२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

हवाई उद्धारको यति ठुलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो : रवि

Nada
२०८३ भदौ २४ गते १४:५९
Shares
हवाई उद्धारको यति ठुलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो : रवि

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले हालैको विपद्पछिको प्रतिकार्यमा सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले विपद्को समयमा सरकारलाई सत्ता–प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट मूल्यांकन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे ।

ncell

लामिछानेका अनुसार विपद् सुरु भएको प्रारम्भिक घण्टादेखि नै सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरी उद्धार, उपचार र राहतका काम तीव्र गतिमा अघि बढाएको थियो । प्रभावित क्षेत्रमा हजारौं सुरक्षाकर्मी तत्काल खटिएको उल्लेख गर्दै उनले हवाई उद्धार अभियान पनि अघिल्ला घटनाको तुलनामा निकै व्यवस्थित र प्रभावकारी भएको दाबी गरे । उनले भने, 'हवाई उद्धारको यति ठुलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।'

उनले घाइतेहरूको उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था तथा खाद्यान्न आपूर्तिमा सरकारको सक्रियता देखिएको भन्दै यसमा प्रश्न उठाउने आधार आफूले नदेखेको बताए । कठिन भौगोलिक अवस्था, सडक तथा सञ्चार अवरोध र प्रतिकूल मौसमका बाबजुद पनि राहत तथा उद्धार टोली प्रभावित नागरिकसम्म पुग्न सफल भएको उनको भनाइ छ ।

लामिछानेले ‘राज्य कहाँ छ?’ भन्ने प्रश्न उठाउनेहरूलाई लक्षित गर्दै राज्यको उपस्थितिलाई विभिन्न कोणबाट प्रस्ट्याउने प्रयास गरे । उनका अनुसार राज्य अहिले भग्नावशेष र सुरुङभित्र फसेका नागरिकको खोजीमा खटिएको छ भने सर्वस्व गुमाएका पीडितका लागि आश्रय र सहारा बन्न निरन्तर प्रयासरत छ ।

त्यस्तै, बाढीले क्षति पुर्‍याएका सडक र पुल पुनःनिर्माणसँगै विपद्ले कमजोर बनाएको नागरिकको भरोसा पुनर्स्थापित गर्ने काममा पनि राज्य केन्द्रित रहेको उनले बताए । भविष्यमा यस्ता विपद् दोहोरिन नदिन पूर्वतयारी र सुरक्षित संरचना निर्माणमा समेत सरकार लागिरहेको उनको दाबी छ ।

लामिछानेले सीमित स्रोतसाधन र चुनौतीका बीच पनि राज्य नागरिकको जीवनरक्षाका लागि अग्रपंक्तिमा उभिएको उल्लेख गर्दै विपद्को घडीमा सामूहिक एकता र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर