
काठमाडौं : भोटेकोशी लगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ लाख २० हजार २४९ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकम हालसम्म सार्वजनिक रूपमा रकमसहित प्राप्त विवरणका आधारमा लघुवित्त वित्तीय संस्थाहरूमध्ये सबैभन्दा ठुलो सहयोग देखिएको छ।
नेरूडे मिर्मिरेले संस्थाका सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट गरिएको सामूहिक योगदानबाट उक्त रकम जुटाएको जनाएको छ । संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।
भोटेकोशी बाढीपछि विभिन्न लघुवित्त वित्तीय संस्थाहरूले राहतका लागि सहयोग घोषणा तथा प्रदान गरेका छन् । सार्वजनिक विवरणअनुसार इन्फिनिटी लघुवित्तले ७ लाख १७ हजार ३४८, आरएसडिसी लघुवित्तले ५ लाख, मातृभूमि लघुवित्तले ५ लाख र जनउत्थान सामुदायिक लघुवित्तले ४ लाख रुपैयाँ सहयोग गरेका छन् । जनउत्थानले आफ्ना कर्मचारीको एक दिन बराबरको तलब तथा भत्ता समेत सहयोग गर्ने निर्णय गरेको छ ।
यसरी सार्वजनिक रूपमा रकम खुलाइएका संस्थाहरूको तुलनामा नेरूडे मिर्मिरेको सहयोग रकम उल्लेखनीय रूपमा ठुलो देखिन्छ । २८ लाख २० हजारभन्दा बढीको यो योगदानले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता र विपद्को समयमा समुदायसँगै उभिने संस्थागत संस्कारलाई समेत प्रतिविम्बित गरेको छ ।
सहयोग रकम हस्तान्तरणका क्रममा अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँतहका नागरिकको घरदैलोसम्म पुगेर वित्तीय सेवा प्रदान गर्ने भएकाले विपद्को समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताएका थिए ।
प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले 'ग्राहक सदस्य पहिलो' भन्ने संस्थाको मूल भावनाअनुसार नेरूडे मिर्मिरे कर्जा तथा बचतको कारोबारमा मात्र सीमित नरही वित्तीय साक्षरता, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिमा समेत सक्रिय रहँदै आएको बताएका छन् ।
नेरूडे मिर्मिरेको यो सहयोगले विपद्को समयमा संस्थागत योगदानसँगै कर्मचारी तथा सञ्चालकहरूको सामूहिक सहभागिताबाट सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।
संस्थाले आगामी दिनमा पनि आफ्ना ग्राहक सदस्य, समुदाय र समग्र समाजको हितमा वित्तीय सेवासँगै सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।