सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : जङ्गबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने बल्कोटको पौवा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवा पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ तथा अन्य मन्दिरहरू समेत रहेका छन् । विक्रम संवत १९०४ सालमा निर्माण गर्न शुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिरहरू निर्माण गरिएको थियो ।
जङ्गबहादुरको बुबा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्लामा खटाइएको थियो । जुम्लामा उनी श्रीमतीलाई लिएर गएका थिए । जुम्लामै रहँदा उनकी श्रीमती गर्भवती भइन् । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । जुम्लाबाट माइती गोरखा जाने क्रममा अर्घाखाँचीको वाङ्गलामा रहेको लामपाटी अर्थात मथुरामा १८७४ सालमा जङ्गबहादुरको जन्म भएको थियो । त्यसबेला लामपाटीमा घनघोर जंगल रहेकाले नजिकैका पाण्डे थरका कृषकहरूले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाई राखिएको थियो । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरूले न्वारन गराएर बालकको नाम वीरनरसिंह राखेको संस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराईले बताए । सुत्केरी दरिली भएपछि जङ्गबहादुरकी आमा माइती गोरखा गएकी थिइन् । पछि वीरनरसिंह जङ्गे स्वभावको भएको हुनाले उनको नाम जङ्गबहादुर रहेको उनको भनाइ छ ।
जङ्गबहादुरको जन्म कतिले गोरखामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । तर उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरूको भनाइ रहेको छ । इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराले जङ्गबहादुर लाम्पाटीमा जन्मिएको र बल्कोटको पौवामा आएर न्वारन भएको र पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
पौवाको विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरू प्रोफेसर पन्त र जबराको विश्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेश गरिएको उनले बताए । आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जङ्गबहादुर आफैंले कर्णेल सनदसिंहलाई लगाएका थिए ।
पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनका लागि सयौं बिगाहा जमिन गुठीमा समेत रहेको छ । केही समय अघिसम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । अहिले पूजाआजा भइरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको छ ।
पौवामा काठका आकृतिमा यौन अङ्ग र विभिन्न यौन आसन देखाइएको छ । पौवा निर्माण गरेका कालीगढको हात राणाकै पालामा काटिएको पनि स्थानीयहरु बताउँछन् । पौवा निकै आकर्षक भएकाले ती कालीगढले त्यस्तै कलात्मक पौवा अन्य स्थानमा बनाउन नसकुन् भन्ने हेतुले कालीगढको हात काटिएको भनाए रहेको भएता पनि कसले, कहिले, कसको हात काटेको भन्ने इतिहासकारले उल्लेख गरेका छैनन् ।
कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैंचा, पाल्पा अर्गलीको बगैंचा, जोर्तेको पौवा र बाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराईले बताए ।
बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा.गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचार प्रसारमा अघि बढ्न खोजे पनि पर्याप्त हुन नसकेको स्थानीय पीताम्बर खनालले बताए । लामो इतिहास बोकेको क्षेत्र भए पनि प्रचारप्रसारमा कसैले चासो नदिएको उनको भनाइ छ ।
जङ्गबहादुर जन्मिएको स्थानमा समेत आकर्षक पौवा निर्माण गरिएको छ, जसलाई लामपार्टी भनेर चिनिन्छ । यसको महत्व समेत ओझेलमा परेको छ ।
सन्धिखर्क–बल्कोट–तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवा सदरमुकाम सन्धिखर्कदेखि १८ किलोमिटरको दुरीमा पर्दछ । सदरमुकामदेखि पक्की सडकको पहुँचमा रहेको ऐतिहासिक पौवाको प्रचारप्रसार गर्न सकेमा पर्यटनको प्रचुर सम्भावना रहेको जानकारहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies