शिव विक/मध्यान्ह
काठमाडौं : सरकारी विज्ञापन राष्ट्रिय स्तरको पत्रिकामा छाप्नुपर्ने व्यवस्थाले निरन्तरता पाउने भएको छ । यसअघि सरकारले सम्बन्धित कार्यालयको वेबसाइट (अनलाइन) मा सरकारी सूचना राखे पनि हुने गरी निर्देशिका जारी गरेको थियो ।
उक्त निर्देशिकाले दीर्घकालमा लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुन सक्ने भन्दै सर्वोच्च अदालतमा रीट निवेदन परेको थियो । उक्त निर्देशिका बदरको माग गर्दै अधिवक्ता सविन पोख्रेलले रीट निवेदन दायर गरेका थिए । उक्त रीटमाथि गत २० पुस २०८० मा सुनुवाई गर्दै न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले अनलाइनबाट मात्र सरकारी विज्ञापन गर्ने प्रावधान सम्बन्धी कार्यविधि बदर हुने आदेश गरेको थियो ।
उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । सर्वोच्चको आदेशसँगै अब सरकारी बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ ।
सार्वजनिक खरीद ऐन अनुसार सरकारको ढुकुटीबाट खर्च हुने विषय राष्ट्रिय स्तरको पत्रिकामै छाप्नुपर्ने व्यवस्था छ । ऐनको दफा १४ मा बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्र्तराष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिन्छ ।
यो व्यवस्था खारेज हुनेगरी सरकारले विद्युतीय खरीद प्रणाली सञ्चालन निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकाको विवादित दफा ५ र ४५ बदर सर्वोच्च अदालतले बदर गरिदिएको हो ।
निर्देशिकाको दफा ५ मा सरकारी कोषको प्रयोग गरी खरीद गर्ने संस्थाले खुला रुपमा बोलपत्र वा पूर्वयोग्यता वा प्रस्ताव आह्वान गरी निर्माण कार्य वा मालसामान वा परामर्श सेवा वा अन्य सेवा खरीद गर्दा विद्युतीय खरीद प्रणाली मार्फत् गर्न सक्ने उल्लेख थियो । दफा ४५ मा अन्य माध्यमबाट सूचना प्रकाशन गर्न नपर्ने भनेर अनलाइनमा सूचना राखे हुने भनेको थियो । यसलाई पनि अदालतले बदर गरिदिएको हो ।
नेपालको सरकारी विज्ञापन बजारको दायरालाई खुम्च्याएर प्रतिस्पर्धालाई समेत निरुत्साहित गरी विज्ञापन बजारमा एकाधिकार ल्याउन खोजेको निर्देशिकाका विवादित दफा खारेज भएसँगै सरकारी विज्ञापन राष्ट्रिय स्तरको पत्रिकामा छाप्नुपर्ने भएको हो ।
https://supremecourt.gov.np/court/public/media/2024_04/3f01ae8354b40121aac7041fb44df3bb.pdf
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies