
काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले जेन जेड आन्दोलनपछिको परिस्थितिमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको विषय पार्टीको आगामी केन्द्रीय समिति बैठकमा छलफलका लागि प्रस्तुत हुने बताएका छन् ।
गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकमा संसद् पुनर्स्थापनासहित समसामयिक राजनीतिक विषयमा पार्टीभित्र बहस हुने बताएका हुन् ।
उनका अनुसार विगतका राजनीतिक परिवर्तनका क्रममा समेत संसद् पुनर्स्थापनाको प्रक्रियालाई राजनीतिक निकासका रूपमा स्वीकार गरिएको थियो । प्रतिगमन सच्याउने उद्देश्यले अघिल्लो संसद् पुनर्स्थापनालाई पनि सम्भावित राजनीतिक कदमका रूपमा पार्टीभित्र छलफल गर्न सकिने उनको भनाइ थियो ।
बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै यसलाई पार्टीभित्र बहसको विषय बनाउन कुनै कारणले रोक्न नहुने धारणा राखे ।
उनले वर्तमान बालेन सरकार लामो समयसम्म कायम रहे मुलुकले थप क्षति व्यहोर्नुपर्ने दाबीसमेत गरे । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएपछि सरकार प्रमुखले पदबाट राजीनामा दिनुपर्ने उनको सुझाव थियो ।
राजीनामा नदिइए जनआक्रोश थप बढ्न सक्ने चेतावनी दिँदै बस्नेतले भदौ २३ र २४ गतेजस्तै आन्दोलनको परिस्थिति दोहोरिन सक्ने दाबी गरे । त्यस्तो आन्दोलनको एजेन्डामा संसद् पुनर्स्थापनालगायतका राजनीतिक विषयसमेत समावेश हुन सक्ने उनको भनाइ थियो ।
यसैबीच, बस्नेतले एमालेभित्र पुनर्गठनको नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रयास सफल नहुने जिकिर गरे । आगामी केन्द्रीय समिति बैठकपछि ओलीकै नेतृत्वमा पार्टी थप एकताबद्ध भएर अघि बढ्ने उनको दाबी थियो ।