२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

जेनजी आन्दोलनको एक वर्ष पूरा : गौर प्रादेशिक अस्पतालमा बिरामीका कुरुवालाई फलफूल र नगद सहयोग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ २३ गते १४:५९
Shares
जेनजी आन्दोलनको एक वर्ष पूरा : गौर प्रादेशिक अस्पतालमा बिरामीका कुरुवालाई फलफूल र नगद सहयोग

रौतहट : जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा रौतहटको जिल्ला सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा बिरामीका कुरुवाहरूलाई फलफूल वितरण तथा अतिविपन्न ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । युवाहरूमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने र समाजमा रचनात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मंगलबार अस्पताल परिसरमा उक्त मानवीय सेवामूलक कार्यक्रम सम्पन्न भएको हो ।

ncell

जिल्ला सदरमुकाम गौरका युवा व्यवसायी तथा समाजसेवी सन्तोष पौडेलको विशेष व्यक्तिगत सहयोग एवं व्यवस्थापनमा आयोजित कार्यक्रममा प्रादेशिक अस्पताल गौरमा भर्ना भई उपचाररत ५० जना बिरामीका कुरुवाहरूलाई ताजा फलफूल हस्तान्तरण गरिएको थियो । अस्पतालको कुरुवा कक्ष तथा शय्या (बेड) सम्म पुगेर वितरण गरिएको फलफूलले बिरामी तथा तिनका आफन्तलाई ठूलो मानसिक राहत पुर्‍याएको सहभागीहरूले बताएका छन् ।

सोही कार्यक्रमका क्रममा सामाजिक उत्तरदायित्व वहन गर्दै समाजसेवी पौडेलले आर्थिक रूपमा अत्यन्त कमजोर दुई जना विपन्न ज्येष्ठ नागरिक आमाहरूलाई नगद सहयोगसमेत प्रदान गरेका छन् । पौडेलले ८० वर्षीया अतिविपन्न ज्येष्ठ नागरिक आमालाई जीविकोपार्जन तथा औषधि उपचारमा सहज होस् भन्ने उद्देश्यले नगद रु. ५ हजार र अर्की एक असहाय आमालाई नगद रु. २ हजार प्रदान गरेका हुन् ।

अस्पतालको नीरस र संवेदनशील वातावरणका बीच राहतस्वरूप फलफूल तथा नगद आर्थिक सहयोग पाएपछि बिरामीका कुरुवा एवं आफन्तहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले समस्याको घडीमा मलम लगाउने कार्य गरेको भन्दै सहयोगदाता सन्तोष पौडेल तथा आयोजक टोलीलाई भावुक हुँदै हार्दिक धन्यवाद ज्ञापन गरे ।

आन्दोलन वा कुनै पनि विशेष ऐतिहासिक दिवसलाई केवल औपचारिकता वा नाराबाजीमा सीमित नराखी सेवामूलक कार्यमार्फत मनाउनुपर्छ भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन् । समाजमा सकारात्मक सोचको विकास गर्न र नयाँ पुस्ताका युवाहरूलाई सामाजिक रूपान्तरण एवं सेवाभावमा प्रेरित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

uae

ताजा खबर

सम्बन्धित खबर