दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : ७६ प्रतिशत नेपाली स्वच्छ पिउनेपानीको पहुँचबाहिर रहेको पाइएको छ । खानेपानी मन्त्रालयले हालै गरेको वार्षिक समीक्षाअनुसार ७६ प्रतिशत नेपाली स्वच्छ पिउनेपानीका पहुँचबाहिर छन् । यो विगतको तुलनामा सुधार भएको तथ्याङ्क रहेका सरकारी अधिकारीहरु बताउँछन् ।
खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर मधु तिमिल्सिना अन्तराष्ट्रिय प्रतिवद्धता र मानव स्वास्थ्यको मापन लगायतका दृष्टिमा खानेपानीको पहुँचबारे अध्ययन गरिएको हो ।
उनी भन्छन्, ‘अन्तराष्ट्रिय प्रतिवद्धता, मानव स्वास्थ्य लगायतका मापनका दृष्टिले २६ प्रतिशत जनसंख्या स्वच्छ र गुणस्तरीय खानेपानीको पहुँचमा छन् । बाँकीले पिउनेपानीमा किटाणु छैन भन्ने विश्वास गर्न नसकिने अध्ययनले देखाएको छ ।’
तिमिल्सिनाका अनुसार बार्षिक रुपमा खानेपानीको अवस्थाको बारेमा अध्ययन गर्ने गरिएको छ । २०८० सालमा गरिएको अध्ययनले ७६ प्रतिशत नेपाली स्वच्छ पिउनेपानीको पहँुचबाहिर रहेको देखाएको हो । यो विगतको तुलनामा केही सुधार भएको तिमिल्सिना बताउँछन् । भन्छन्, ‘बार्षिक रुपमा खानेपानीको अवस्थाको बारेमा अध्ययन गर्ने गरिएको छ । त्यसको आधारमा यो तथ्याङ्क आएको हो । विगतका वर्षहरुमा भन्दा यो केही सुधार हो ।’
खानेपानी मन्त्रालयका अनुसार पुराना पाइपलाइन तथा पुराना ट्याङकीका कारणले समेत स्वच्छ खानेपानीको पहुँचलाई असर गरेको छ । एक सय वर्ष पूराना पाइपलाइन र पानीका ट्याङकी रहेको अध्ययनले देखाएको छ । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा समेत खानेपानीका स्रोत बढी प्रदूषित हुने गरेको छ । नागरिकहरुमा पानी फिल्टर नगर्ने, शुद्धीकरण नगरी पिउने लगायतका प्रवृत्ति समेत रहेको देखाइएको छ ।
खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तिमिल्सिना गुणस्तरीय खानेपानीको पहुँच वृद्धि गर्न सरकार लागि परेको बताउँछन् । संविधानले नै स्वतन्त्र खानेपानीलाई नागरिकको मौलिक हक अन्तर्गत राखेको छ । संविधानको धारा, ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचको हक हुने भनिएको छ । यसकारण पनि सरकार गम्भीर रहेको तिमिल्सिनाको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies