२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

विपद्‍मा देश, आफ्नै चिन्तामा कांग्रेस

Nada
जीवन शर्मा
२०८३ भदौ २१ गते ०६:२०
Shares
विपद्‍मा देश, आफ्नै चिन्तामा कांग्रेस

काठमाडौं : भदौ १० गते भोटेकोशी बाढीसँगै राष्ट्रिय राजनीतिका मुख्य दलहरू विपद् सामनाको तयारीमा कसरी जुट्ने भन्ने छलफलमा केन्द्रित भए । राज्यका निकायहरू आफ्नो स्रोत साधन परिचालन गरेर खोज उद्दार र राहतमा लागेका छन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलोएको सर्वदलीय बैठकमा सबैजसो राजनीतिक दलहरू सहभागी भए । विपद्मा सरकारसँगै रहेको सन्देश दिए । 

ncell

प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस पनि सोही अभियानमै छ । तर, कांग्रेसकै एउटा समूह भने बाहिर बसेर कार्यकर्ताको साथ खोजिरहेको छ ।  

पार्टीको विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरेसँगै देउवा समुह निर्वाचन आयोग र अदालतमा गएको थियो । दुबै निकायबाट विशेष महाधिवेशनलाई नै आधिकारीकता दिएपछि देउवा पक्षका नेताहरूले पनि विशेष महाधिवेशनबाट आएका सभापति गगन थापालाई नेतृत्व स्वीका गरे । सो समुहका अधिकांश नेताहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापाकै हस्ताक्षरको टिकट लिइ चुनाव लडे ।

रास्वपाको पक्षमा स्वस्फूर्त बनेको चुनावी माहोलले कांग्रेसका सभापति थापासहित अधिकांश पुराना नेताहरू पराजित भए । चुनावी परिणाम पछि समेत केही समय मत्थर भएको देउवा समुले अहिले फेरी जुर्मुराएको छ । उपचारका क्रममा सिंगापुर रहेका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि सो समुहले समानान्तर गतिविधिलाई थप शसक्त बनाएको छ । देश बाढीको पिडामा भएकोबेला देउवापक्ष आफ्नो पिडाभित्र रूमल्लीएर आफ्नो समुहका नेता कार्यकर्तालाई एकढिक्का बनाउने अभियानमा जुटेको हो । 

यसले कांग्रेसभित्र आन्तरिक कलह थप चुलिदै गएको छ । पार्टीको संस्थापन पक्षले आगामी असोजको तेस्रो हप्ताका लागि १५ औं महाधिवेशनको कार्यातालिका ल्याएर आवश्यक तयारीमा जुटेको छ । असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका ल्याएको संस्थापन पक्षले पार्टीका सबै नेताहरूलाई एकतावद्ध बनाएर महाधिवेशनमा लैजाने दाबी गर्दै आएको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलले  समयमै महाधिवेशन हुने र १५औं महाधिवेशनमा सबै नेताहरू समेटेर लाने पार्टी नेतृत्वको निरन्तर प्रयास भइरहेको बताए ।

उनले भने, ‘कांग्रेसको बैधानिकता मंसिर भित्रै सकिन्छ, त्यसअनुसार हामीले असोजमा महाधिवेशनको मिती घोषणा गरेर तयारीमा लागेका छौं । अहिलेको नेतृत्वले सबै नेताहरू समेटेरै महाधिवेशनमा जान विभिन्न कोणबाट छलफल जारी राखेको छ ।’ तर विधि र विधान भित्र रहेर पार्टी सञ्चालन गर्नुपर्ने दायित्व रहेकाले सबै साथिहरूले पार्टीको विधिविधानको मर्मलाई बुझ्नुपर्ने उनको भनाई छ । 

कार्यतालिका अनुसार नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र, गाउँ–नगर अधिवेशन भदौ २७ गते पालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति तोकिएको छ । यस्तै असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन तय गरिएको छ । यस्तै, असोज ७ गते जिल्ला अधिवेशन, असोज १९ गते प्रदेश अधिवेशन र असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशनको कार्यतालिका तोकेको छ ।  

भदौ १० मा भोटेकोशीमा गएको विनासकारी बाढीको प्रभावले वडा, पालिका र जिल्लाको अधिवेशन तालिका प्रभावित हुनसक्ने कांग्रेसका नेताहरूले बताएका छन् । तर पार्टीको महाधिवेश तोकिएकै समयमा हुनेमा उनिहरू ढुक्क छन् । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले सबै तहको अधिवेशन र महाधिवेशनका लागि तयारी पूरा भइसकेको बताए । ‘पार्टीले थप निर्णयन नगरी अधिवेशनका लागि अघि बढ्न भन्ने वित्तिकै अधिवेशन हुन्छ, हामी पूर्णरूपमा तयारी भइसकेका छौं ।’  

देउवा समुहले आफ्नो शक्ति बढाउन सबै तहका नेता कार्यकर्तालाई परिचालन गर्न खोजेपनि पार्टीको मुल झण्डामुनी रहने भन्दै अधिकांशले सदस्यता अध्यावधिक र नवीकरण गरिसकेका छन् । देउवा समुहले सदस्याता अध्यावधिक नगर्न भनेको थियो । सो समुहका नेताहरू र केही कार्यकर्ताबाहेक करिव ७ लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक गरेको कांग्रेसले जनाएको छ । विशेष महाधिवेशनका सन्दर्भमा अदालतको निर्णय चित्त नबुझेको भन्दै देउवा समुहले पुनःपरीक्षणका लागि सर्वोच्च अदालतबाट निस्सा ल्याएको छ ।

सोही निस्सालाई देखाएर संस्थापन पक्षले तय गरेको महाधिवेशनका कार्यक्रम रोक्न माग गर्दै नेताहरू अदालत गएका थिए । सर्वोच्चले महाधिवेशनका कार्यक्रम रोक्न स्टेअर्डर नदिएपछि विलख बन्धनमा परेका छन् । यसलाई राजनीतिक मुद्धाकारूपमा लिएर देउवा पक्षले छुट्टै महाधिवेशनको तालिका ल्याएको दाबी गरेको छ । बुधबार सम्पर्क कार्यालय चुनदेवीमा बसेको इतर पक्षको बैठकले १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको हो । 

पूर्व महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको दोस्रो बैठकले विभिन्न तहका अधिवेशनसहित केन्द्रीय महाधिवेशनको मिति तोकेको नेता  एनपी साउदले बताए । कार्यतालिका अनुसार मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने प्रस्ताव गरिएको छ । वडा अधिवेशन, असोज १५ गते, पालिका अधिवेशन, असोज २० गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन, असोज २३ गते गर्ने गर्ने कार्यतालिका ल्याएको छ ।  त्यस्तै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन, मंसिर ४ गते गर्ने इतर समुहलेको तयारी छ । 

चुनदेवी बैठकले महाधिवेशन तयारी समितिका संयोजक डा.शाशंक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी समेत प्रदान गरेको नेता साउदले बताए ।  

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासङ्घ लगायत भ्रातृ तथा शुभेच्छुक संघ/संस्थाहरूको तदर्थ समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ । 

जिल्ला/प्रतिनिधिसभा निर्वाचन क्षेत्र/प्रदेश सभा निर्वाचन क्षेत्र/पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्नका लागि सम्बन्धित प्रदेशको केन्द्रीय सदस्यहरूको सिफारिसमा ७७ वटै जिल्लामा सचिवालयले केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय गरेको नेता साउदले मध्यान्हलाई बताए । ‘संस्थापन पक्षले सहमति गर्न नचाहेपछि छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाइएको हो,’ नेता साउदले भने, ‘गगनजीहरूले घोषणा गरेको महाधिवेशन कार्यतालिका रोकेर सहमतिमा बिचको बाटो खोजौ भनेका थियौं । नमानेपछि हामी चुप लागेर बस्ने कुरा भएन । सबै नेताहरूको सल्लाहबजोजिम महाधिवेशनको कार्यतालिका ल्याएका हौँ ।’ 

ताजा खबर

सम्बन्धित खबर