
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ ।
भदौ १० गतेको बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा भएको हो ।
हाल कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ । त्यसमध्ये नौवटा वाणिज्य बैंकमा रहेको खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ जम्मा भएको छ ।
यस्तै, दुईवटा वाणिज्य बैंकमा अमेरिकी डलरमा समेत रकम मौज्दात रहेको छ । ती खातामा कुल २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको जनाइएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालनका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराइसकिएको छ ।
सरकारले बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतदेखि पुनर्स्थापनासम्मका कार्यमा स्रोत परिचालन गर्ने उद्देश्यले सहयोग संकलनलाई अघि बढाएको थियो । कोषमा जम्मा भएको रकम र त्यसबाट निकासा भएको स्रोतलाई विपद् प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा परिचालन गर्ने व्यवस्था गरिएको छ ।