
रौतहट : नेपाल-भारत सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी-पैठारी तथा तस्करी नियन्त्रण अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपालले ईशनाथ नगरपालिकामा ठूलो परिमाणको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामपुरखापबाट खटिएको विशेष गस्ती टोलीले करिब चार लाख रुपैयाँ मूल्याङ्कन गरिएको अवैध नयाँ कपडा नियन्त्रणमा लिएको हो।
बिओपी रामपुरखापका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विशाल मिश्राको कमान्डमा खटिएको सुरक्षा टोलीले बुधबार बिहान करिब ५:३० बजे ईशनाथ नगरपालिका वडा नं. ६ स्थित जयनगर गाउँ नजिकै रहेको आप बगैँचा क्षेत्रबाट उक्त अवैध कपडा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारततर्फबाट भन्सार छली गरी गैरकानुनी रूपमा नेपालतर्फ भित्र्याइँदै गरेको अवस्थामा सीमावर्ती आँप बगैँचामा लुकाएर राखिएको तथा ओसार्ने तयारी भइरहेको सूचनाका आधारमा गस्ती टोली सो स्थानमा पुगेको थियो। गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई टाढैबाट देखेपछि अवैध सामान ओसारपसारमा संलग्न तस्करहरू र भरियाहरू कपडाका पोकाहरू छाडेर भारतीय सीमातर्फ भाग्न सफल भएका थिए।
सशस्त्र प्रहरी टोलीले स्थलगत मुचुल्का गरी नियन्त्रणमा लिएको कपडाको बजार मूल्याङ्कन करिब रु. ४ लाख रुपैयाँ कायम गरिएको छ। नियन्त्रणमा लिइएका लत्ताकपडा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी थप कारबाही तथा लिलाम प्रक्रियाका लागि जिल्लास्थित गौर भन्सार कार्यालयमा बुझाइसकिएको बी.ओ.पी. रामपुरखापले जनाए ।
नेपालीहरूको महान् चाडपर्पका बेला सीमापारिबाट कपडा, खाद्य सामग्री तथा अन्य उपभोग्य वस्तुहरूको अवैध चोरी-पैठारी बढ्नसक्ने सम्भावनालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। रामपुरखापसहित रौतहटका सम्पूर्ण सीमावर्ती नाकाहरूमा सशस्त्र प्रहरीले गस्ती निगरानी तथा एम्बुस टोली परिचालन गरी सीमापार अपराध तथा तस्करी नियन्त्रणमा सक्रियता बढाएको छ।