-प्रताप शर्मा
कहिले जातको नाममा, कहिले क्षेत्रियताको नाममा र लिंगको नाममा राजनीति गर्नेलाई के १६ करोडको मोटर खरीदले केही फरक पार्ला त ? उनीहरुलाई यो राजनैतिक खुराक त बन्यो तर उनीहरु बेखुस भने छैनन् किनकी उनीहरु संस्थागत भ्रष्टचारमै छन् । तपाईं हामी यही देशको जनता जहाँ एउटा कर्मचारीले चार अर्बको भ्रष्टचार गर्छ, अब आफै भन्नुस् नदेखिएका पानाहरु खोल्दै जाने कि १६ करोडमै भुल्ने ? १६ करोडको संस्थागत भ्रष्टचार यहाँ दिनहुँ हुन्छ । हुँदाहुँदा छोरोलाई ३५ रुपैयाँ दिएर दुध किन्न पठायो भने ३२ रुपैयाँमा दुध किनेर ३ रुपैयाँ कमिशन खाने त्यो संस्कार आज धेरै परिवारमा देखिन्छ । त्यो नै संस्थागत भ्रष्टचारको स्कुलिङ् हो । राज्यले नै संस्थागत भ्रष्टचार स्कुलिङ् गरिरहेको छ ।
सत्य तितो हुन्छ र पिरो पनि हुन सक्छ जसलाई चाहेर वा नचाहेर हामीले स्विकार गर्नैपर्छ । गणेशमान सिंहले कुनै बेला नेपाली जनतालाई भेडा भन्नु भएकै हो । म त्यही देशको नागरिक हुँ । हो, म त्यही देश नागरिक हुँ जुन देशले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पागलको पगरी थमाइदियो । यो त्यही देश हो र म यहाँकै नागरिक, मलाई यसमै खुशी छ । यहाँ कसलाई कुन अर्थमा र कसैलाई कुन अर्थमा चिनाइदिन्छ , यो नै हाम्रो समाजको बिशेषता हो । प्रजातन्त्र प्राप्तिका निम्ति लड्ने महान व्यक्तित्व कृष्णप्रसााद भट्टराई जसलाई ’दुध मिल्छ भने गाई किन पाल्ने’ यो उपमाले नै सबैमाझ चिनाइदियो । हो, म त्यही देशको नागरिक जहाँ किशुनजीले संघर्ष गरेर ल्याइदिएको प्रजातन्त्रमा बसेर आज लेख्दैछु । संसदीय व्यवस्था स्विकार गरिसकेपछि १६ करोडको मोटर किन्दा यति ठूलो रोइलोको के आवश्यक छ ?
वामपन्थी संसदीय व्यवस्थाको बिरोध हिजोपनि गर्थे र आजपनि गर्छन् । सम्भवतः भोलि पनि गर्नेछन् । यो व्यवस्थामानै विश्वास नहुनेले यो व्यवस्थामा रही आएका गलत संस्कारको बिरोध गर्नु जायज हो या नाजायज ? यही व्यवस्था स्विकारी सकेपछि सबै जायज नै हुन्छ किनकी भन्ने गरिन्छ बिष र बिषको समयोजन अमृतको निर्माण हो रे । लेनिनलाई सम्झेर संसदिय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्ने कम्युनिष्टले यो १६ करोडलाई नाजायज भन्नु पर्ने कहिकतै छ र ? जब समस्या नै व्यवस्थामा छ तव व्यवस्थाभित्रको संस्कारलाई प्रश्न उठाउनुको औचित्य हुन्छ कि हुँदैन ?
आज यो कलमले यही संसदीय व्यवस्था अन्तर्गत राष्ट्रपतिले १६ करोडको मोटर किन्नु त्यति आपत्ति मानेन किनकी सत्ता र शक्तिको चरम उपयोग त्यहाँ पुग्ने जो कोहीले गर्छन् । किनकी म त्यो देशको नागरिक जुन देशमा सभासद र मन्त्रीले म जोगी हुन राजनीति गरेको हुँ भन्छन् , यिनै नेतालाई महान देख्दै बारम्बार भोट हालेर जिताइदिने हामी नागरिकले त्यो १६ करोडलाई स्विकार्दा पनि केही फरक पर्ला र हजुर ? हिजो जनवादी शिक्षा भन्दापनि साथ दिने म जस्ता जनता र उनैलाई शिक्षामन्त्री बनाएर निजी विद्यालय र कलेजमा उनले ’यही हो जनवादी शिक्षा’ भन्दापनि ताली बजाउने म जस्ता जनताले १६ करोड दिनुलाई नाजायज सोच्लान त ? राज्यले कर असुलेर जनतालाई सेवा नदिने यो सरकार अनि यो राज्यको लुट आँखा अगाडि नै छ तैपनि हामी चुँईक्क बोल्दैनौ अनि हामीलाई त्यो १६ करोडको किन वास्ता ? होइन त, एक चोटि आँफैलाई प्रश्न गरौ न ?
कहिले जातको नाममा , कहिले क्षेत्रीयताको नाममा र लिंगको नाममा राजनीति गर्नेलाई के १६ करोडको मोटर खरीदले केही फरक पार्ला त ? उनीइहरुलाई यो राजनैतिक खुराक त बन्यो तर उनीहरु बेखुस भने छैनन् किनकी उनीहरु संस्थागत भ्रष्टचार मै छन् ।
तपाईं हामी यही देशको जनता जहाँ एउटा कर्मचारीले चार अर्बको भ्रष्टचार गर्छ , अब आफै भन्नुस् नदेखिएका पानाहरु खोल्दै जाने कि १६ करोडमै भुल्ने ? १६ करोडको संस्थागत भ्रष्टचार यहाँ दिनहुँ हुन्छ । हुँदाहुँदा छोरोलाई ३५ रुपैयाँ दिएर दुध किन्न पठायो भने ३२ रुपैयाँमा दुध किनेर ३ रुपैयाँ कमिशन खाने त्यो संस्कार आज धेरै परिवारमा देखिन्छ । त्यो नै संस्थागत भ्रष्टचारको स्कुलिङ हो । राज्यले नै संस्थागत भ्रष्टचार स्कुलिङ गरिरहेको छ । स्वर्गीय गिरिजा प्रसाद कोइरालाले सर्वोच्च अदालत सिंहदरबारमा सार भनेर मिडियाबाट नै भन्नु भएको थियो । आज आएको शान्ति र संविधानमा त्यसैको वाक स्वतन्त्रतालाई प्रयोग गर्दै यो लेख लेख्दै छु । आलोचकलाई यहाँनेर नै लाउडा काण्डको याद आउन सक्छ । अर्को राजनैतिक धार बोक्नेलाई महाकाली सन्धीको याद आउन सक्छ । पायल चप्पल लगाएर आदर्शका गफ चुट्दै हिंड्ने बेकामीहरु राजनीति गरेकै भरमा करोडौको बंगला र पजेरो गाडीमा कसरी पुगे त, के त्यहा छैन भ्रष्टचार ? अनि यिनै भ्रष्टले राज्यको ढुकुटीमाथि रजाई गर्दा यो रोइलो किन ? संसदीय व्यवस्थामा यिनै राजनैतिक दलालको बोलबला हुन्छ । कारबाही प्रकृयामा बोलौ त, को को यहाँ मुसिन्छन् ? हामी ललिपपको गुलियोलाई नै प्रमुख समस्या मान्छौ, समस्या त्यो भकारीको खुदोमा नै छ ।
शहीद हुने पनि गरीब जनता कै छोरा छोरी हो, कुन वरिष्ठ नेताका छोरा छोरीले बलिदान गरेका छन त ? सोझा साझा नेपाली जनतालाई मानव ढाल बनाएर प्रयोग गर्दै आफ्नो अभिष्ट पुर गर्ने यिनै राजनैतिक पटके , बम बहादुर , सकेटे , फुलमाया र बमकुमारी हुन कि होइनन ? यिनीहरुबाट यो व्यवस्थाको चरम दुरुपायोग हुनुलाई म अनौठो र असान्दर्भिक मान्दिन किनकी हामीले नै लुट , ठग, चोर भनेर बारम्बार यो पद्दत्तिमा उनलाई जिताइदियांै । यहाँ १६ करोड मात्र होइन दिनहुँ १६ करोड भ्रष्टचार हुन्छ त्यसको आवाज उठाउने कसले ? पार्टीको २ प्लेट मासु र चिउरामा भजन गाउँने हनुमानबाट खबरदारी हुन्छ भन्ने मलाई लाग्दैन र लागेको पनि छैन । ति जातिवादबाट हुर्केका जातिवदी राजनीति गर्दै हुर्केकाहरु जसले यो देशलाई सोमलिया , हैटी र कोङगो बनाउन चाहन्छन् उनको हिजो पनि गर्थे र आजपनि गर्छु किनकी त्यो जातिवाद ,क्षत्रीयतावाद भन्दामाथि राष्ट्रवाद छ ।
कलमका तरवारले दुनियाँमा धेरै दरबार ढलेका छन् । शायद यो नै कलमको चमत्कार हो । म कलमको रुप रङ भन्दापनि त्यो कलमबाट रचित त्यो रचनाको सम्मान गर्दछु किनकी त्यो रचना नै परिवर्तनको बाटो हो । सकरात्मक र नकरात्मक सोच्ने र अभिव्यक्त गर्ने त्यो व्यक्तिको चेतनास्तरको परिणाम हो । यो कलम आलोचना कै बिचमा चल्दछ र आलोचनाले नै वस्तुभित्रको चेतनाको निर्माण गर्दछ । यदि म्यक्स वेबेरकै सिद्दान्त र हेगेल कै सिद्दान्त स्विकार भएको भए कार्ल माक्र्सको उदय हुने थिएन । हिजो देङ सियाओ पिङलाई बामपन्थी नै नसोच्नेहरु पनि आज आधुनिक चीन निर्माणको परम पिता स्विकार्दै उनकै अनुयायी बन्नुमा केही रहस्य त होला ? रोजा लक्जेमबर्गलाई जीवनभर संसोधनवादी देखे पनि अन्त्यमा उनलाई चील देख्नु भएको थियो भलादमिर लेनिनले । भलादमिर लेनिनले रोजा लक्जेम्बर्गलाई सम्झिदै यस्तो भन्नु भएको छ , “ चील कहिलेकाही कुखुरा भन्दापनि तलबाट उडेको देखिन्छ तर कुखुरा कहिल्यैपनि चील उडेको जति माथि उड्न सक्दैनन् , उहा आफ्ना गल्तिको बाबजुद् पनि हाम्रो लागि चील हुनुहुन्थ्यो’
एउटा कक्षा कोठामा कांग्रेस समर्थित शिक्षकले पढाउदै हुनुहुन्छ र कम्युनिष्ट विद्यार्थी छ भने उसले गुरुको अध्यापनमा भन्दा उहामा समस्या देख्दछ किनकी विरोधको हाम्रो चेतना त्यसरी विकास भयो । आफ्नो कट्टु खस्यो भनेर आफुलाई लाज हुनुको सट्टो अरुलाई पर्ने लाजको अनुभूत गर्ने हाम्रो चेतनास्तरलाई सलाम गर्नपर्ने होला , हैन त ? मैले उठाउन खोजेको बिषय बस्तु व्यंग्यात्मक शैलीमै हो । क्रिया र प्रतिक्रिया नै विचारको मन्थन हो । जसले जसरी बुझ्नुभयो सबैलाई धन्यवाद दिन चाहन्छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies