भरत प्रधान/मध्यान्ह
लिस्बन : पोर्चुगलमा सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । शव केही दिनअघि भेटिएको भएपनि उनको पहिचान भने बुधबार मात्र खुलेको भट्टराईले बताए ।
बेपत्ता भएका तामाङको करिब दुई सातादेखि सामुद्रिक क्षेत्रमा खोजीकार्य भइरहेको थियो । गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।
परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवम् विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन् । दुवैको शव नेपाल पठाउन ७ हजार युरो खर्च लाग्ने र सो खर्च व्यवस्थापनका लागि यहाँ स्थित नेपाली संघ–संस्थाको समन्वयमा आर्थिक संकलन शुरु गरिएको काफ्लले बताइन् ।
वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकै पर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलाको शवगृहमा राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies