिमय सञ्चितिको रूपमा जम्मा हुन्छ । त्यही विदेशी विनिमय सुनमा खर्च गर्नुपर्ने हुँदा अन्य बस्तु तथा सेवाको आयातका लागि समस्या हुन्छ । विश्व बजारमा हुने मागको आधारमा सुनको मूल्य निर्धारण हुने गर्छ । अमेरिकी डलरको बढेको बेला अन्तर्राष्ट्रिय बजामा कम नै छ भने पनि यहाँ बढ्न जान्छ भने डलरको भाउ घटेको बेला अन्तर्राष्ट्रिय बजारमा मूल्य बढी नै भए पनि यहाको मूल्यमा केही राहत प्राप्त हुन्छ ।
सुनको भाऊ घटबढ हुनुमा अन्तर्राष्ट्रिय अर्थतन्त्रको प्रमुख भूमिका रहन्छ । विशेष गरी अमेरिकी अर्थतन्त्रमा निर्भर रहने सुनको भाऊ दशकदेखि नै लगातार उकालो छ । सन् १०३० मा विश्व अर्थतन्त्रमा गम्भीर मन्दी थियो । तथ्यांकअनुसार विश्व आर्थिक मन्दीको चपेटाबाट माथि उठ्ने समयमा सन् १९३३ मा सुनको मूल्य ३५ डलर प्रतिआउन्स थियो । सन् २०११ मा आइपुग्दा प्रतिआउन्स १९२४ डलर पुग्यो । पछि सन् २०१६ मा १०५० डलरमा झरेको सुनको मूल्य बढेर अहिले प्रतिआउन्स २३ सय ४० डलर मूल्यमा कारोबार भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies