
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला संघले राहतका लागि प्राथमिकता दिएको छ । संघले आश्रयस्थलमै पुगेर उनीहरूलाई अत्यावश्यक सामग्री वितरण गर्ने अभियान सञ्चालन गरेको छ ।
उनीहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्न महिला संघले नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न सेल्टरमै पुगेर राहत सामग्री वितरण गरेको हो ।
प्राकृतिक विपत्तिमा परेका विशेषगरी महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानको संरक्षणलाई मुख्य ध्यान दिएको महिला संघकी अध्यक्ष मीनाकुमारी खरेलले जानकारी दिएकी छिन् ।
बाढीका कारण रसुवाबाट विस्थापित भएर काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा अस्थायी आश्रयस्थल बनाएर बसेका करिब २०० जना महिला तथा बालबालिकालाई संघले राहत सामग्री उपलब्ध गराएको छ ।
अध्यक्ष खरेल र राहत संकलन तथा वितरण संयोजक सोना परियारको नेतृत्वमा भएको कार्यक्रममा रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा तथा पूर्व सांसद सपना राजभण्डारीलगायतले पनि राहत सामग्री वितरण गरेका थिए ।
उनीहरूलाई चिसोबाट जोगिन भित्री न्यानो कपडा, हावा छेक्ने बाहिरी पोसाक, लत्ताकपडाका साथै व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामान, महिनावारी स्वच्छता सामग्री (स्यानिटरी प्याड), मञ्जन, ब्रस र शौचालय सरसफाइका सामग्रीहरू एकमुष्ट रूपमा वितरण गरिएको महिला संघकी केन्द्रीय सदस्य शोभादेवी भण्डारीले जानकारी दिइन् ।
महिला संघको केन्द्रीय टोली यसअघि बाढी र पहिरोले बढी क्षति पु¥याएका नुवाकोट र धादिङका बस्तीहरूमा पुगेको थियो । अध्यक्ष मीनाकुमारी खरेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आफैँ कार्यक्षेत्रमा पुगेर पीडित परिवारहरूलाई ती सामग्री वितरण गरिसकिएको केन्द्रीय सदस्य भण्डारीले बताइन् ।
विपद्को कठिन परिस्थितिमा स्थानीय प्रशासन र अन्य संयन्त्रको पहुँच पुग्न ढिलाइ भइरहेका स्थानमा पुगेर महिला संघले दिएको सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको पीडित महिलाहरूले बताएका छन् ।
महिला अधिकार र सशक्तीकरणसँगै मानवीय सेवाको अग्रपङ्क्तिमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै महिला संघले आगामी दिनमा पनि विपद्पीडित नागरिकको आँसु पुछ्ने र उनीहरूको पुनस्र्थापनामा हातेमालो गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।